Breaking News

नागरिकलाई सास्ती दिँदै विद्युत प्राधिकरण भरतपुर, कुटपिटमा संलग्नलाई छाड्न माग गर्दै सेवा ठप्प पारे

Banner

चितवन, साउन ३–

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले नागरिकलाई सास्ती दिने काम गरेको छ । पत्रकार कुटपिटको घटनामा संलग्न रहेकाहरुलाई चितवन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छाड्न दवाव दिन प्राधिकरणका कर्मचारीहरुले आज सेवा ठप्प पारेका छन् ।

उनीहरुले सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिई नाराबाजीमा उत्रिएका छन् । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार कर्मचारीलाई छोड्न दवाब दिने उद्देश्यले कर्मचारीहरुले पेन डाउन गर्दै प्रदर्शनमा उत्रिएका हुन् । कर्मचारीहरुले पक्राउ परेकाहरुलाई नछोडे ब्ल्याक आउट गर्नेसम्मका धम्की दिएका थिए ।
नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यमाथि विद्युत प्राधिकरण कर्मचारीले कार्यालयको गेट बन्द गरेर कुटपिट गरेका थिए । कार्यालयको पर्खालबाट हामफालेर आचार्यले ज्यान जोगाएका हुन् ।

सोही घटनामा आचार्यले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंहसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराएका थिए । पक्राउ पूर्जी जारी भएपछि प्रमुख सिंह फरार भएका थिए । उनलाई गयराति प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहार गरेको आरोपमा भरतपुर केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका छन् ।

पौडेल शुक्रबार राति नै पक्राउ परेका थिए । अन्यलाई भोलिपल्ट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।
घटनापछि नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न पेसागत संगठनहरुले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>