एथलेटिक्स

भरतपुर मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा चन्द्रागिरी नगरपालिका पहिलो

Banner

चितवन,असार १४-

चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगित-२०७९ मा काठमाडौँको चन्द्रागिरी नगरपालिका पहिलो भएको छ । छ स्वर्ण, एक रजत तथा तीन कास्य सहित जम्मा १० पदकसहित चन्द्रागिरी नगरपालिका पहिलो भएको हो ।

त्यसैगरी, प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै २३ पदकसहित चितवनको भरतपुर महानगरपालिका तेस्रो भएको छ । भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना स्थान हासिल गरेको छ । माडीले दुई स्वर्ण, चार रजत तथा दुई कास्य गरी जम्मा आठ पदक प्राप्त गरेको थियो । प्रतियोगितामा टिम पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना हुने पालिकालाई ट्राफी प्रदान गरिएको थियो भने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा महिलातर्फ उत्कृष्ट खेलाडीको रुपमा पर्वतको पैयुँ गाउँपालिकाकी खेलाडी प्रतिका थापा तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीकोरुपमा काठमाडौँको चन्द्रागिरी नगरपालिकाका खेलाडी सुजल कार्की घोषित हुनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी र नगदसहित पुरस्कृत गरिएको श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सात वटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै ग्योरीकी (फाइट) र पुम्सेमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा पुरुषतर्फ ग्योरीकीमा ३५ केजीदेखि ७४ केजी तौल समूहसम्म तथा महिलातर्फ ३० केजीदेखि ६३ केजी तौल समूहसम्म प्रतिस्पर्धा भएको श्रेष्ठले बताउनुभयो । पुम्सेमा भने ब्ल्याकबेल्ट सेकेण्ड डनसम्मका खेलाडीहरुको प्रदर्शनी रहेको थियो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी जम्मा १८ वटा फाइट तथा पुम्सेमा जुनियर र सिनियर गरी चार वटा प्रतिस्पर्धा गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले मेयर कप प्रतियोगिताले खेलाडीहरु उत्पादन गर्न टेवा पुग्ने बताउनुभयो । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराउन सकेको अवस्थामा उनीहरुमा खेलप्रति उत्साह बढ्नुका साथै उनीहरु अनुशासित हुनेसमेत खनालको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>