चितवन विशेष

गैंडाकोटकी सुन्तलीको उपचारका लागि लायन्सको आर्थिक सहयोग

Banner

चितवन, भदौं ३–

ब्रेन ट्युमर रोगको सामना गरिरहेकी एक लायन सदस्यलाई चितवन र गैंडाकोटका लायन्स क्लवहरुले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् ।

चितवन र गैंडाकोटका ३१ वटा लायन्स क्लवहरुले शुक्रबार नवलपुरको गैंडाकोट निवासी सुन्तली महतोलाई सहयोग स्वरुप २ लाख ५४ हजार १७५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका गर्भनर लायन सिद्धार्थलाल चुकेले सो रकम बराबरको चेक चौधरीलाई हस्तान्तरण गरे ।
सो क्रममा बोल्दै उनले लायन्स सदस्यहरुमा परेको दुःखमा मलम लगाउनका लागि सानो सहयोग स्वरुप रकम सहयोग गरिएको बताए । ‘हामी दुःख सुखमा साथ दिने संस्था हौं, आफ्नै घरभित्रको सदस्यलाई दुःख पर्दा हेरेर बस्न सकेनौं, सबैको सहयोगमा संकलित रकम थोरै भएपनि घाउँमा मलम लगाउन यो सहयोग गरेका हौं’–गर्भनर चुकेले भने ।

हाल घरमै स्वास्थ्य लाभ गरिरहेकी सुन्तली लायन्स क्लव अफ मौलाकालिका लोटसकी सदस्य हुन् । करिव एक वर्षदेखि ब्रेन ट्युमर रोगसंग लडिरहेकी सुन्तलीले भारतमा दुई पटक शल्यक्रिया गराईसकेकी छन् । आउँदो असोजमा पुनः उपचारका लागि उनी भारत जाँदै छिन् । उपचारमा आर्थिक अभाव रहेको जानकारी पाएपछि लायन्स क्लवहरुले स्वतःस्फूर्त रुपमा सहयोग संकलन थालेका थिए । उनको उपचारमा हालसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ । अहिले आर्थिक अभाव भएकाले चौधरी परिवारलाई सहयोगको खाँचो रहेको छ ।

सुन्तली विभिन्न सामाजिक कार्यहरुमा निरन्तर सक्रिय रहँदै आएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी एक वर्षदेखि हिँडडुल गर्न सकिरहेकी छैनन् । केही समय बोल्न समेत नसकेकी सुन्तली अहिले विस्तारै बोल्न सक्ने अवस्थामा छिन् । तर अझै उपचारमा जुट्नुपर्ने चिकित्सकहरुले बताएको उनको परिवारले जनाएको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक्ट चिफ गोपाल प्रसाद गौतमले सुन्तलीको स्वास्थ्य अवस्था र सहयोग संकलन बारे जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>