Breaking News
तेलको मूल्य हामीले बढाएको हो र ? यो त अन्तर्राष्ट्रिय युद्धको प्रभावले होः अर्थमन्त्री

काठमाडौं,असार ६-
अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले गरेको नभइ अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्या र अन्तर्राष्ट्रिय स्तरमा भएका युद्धहरुको प्रभावका कारण भएको बताएका छन्। सोमबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।
मन्त्री शर्माले खाने तेलको मूल्य पनि अन्तर्राष्ट्रिय घटनाहरुको प्रभाव कारणले बढेको बताए। उनले नेपालमा तोरी आउने युक्रेन र रसियाबाट नै भएकाले कच्चा पदार्थ आयात बन्द भएकाले खाने तेलको मूल्य बढेको उल्लेख गरे।
‘तेलको मूल्य बढ्यो भन्ने छ। यो हामीले बढाएको हो र ? हामी त चिन्तित छौँ। डलर घटिरहेको छ। हाम्रो पैसा बाहिर गइरहेको छ। त्यसमा सबै डलर जाने हो। तेलको मूल्य १९९ पुगिसकेको छ। अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्या अन्तर्राष्ट्रिय स्तरमा आएका युद्धहरुको प्रभावका कारण मूल्य बढिरहेको छ। खाने तेलको मूल्यको कुरा पनि त्यही नै हो।’
नेपालको हिमालदेखि तराईसम्म तोरी फल्ने भएकाले तोरीको उत्पादन बढाएर तेलमा समेत आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। उनले साढे ३ खर्बभन्दा बढीको वार्षिक आयातलाई रोक्नका लागि पहिलो वर्षमा ३० प्रतिशत आयात रोक्ने सरकारको नीति रहेको बताए।


























