Breaking News

पत्रकार महासंघलगायत सम्बद्ध संस्थाले भनेःविद्युतका प्रमुख अझै पक्राउ नपर्नु कतै मुद्दालाई प्रभावित पार्ने खेल त होइन ?

Banner

चितवन, साउन २–

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंह अझै पक्राउ नपरेपछि नेपाल पत्रकार महासंघ चितवनलगायत सम्बद्ध संघसंस्थाहरुले आशंका व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र मिडिया नेपाल चितवन शाखाले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै पक्राउ पूर्जी जारी भइसकेपनि विद्युतका प्रमुख पक्राउ नपर्नु प्रति शंका उब्जाएको बताएको छ । विज्ञप्तीमा भनिएको छ–‘सामान्य नागरिकले पनि पहुँच राख्ने सार्वजनिक निकायमा समाचार संकलन गर्न जाँदा मुद्दालाई प्रभावित पार्न अनेक लाञ्छाना समेत लगाउन खोजिएको छ, पीडितले कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध नाम नै किटेर जाहेरी दिँदा समेत कार्यालय प्रमुख अझै गिरफ्तार नहुनु कतै मुद्दालाई प्रभावित पार्ने खेल त होइन ? भन्ने हामीहरुको आशंका छ ।’

पत्रकार सम्बद्ध संस्थाहरुले कार्यालय प्रमुख सिंहलाई तत्काल पक्राउ गरि अनुसन्धानलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ । यस्तै सम्पूर्ण पत्रकारहरुको पेशागत सुरक्षा र भयरहित वातावरणमा काम गर्न पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न जोडदार माग समेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ–‘समाचार संकलनको क्रममा विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा जाँदा मदिराले मत्त कर्मचारीहरुले कार्यालय परिसर र गेटबाहिर पनि लखेटी लखेटी आक्रमण गर्नु हदैसम्मको अमानवीय र निन्दनीय कार्य हो भन्ने हाम्रो ठहर छ, कार्यालय प्रमुख राजीव सिंहको निर्देशनमा बदनीयतपूर्ण मनसाय राखी सांघातिक आक्रमण भएको प्रति पत्रकार महासंघ र हामी पत्रकार सम्बद्ध सबै संघसंस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यस्तै विज्ञप्तमा उल्लेख छ–‘आचार्य पत्रकार हुन् भन्ने चिन्ने व्यक्ति कार्यालय प्रमुख मात्र रहेकाले कुटपिटका लागि उनैले निर्देशन दिएको भन्नेमा दुइमत छैन । सार्वजनिक निकायमा दिउँसै मदिरासहित खाजा खाइरहेका कर्मचारीले आफूहरुको गलत कार्य सार्वजनिक हुने भयो भन्ने डरले बदनियत राखी पत्रकार आचार्य माथि कुटपिट गरेकोमा कुनै सन्देह छैन ।’

विज्ञप्तीमा महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष सुवास पण्डित, नेपाल प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टरका उपाध्यक्ष राजेन्द्र आचार्य, समाजवादी प्रेस संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिना र मिडिया नेपालकी अध्यक्ष समिक्षा पुरीले हस्ताक्षर गरेका छन् ।

नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक रहेका पत्रकार कृष्ण आचार्यमाथि शुक्रबार साँझ विद्युत प्राधिकरण भित्रै मदिराले मत्त कर्मचारीहरुले कुटपिट गरेका थिए । सोही घटनामा संलग्न रहेको भन्दै पत्रकार आचार्यले ८ जनाविरुद्ध किटानी जाहेरी दिएपछि विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंह फरार भएका छन् ।

आइतबार अपरान्ह ४ बजे नै जिल्ला प्रशासन कार्यालयले सिंहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तर आज (सोमबार) दिउँसोसम्म पनि प्रमुख सिंह पक्राउ नपरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीसहित पुगेको महासंघको टोलीसंग कुरागर्दै प्रमुख जिल्ला अधिकारी तामाङले विद्यतुका प्रमुख सिंह पक्राउ नपरेको जानकारी दिए । उनले भने–‘प्रमुखविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ, उहाँ पक्राउ पर्नु भएको छैन, हामी खोजीकार्य जारी राखेका छौं’–प्रजिअ तामाङले भने ।

पत्रकार आचार्यमाथि कुटपिटको घटनामा संलग्न रहेको भन्दै विद्युत प्राधिकरण भरतपुरका प्रमुख सिंहसहित आठ जना कर्मचारीविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ ।

शुक्रबार विद्युत प्राधिकरणको कार्यालयभित्रै कर्मचारीहरू मासु र मदिरा सेवन गरेर बसेका बेला रिपोर्टिङ गर्न पुगेका पत्रकार आचार्यमाथि कर्मचारीले कुटपिट र अभद्र व्यवहार गरेका थिए । अभद्र व्यवहार गरेको आरोपमा भरतपुर केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् ।

पौडेल शुक्रबार राति नै पक्राउ परेका थिए । अन्यलाई भोलिपल्ट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।
नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक आचार्यमाथि विद्युत प्राधिकरण कर्मचारीले कार्यालयको गेट बन्द गरेर कुटपिट गरेका थिए । कार्यालयको पर्खालबाट हामफालेर आचार्यले ज्यान जोगाएका हुन् । घटनापछि नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न पेसागत संगठनहरुले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । पत्रकार आचार्य प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ चितवनका सदस्य पनि हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>