खेलकुद
चितवनमा पहिलोपटक ‘अंकुरम यु–२० राष्ट्रिय रग्वी प्रतियोगिता’ हुँदै

चितवन, वैशाख २–
चितवनमा पहिलोपटक राष्ट्रिय रग्वी प्रतियोगिता हुने भएको छ ।
नेपाल रग्वी संघको आयोजना र चितवन रग्वी संघको व्यवस्थापनमा ‘अंकुरम अण्डर २० राष्ट्रिय रग्वी प्रतियोगिता’ हुन लागेको हो । एकदिने प्रतियोगिता वैशाख ३ गते विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म चल्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चितवन रग्वी संघका अध्यक्ष सुमन पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ भने खेलाडीहरु चितवन आइसकेका छन् । कृष्णपुर स्पोट्स मैदान भरतपुरमा हुने प्रतियोगितामा महिला र पुरुष गरि १० वटा क्लव तथा जिल्ला टिमहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक विनोद तामाङले जानकारी दिए ।
१८ वर्षसम्मका खेलाडीहरुको राष्ट्रिय टिम छनोट लक्षित यस प्रतियोगिता आयोजना गरिएको उनले बताए । आउँदो वर्ष नेपालमै हुने यु १८ एशियन ट्रफी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप यस प्रतियोगितालाई लिएको तामाङले बताए ।

























