Breaking News

भरतपुर विमानस्थल विस्तारको काम मेरै पालामा पूरा हुन्छः पर्यटन मन्त्री श्रेष्ठ

Banner

चितवन, साउन ४–

संकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नती आफ्नै कार्यकालमा पूरा हुने बताएका छन् ।

आज भरतपुर महानगरपालिकाले गरेको विमानस्थल विस्तार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अब कुनै बहानामा पनि विस्तारको काम नरोकिने भन्दै आफूले गोल गरेरै छाड्ने बताए । ‘म खेलाडी पनि हुँ, अब भरतपुर विमानस्थल विस्तारको सबै काम पुरा गर्ने गरि गोल गर्ने काम मेरै काधमा आएको छ, म गोल गरेरै छाड्छु’–मन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले २०७५ सालपछि गठन भएको मन्त्रीमण्डलमा आफू ७ औँ पर्यटनी मन्त्री भएको भन्दै आफूले लक्की ७ को रुपमा लिएर तोकिएको काम पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । पर्यटनमन्त्री श्रेष्ठले विमानस्थल विस्तारबारे मन्त्रालयले उच्च प्राथामिकतामा राखेकाले यसका लागि बजेट विनियोजन गरी कामलाई अगाडि बढाउने उनको भनाई छ । भरतपुर महानगरपालिका देशको मध्य भागमा भएकाले पनि कम्तीमा पनि १२ देखि १६ घण्टासम्म ७२ सिट क्षमताको ठूलो जहाज ल्याण्ड गराउन मिल्ने गरी विमानस्थल विस्तारको आवश्यकता औल्याए । ‘महानगरले भरतपुर भ्रमण वर्ष २०८० घोषणा गरी सकेको छ’ उनले भने–‘यसका लागि पनि विमानस्थल रात्रीकालिन उडान पनि गर्नु पर्यो । विमानस्थल विस्तारको काम अगाडि बढाउन कुनै बाधा पनि छैन । चितवनबासी यसमा एकजुट हुनु भएकै छ । विस्तारको काममा नेपाली सेनाको पनि पूर्ण साथ छ । कामले अब सार्थकता पाउँछ ।’

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थल चितवन जिल्लाका लागि मात्र होईन, अन्य छिमेकी जिल्लाका बासिन्दाको लागि पनि आवश्यक रहेको बताउनुभयो । मेयर दाहालले भरतपुर विमानस्थलको विस्तार गर्ने काममा पर्यटनमन्त्री श्रेष्ठलाई गोल हान्न आग्रह गर्नुभयो ।
विमानस्थल विस्तार गर्न मापदण्डविपरितका संरचनालाई हटाउन महानगरपालिका तयार रहेको बताउँदै मेयर दाहालले चौविसकोठीबाट पश्चिम जाने बाटो विमानस्थलको तल्लोभाग, अण्डरग्राउण्ड वा नहर हुँदै लान सकिने विचार व्यक्त गरे ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भरतपुर विमानस्थलको विस्तारमा ढिलाई नहुने स्पष्ट पारे । भरतपुर विमानस्थलको दक्षिणतर्फ घरहरु मापदण्ड विपरित निर्माण भएपछि विमान अवतरणमा जोखिम हुँदै आएको छ । देशका धेरै जसो विमानस्थलमा रात्रीकालिन उडान हुँदै आएपनि भरतपुरमा भने धावनमार्गको लम्बाई अपुग भएकाले उडान गर्न सकिएको छैन । अहिले भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई १२ सय मिटर छ । यसलाई थप १ हजार मिटर बढाएर ७२ सिटे विमान र रात्रीकालिन उडान भर्न सकिन्छ । यसका लागि उत्तरतर्फको नेपाली सेनाको घोडा प्रजजन केन्द्र रहेको करिब ३ विगाह जग्गा समेटेर धावन मार्ग बढाएर विमानस्थलको स्तरउन्नती गर्ने गरी महानगरपालिकाले पहल गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>