चितवन विशेष
चितवन काँग्रेसको नेतृत्वले असन्तुष्ट र भुइँ कटहर समूहको माग सम्बोधन गर्नुपर्छः नेता उत्तम जोशी

चितवन,साउन २७-
चितवनमा नेपाली काँग्रेसको सदस्यता परित्याग गर्ने कार्यकर्ता बढेको भन्दै निवर्तमान जिल्ला सचिव उत्तम जोशीले चिन्ता व्यक्त गरेका छन । पत्रकारहरुसंग कुराकानी गर्दै जोशीले कार्यकर्ताका माग सम्बोधन गर्न पार्टीको जिल्ला नेतृत्व गम्भिर हुनुपर्ने बताए । पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्ताले सदस्यता परित्याग गर्दा पार्टीलाई नै संकट पर्न सक्ने उनको भनाई छ ।
बिभिन्न स्थानीय तहमा लामो समय नेतृत्व गरेका, पार्टी र भातृ संस्थामा काम गरिसकेका व्यक्तिहरुले पार्टी छाड्नु दुखद छ, सचिव जोशीले भने – यसबारेमा गंभिर बन्न पार्टीको नेतृत्वसंग माग गर्दछु । पार्टी नेतृत्वप्रति अहिलेकै गतिमा असन्तुष्टि बढ्दै गए पार्टीप्रति नै बितृष्णा जाग्न सक्ने हुँदा सकभर पार्टीभित्रै बसेर आन्तरिक संघर्ष गर्न कार्यकर्तालाई निवर्तमान सचिव जोशीको सुझाब छ । केही दिनअघि मात्रै खैरहनी नगरपालिकामा कार्यकर्ताले सामूहिक राजिनामा दिएका थिए ।
भुइँ कटहर समूहलाई पनि सम्बोधन गरौं
निवर्तमान सचिव जोशीले गत स्थानीय तहको निर्वाचनका बेला बिद्रोह गरेकाहरुलाई पनि पार्टीमा फिर्ता बोलाउन समेत आह्वान गरेका छन । बिशेष परिस्थितमा उत्पन्न भएका घट्नाक्रमलाई सँधै उही नजरले हेर्दा पार्टीलाई घाटा पुग्ने उनले औँल्याएका छन । चुनाबका बेला कारवाही गरिएका र सोही कारण पार्टीबाट टाढिएकाहरुलाई संघ र प्रदेशको चुनाब अघि मूल धारमा फर्काउने पहलकदमी लिन जिल्ला नेतृत्वको जोशीले ध्यानाकर्षण गराएका छन । गत स्थानीय तह निर्वाचनमा माओबादीलाई भरतपुरको मेयर छाडेपछि काँग्रेसका नेताहरुले बिद्रोह गरेका थिए ।


























