Breaking News
दुई हप्तासम्म पनि व्यवस्थापन गरिएन भरतपुरमा हावाहुरीले ढालेका रुख

पुजा ढकाल,
चितवन,जेठ २०-
चितवनको भरतपुरमा जेठ ६ गते आएको भीषण हावाहुरीले ठूलो धनजनको क्षति गर्यो । सयौं विद्युतका पोल र रुख हावाहुरीले ढालेर लाखौंको क्षति भयो । ठाँउठाउँमा पोल ढलेका कारण ६ दिनसम्म विद्युत सेवा समेत अवरुद्ध हुन पुग्यो । अहिले ढलेका अधिकांस पोलको व्यवस्थापन त भएको छ तर हावाहुरीले ढालेका रुखहरुको व्यवस्थापन भएको छैन । विभिन्न सरकारी निकाय,स्थानिय जनप्रतिनिधि र संघसंस्थाविच समन्वय नहुँदा ढलेका रुख व्यवस्थापनमा ढिलाई भएको हो । दुई हप्ता सम्म पनि ढलेका रुखको व्यवस्थापन नहुनुले सरोकारवाला निकायको उदाशिनता प्रष्टसंग देख्न सकिन्छ ।
भरतपुरको विरेन्द्र क्याम्पस गेट,जेष्ठ नागरिक चोक,जुनियर प्रहरी अधिकृत शिक्षालय (प्रहरी तालिम केन्द्र),नेपाल नेत्र ज्योती संघ नजिक लगायतका क्षेत्रमा ढलेका रुखको व्यवस्थापन हुन सकेको छैन । डिभिजन वन कार्यालय चितवनका सुचना अधिकारी बालकृष्ण खनालले वन क्षेत्रमा ढलेका र कार्यालयले व्यवस्थापन गर्ने सम्पूर्ण रुखहरु व्यवस्थापन गरिसकिएको दावी गर्नुभयो । उहाँले सरकारी कार्यालय र कुनै संघसंस्थाको नाममा रहेका जग्गाको क्षेत्रमा ढलेका रुखको अनुमति बिना व्यवस्थापन गर्न नमिल्ने भएकाले बाँकी रहेको जानकारी दिनुभयो ।
‘जेष्ठ नागरिक चोकमा संस्थाको नाममा भएको जग्गा भित्र रुख ढलेको छ,उहाँले भन्नुभयो’, सम्बन्धित निकायले खबर नगरेसम्म कार्यालयले ढलेको रुख हटाउन मिल्दैन् ।’ हाल डिभिजन वन कार्यालयले सहजिकरण गरेर सडकमा आवागमन नरोकिने गरि ढलेका रुख व्यवस्थापनको काम गरेको उहाँले बताउनुभयो । उहाँले क्षतिको लागत संकलन भइसकेको भन्दै ढलेका रुख हटाउने कार्यविधि २०७१ अनुसार काम भइरहेको जानकारी दिनुभयो । उहाँले रुख ढलेपछि सम्बन्धित क्षेत्रले वन कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ,विभागिय समिति मार्फत कार्यविधि पु¥याएर हामीले व्यवस्थापनको काम गर्छौ भन्नुभयो । उहाँले भरतपुर क्षेत्रका ४० बढि रुख ढलेको बताउनुभयो ।
भरतपुर १० का स्थानिय रमेश अधिकारीले दुई हप्तासम्म पनि ढलेका रुखको व्यवस्थापन हुन नसक्नु जनप्रतिनिधि र सरोकारवाला निकायको उदासिनता भएको बताउनुभयो । उहाँले सडकमा तेर्सिएर बसेका रुखले दुर्घटनाको जोखिम बढेको भन्दै जनप्रतिनिधि कानमा तेल हालेर बसेको आरोप लगाउनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले पनि रुख व्यवस्थापनका लागि सवै निकायलाई जानकारी गराएको बताएको छ ।


























