चितवन विशेष

चितवनका चिकित्सक डा कृष्णप्रसाद पौडेलको ‘लय छुटेको समय’ पुस्तक सार्वजनिक

Banner

चितवन,साउन १-

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘लय छुटेको समय’ नामक पुस्तक सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय नेता डा शेखर कोइरालाले शनिबार यहाँ आयोजित सो पुस्तकको विमोचन गर्नुभयो । विसं २०५१ देखि २०५६ सम्म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डा कोइरालाले डा पौडेललाई पढाउनुभएको हो । पछिल्ला दिन राजनीतिमा सक्रिय रहनुभएका डा कोइरालाले चिकित्सा विषयमा ‘एमडी’ अध्ययन गर्नुभएको छ । उहाँ ‘फिजिसियन’ हुनुहुन्छ । डा पौडेल ‘अर्थोपेडिक सर्जन’ हुनुहुन्छ । चिकित्सा सेवासँगै डा पौडेल साहित्यमा रुचि राख्नुहुन्छ ।

पुस्तक विमोचन गर्दै कांग्रेसका नेता डा कोइरालाले डा पौडेलले समाज बुझेर पुस्तक लेखेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “उपचारमा व्यस्त हुने चिकित्सकले लेखे पनि पुस्तकको भाषा र प्रस्तुति रुचिकर र रसिलो छ । समाजको आवश्यकता बुझेर लेखेको पाएँ, उहाँ चिकित्सकमात्रै नभएर समाजशास्त्रमा स्नातकोत्तर गरेको व्यक्ति भएका कारणले यो सम्भव भएको हो ।”

लेखक डा पौडेलका अनुसार ‘लय छुटेको समय’ कोरोना महामारीका बेलामा लेखिएको पुस्तक हो । यसमा दुई खण्ड छन् । पहिलोमा उहाँले बिरामीसँग जोडिएका संस्मरण समेट्नुभएको छ । बिरामीको मनोविज्ञान र आफ्नो अनुभूतिको समिश्रण समेटिएको यो खण्ड रोचक पाइन्छ । बिरामीका समस्या, अप्ठ्यारा परिस्थिति तथा बाध्यतालाई उहाँले रोचक कहानीको स्वरुप दिनुभएको छ । डा पौडेलले भन्नुभयो, “म गुरुको हातबाट किताब सार्वजनिक होस् भन्ने चाहन्थेँ त्यो आज भयो ।”

पुस्तकमा कोरोनाकालमा लेखेका केही डायरीहरूका साथै बिरामी र चिकित्सकको सम्बन्ध र समस्याजस्ता विषय समेटिएको छ । निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरूसमेत रहेको डा पौडेलले बताउनुभयो । दुई खण्ड रहेको पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरू रहेको छ ।

पुस्तकमा लेखकको चिकित्सकीय र समाजशास्त्रीय दुवै खाले दृष्टिकोणहरू अटाएको छ । उहाँले बिरामी, रोग र उपचारसँग जोडिएर आउने निदानका उपायका साथै अनुभव र मनोभावना राख्नुभएको पुस्तकको समीक्षा गर्नुभएका एकनारायण पौडेलले जानकारी दिनुभयो । साङ्ग्रिला बुकले सो पुस्तक सार्वजानिक गरेको हो ।
‘खुसीहरूको वनवास’ कविता सङ्ग्रहबाट नेपाली साहित्यमा पाइला अघि बढाउनुभएका डा पौडेलको दुई वर्षअघि ‘कम्मरीदेखि कोभिड कहर’ पुस्तक बजारमा आएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>