Breaking News

चितवनमा गठबन्धनलाई सकसः एमालेले जितेका ५० प्रतिशत स्थान माग्यो एकीकृत समाजवादीले

कुन दलको दाबी कति ?

Banner

चितवन,बैशाख ५-

चितवनमा सत्तारुढ गठबन्धनका दलहरु बिच दैनिकजसो औपचारिक तथा अनौपचारिक बैठक बस्छ । गृहकार्य गर्नका लागि कार्यदल पनि बनाइएको छ । कार्यदलले दलहरुका मागलाई जिल्ला संयन्त्रमा पेश गरिसकको छ । तर, सहमति जुट्ने छाँट देखिँदैन । सत्तारुढ दलहरुले आ–आफ्नै अडान राख्दा उनीहरु सहमति जुट्न नसकेका हुन् ।

भरतपुर महानगरपालिका केन्द्रले टुंगाउने भएपनि अन्य पालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को अडानकै कारण सहमति हुन नसकेको हो । नेपाली कांग्रेसले भरतपुर महानगरपालिका सहित अघिल्लो स्थानीय तहमा गठबन्धन नभई जितेका ठाउँमा सोही पार्टीले पाउनुपर्ने, दोस्रो पोजिसन भएको स्थानमा मेयर र तेस्रो पोजिसन भएको पार्टीलाई उपमेयर दिनुपर्ने माग राखेको छ । कांग्रेसको यस्तो प्रस्तावले माडी नगरपालिका बाहेक सबै पालिकाको प्रमुख आफुलेको खोजेको बुझिन्छ । कांग्रेसले मेयर र उपमेयर नपाएको ठाउँमा अन्य पार्टीको उपस्थिति रहनेगरि वडाध्यक्ष र सदस्य दिने बताएको छ ।

नेकपा (माओवादी केन्द्र) चितवनले भरतपुर महानगरपालिका सहित तीन वटा पालिका प्रमुख आफुले पाउनुपर्ने अडान राखेको छ । सत्तारुढ गबन्धनका कार्यदलका एक सदस्यका अनुसार माओवादीले भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा प्रमुख पदको दावी गरेको छ । त्यस्तै अन्य पालिकामा उपमेयर पाउनुपर्ने बताएको ती कार्यदलका सदस्यले बताए । माओवादीले ४४ वटा वडाध्यक्ष माग गरेको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १५ वटा वडाध्यक्ष मागेको माओवादीले रत्ननगर नगरपालिकामा ६, कालिका नगरपालिकामा ५, खैरहनी नगरपालिकामा ५, राप्ती नगरपालिकामा ४, माडी नगरपालिकामा ६ र इच्छाकामना गाउँपालिकामा ३ वटा वडामा वडाध्यक्ष माग गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले यसअघि एमालेले जितेका ५० प्रतिशत स्थानमा आफ्नो दावी रहने जनाएको छ । चितवनमा रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा मेयरको दावी गरेको छ । त्यस्तै इच्छाकामना छाडेर सबैस्थानमा उपमेयर र जिल्ला समन्वय समितिको सभापतिको माग गरेको छ । ३९ वटा वडामा वडाध्यक्षको दावी गरेको छ । उसले भरतपुरमा ११, रत्ननगरमा ७, खैरहनीमा ७, राप्तीमा ५, कालिकामा २ माडीमा ४ र इच्छाकामनामा ३ वटा वडामा वडाध्यक्ष माग गरेको हो । यसलाई कांग्रेसका नेताहरुले अस्वभाविक माग रहेको भन्दै आएका छन् । ‘संगठन नै नभएको स्थानमा मेयर र उपमेयरको दावी गर्दै आएका छन्, कसरी मिलाउन सकिन्छ’, ती सदस्यले भने ।

जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले त्यति ठुलो आकांक्षा व्यक्त गरेका छैनन् । जनता समाजवादीले केही वडामा सदस्य बाहेक अरु पद मागेको छैन । त्यस्तै राष्ट्रिय जनमोर्चाले रत्ननगर नगरपालिकामा २, भरतपुरमा १ र कालिकामा १ वटा वडामा वडाध्यक्षको माग गरेको छ । तर, भागबण्डा मिल्न नसक्दा सत्तारुढ दलको बैठक बिना निष्कर्ष टुंगिने गरेको छ । आज पनि सत्तारुढ दलको बैठक बस्दै छ । कार्यदलमा नेपाली कांग्रेसबाट राजिव न्यौपाने र धु्रब पोख्रेल, नेकपा (माओवादी केन्द्र)बाट रामचन्द्र अधिकारी र यमबहादुर परियार, नेकपा (एकीकृत समाजवादी)बाट विष्णु महत्तो र केपी लामिछाने, जनता समाजवादी पार्टीबाट प्रेम भुजेल र मुस्ताफा अलि, राष्ट्रिय जनमोर्चाबाट बिष्णु ढुंगाना र अमरबहादुर क्षेत्री रहेका छन् । अहिलेसम्म तीन पटक माइनट उठाएर नै बैठक बसेको छ । अनौपचारिक रुपमा दैनिक रुपमा बैठक बस्ने गरेको माओवादी चितवनका सहइन्चार्ज यामबहादुर परियारले नारायणी अनलाइनलाई जानकारी दिए । बेलुकासम्म भागबण्डा मिलाउने गरि छलफल भइरहेको उनले बताए । सत्तारुढ दलको गठबन्धनले आज बेलुकासम्म अन्तिम नामावली पठाउन समेत जिल्लालाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>