Breaking News
एमालेबाट भरतपुरको मेयरमा विजय सुवेदी उम्मेदवार

चितवन,चैत २७-
नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेता विजय सुवेदीलाई बनाउने निर्णय गरेको छ। आइतबार पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सुवेदी बागमती प्रदेश सभाका सदस्य हुन्। उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।
भरतपुरको मेयरमा एमालेबाट पोलिटव्युरो सदस्य देविप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको पनि चर्चा थियो। ज्ञवालीले नै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए। सुवेदीलाई मेयरको उम्मेद्वार बनाउन पोलिटब्युरो सदस्य ज्ञवालीले प्रस्ताव र नेता पोखरेलले समर्थन गरेका थिए।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार थिए। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुँदा उनी झिनो मतान्तरले पराजित भएका थिए।
पोख्रेल प्रतिनिधि सभाका सांसद हुन्। उनी संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति पनि हुन्। उनले कार्यकर्ताले मेयरमा उठ्न दवाद दिए पनि आफ्नो स्थानीय तहमा फर्किर्ने इच्छा नरहेको बताउँदै आएका थिए।
मेयरको उम्मेद्वार घोषणा गरिएका सुवेदी वृहत चितवनको गुरूयोजना निर्माणका अगुवा हुन्। उनी चितवनमा विकासको भिजन भएका नेताका रूपमा परिचित छन्। उनी बागमती प्रदेशमा अष्ठलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएका थिए। उनले छोटो समयको मन्त्री हुँदा पनि उल्लेख्य काम गरेका थिए । सुवेदीले भरतपुर अस्पतालको अध्यक्ष हुँदा उल्लेख्य काम गरेका थिए ।
सुवेदी नेकपा विभाजन भएपछि नेकपा एमालेको बागमती प्रदेश सचिवालय सदस्य भएका थिए। उनी नेकपा एमाले चितवनको तीन पटक पार्टी अध्यक्ष भइसकेका छन् ।
महानगर कमिटिको बैठकले उपमेयरको उम्मेदवार भने तोकेको छैन। एमालेले भरतपुर महानगरमा राप्रपालगायतका दलहरुसँग तालमेल गर्ने तयारी गरेको छ। त्यसैका लागि अहिले उपमेयरको उम्मेदवार नतोकिएको स्रोतले बतायो।


























