चितवन विशेष

भरतपुरको पाँच वर्षे समीक्षा पुस्तक विमोचन, भरतपुरबासीलाई दिए धन्यवाद

Banner

चितवन, वैशाख ९–

भरतपुर महानगरपालिकाले पाँच वर्षे समीक्षा पुस्तक विमोचन गरेको छ । शुक्रबार भरतपुरस्थित क्यान्सर सभाहलमा एक कार्यक्रमका आयोजना गर्दै जनप्रतिनिधिहरुको पाँच वर्षे समीक्षा पुस्तक, नयाँ वर्षको क्यालेन्डर विमोचन गर्दै भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको हो ।

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले पुस्तक र क्यालेन्डरको विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले पाँच वर्षे अवधिमा सबैको साथ र सहयोग पाएको भन्दै नगरबासीहरुलाई धन्यवाद ज्ञापन गरिन् । उनले भरतपुरमा विकासको मुल फुटेको भन्दै अधुरा कार्यहरुलाई पुरा गर्न पुनः मेयरमा उम्मेद्वार बन्न लागेको भन्दै नगरबासीहरुको सहयोगको अपेक्षा गरिन् । ‘पुनः मेयरको उम्मेद्वार बन्न राजीनामा दिँदैछु, यसैगरि तपाईहरुको साथ र सहयोगको अपेक्षा गर्दछु’–मेयर दाहालले भनिन् ।

दाहालले पाँच वर्ष अवधिमा विकास निर्माणका धेरै कामहरु अघि बढेको भन्दै जनताको जीवनस्तर उकास्ने काममा पनि महानगरले उल्लेखीय प्रगति गरेको बताइन् । उनले महानगरभित्रको सडक कालोपत्रे गर्नेदेखि सिटीहल निर्माण, ६ लेन सडक विस्तार, नारायणी तटबन्धनमा अरबौंको योजना ल्याउन सफल भएको बताइन् । उनले बोलीमा भन्दा पनि व्यवहारबाट जनताले काम देखिसकेको भन्दै गर्न सक्ने काम मात्रै बोलेको बताइन् । उनले सोही कार्यक्रममा बोल्दै राजीनामा दिने घोषणा गरेकी थिइन् ।

यस्तै सोही कार्यक्रममा बोल्दै उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुरको विकास जनताको आँखाको अगाडि छर्लङग भएको भन्दै धेरै व्याख्या गर्न नपर्ने बताइन् । उनले आफ्नो कार्यकालमा न्यायिक समितिले शतप्रतिशत उत्कृष्ट काम गरेको भन्दै ६ महानगरमध्येमै उत्कृष्ट बनेको बताइन् । उनले महानगरलाई यहाँसम्म ल्याईपुर्‍याउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरिन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, वडा अध्यक्ष तथा सदस्यहरु, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नं.१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मन्तव्य व्यक्त गर्नेहरुले भरतपुर महानगरपालिकाले गरेको विकासको प्रशंसा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>