Breaking News

भरतपुरका २९ वडाकै कांग्रेस सभापतिको एक स्वरः माओवादीलाई महानगरको मेयर दिए मान्दैनौं

Banner

चितवन, चैत २२–

स्थानीय तहको निर्वाचन आउँन करिव एक महिना मात्रै बाँकी छदा चितवनमा चुनावी सरगर्मी बढेको छ । विशेषगरि सत्तारुढ गठबन्धनले चुनावमा पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेपछि चितवन झनै चर्चामा छाएको छ । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले दावी नछाडेपछि भरतपुरको चुनावी सरगर्मी तातेको छ ।

यसपटक कांग्रेस कुनै पनि हालतमा भरतपुरको मेयर माओवादीलाई छाड्न तयार छैन । कांग्रेस जिल्ला समितिले भरतपुर महानगरपालिकाको मेयर लिएर मात्रै तालमेल गर्न सकिने निर्णय नै गरेको छ । अन्यथा गठबन्धनका अन्य उम्मेद्वारलाई नसघाउने निर्णयले पनि देशभर चर्चा पाएको छ ।

कांग्रेस चितवनले स्थानीय स्तरमा वृहत छलफलबाट आएको सुझावको आधारमा मेयर नछाड्ने निर्णय गरेको थियो । कांग्रेसको तल्लो तहमा कुनै पनि हालतमा माओवादीलाई नछाड्ने बलियो मत छ । भरतपुरका २९ वटै वडाका कांग्रेस सभापतिहरुको अडानले पनि त्यसलाई पुष्टि गर्छ ।

नेपाली कांग्रेस भरतपुर–१५ का वडा सभापति ज्योति कंडेल कुनै पनि हालत भरतपुरको मेयर छोड्न नहुने अडान राख्छन् । ‘भरतपुरमा कांग्रेस सधै बलियो हो, पहिले माओवादीलाई छोड्यौं, यसपटक कांग्रेसलाई छोड्न प¥यो’–सभापति कंडेलले भने ।

भरतपुरमा सबैभन्दा धेरै क्रियाशिला सदस्य वडा नं.१५ मा नै रहेको छ । उनले स्थानीय कार्यकर्ता र मतदाताको चाहना कांग्रेसकै मेयरमा उम्मेद्वार होस् भन्ने रहेकाले सोही अनुसार पार्टीले निर्णय गर्नुपर्ने बताए । ‘यसपटक कांग्रेसले रुख बाहेक भोट हाल्दैनन्, जबरजस्ती गरिए निर्णय राम्रो आउदैन ।’–कंडेलले भने ।

भरतपुर १४ का वडा सभापति राजेन्द्र साँखी यसपटक भरतपुरको मेयरमा अरु पार्टीका उम्मेद्वारलाई भोट हाल्न नसकिने स्पष्ट पारे । ‘यसपटक भरतपुरको मेयर नपाए हामी भोट हाल्दैनौं, पार्टीले तानाशाही लाद्यो भन्दैमा सबै निर्णय मान्नुपर्छ भन्ने छैन’–साँखीले भने । उनले सबै वडा सभापतिहरु गठबन्धन बिरोधी नभए पनि भरतपुरको मेयर लिएर मात्रै गठबन्धन गर्न सकिने स्पष्ट पारे । ‘हामी गठबन्धन बिरोधी होइनौं, तर सैद्धान्तिक रुपमा गठबन्धन गर्दै गर्दा आलोपालो हुनुपर्छ, सधै पटक–पटक एकै ठाउँका कांग्रेसले छोड्नुपर्छ भन्ने छैन’–उनले भने । उनले २०७४ को स्थानीय तहमा पनि माओवादीलाई सहयोग गरिएकोले यसपटक माओवादीले कांग्रेसलाई सहयोग गर्नुपर्ने बताए ।

‘राष्ट्रिय गठबन्धनको नाममा पटक–पटक एउटै पार्टी र एउटै व्यक्तिलाई छोड्न सकिदैन, यसले अन्य संगठनको धरातल कमजोर हुन्छ, यसपटक हामी कुनै पनि हालतमा छोड्नेवाला छैनौं’–भरतपुर–७ का वडा सभापति विनोद ढकालले भने । उनले यसपटक भरतपुर बाहेक महानगर माओवादीलाई दिन सुझाव दिए ।

भरतपुरका सबै वडा सभापतिहरुले यसपटक भरतपुरको मेयर नछाड्ने भन्दै हस्ताक्षर नै गरेका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले सबै वडा सभापतिले एक स्वरमा यसपटक भरतपुरको मेयर छोड्न नहुने अडान राखेको बताए । ‘सबै सभापतिहरु एकजुट हुनुहुन्छ, हामी सोही अनुसार भरतपुरको मेयर नछोड्ने निर्णय जिल्ला समितिले गरेको छ’–सभापति खनालले भने ।

भरतपुर महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र)ले दावी गर्दै आइरहेको छ । केहीदिन पहिले चितवन आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा माओवादीको दावी रहेको जिकिर गरेका थिए । तर कांग्रेस चितवनले यसपटक भरतपुर महानगरको मेयर नै बटमलाइन भन्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>