चितवन विशेष

रत्ननगरमा होमस्टेसहितको सांस्कृतिक ग्राम उद्घाटन

Banner

चितवन, चैत २१-

रत्ननगर नगरपालिकाले वडा नं ९ मा निर्माण गरेको होम स्टे सहितको सांस्कृतिक ग्राम आज उद्घाटन गरिएको छ ।

रत्ननगरको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि नगरपालिका र टिकौली मध्यवर्ती सामुदायिक वनको सयुक्त लगानीमा सांस्कृतिक ग्राम निर्माण गरिएको हो ।

मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्तरुपमा संस्कृतिक ग्रामको उद्घाटन गरेका हुन् । सो नगरपालिकाले सांस्कृतिक ग्रामको उद्घाटनसँगै सञ्चालनको लागि सामुदायिक वनलाई हस्तान्तरण गरेको छ । सञ्चालनको लागि मेयर नारायण वन र वनका अध्यक्ष ईश्वरीप्रसाद लामिछानेले सम्झौतापत्रका हस्ताक्षर समेत गरेका छन् ।

सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गामा नगरपालिकाको एक करोड ६१ लाख र सामुदायिक वनको १४ लाख ५० हजारको लगानीमा विभिन्न जातजातीका सात वटा घर निर्माण गरेको छ । होम स्टेका लागि चेपाङ, थारु, दराई, कुमाल, मुसहर, गुरुङ र तामाङको परम्परागत घर निर्माण गरिएको छ । होम स्टेमा १२ वटा कोठा रहेको र ३७ जना पर्यटकलाई रात बस्न मिल्ने क्षमता रहेको छ । भान्सा कोठा, डाइनिङ हल, सभाहलसमेत रहेको छ । पर्यटन प्रर्वद्धन गरी स्थानीय समुदायको आयआर्जनको लागि होम स्टेसहितको सांस्कृतिक ग्राम निर्माण गरिएको मेयर नारायण वनले बताए ।

स्थानीय आदिबासी जनजातिको पहिचान झल्किने, बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय विविधतायुक्त समाजको प्रतिनिधित्व हुने गरी होम स्टेसहितको ईको पार्क निर्माण गरिएको हो ।

सौराहामा आएका पर्यटकलाई होम स्टेमा सेवा प्रदान गरी रत्ननगरलाई पर्यटन प्रवद्र्धनका हिसाबले अब्बल बनाउने उद्देश्य रहेको मेयर वनले बताए । सौराहालाई सिरानी हालेर रत्ननगरका अन्य ठाउँमा पर्यटन गतिविधि बढाउने योजना रहेको उनले बताए ।

सौराहामा आएका पर्यटकलाई सांस्कृतिक ग्राम, मणिखोला पार्क, धर्मधाम जिरौनासम्म लैजाने र पर्यटकको बसाइ लम्ब्याउने दीर्घकालीन योजना अनुुुुसार पर्यटकीय पार्क निर्माण गरिएको उनको भनाइ छ । संस्कृतिक ग्रामबाट भएको आम्दानीको ४० प्रतिशत होम स्टेको स्तरोन्नती गर्ने, ४० प्रतिशत सामुदायिक वनको विकास र २० प्रतिशत स्थानीय समुदायको आयआर्जनमा खर्च गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । कार्यक्रममा वनका अध्यक्ष लामिछानेले निकुञ्ज भित्रको चाप कम गर्न स्थानीय सरकारसँगको सहकार्यमा पार्क निर्माण गरिएको बताए । निकुञ्ज आफैमा ठूलो पार्क हो उनले भने पर्यटकीय गतिविधिले निकुञ्जमा चाँप बढी छ, त्यसलाई घटाउन होम स्टे सहितको ईको पार्क निर्माण गरिएको हो ।

कार्यक्रममा उपमेयर विमला दुवाडीले पर्यटन मार्फत स्थानीय समुदायको जीविको पार्जनलाई सहज बनाउन होम स्टे सञ्चालनमा ल्याएको बताइन् । परम्परागत संस्कृतिको प्रर्दशन तथा स्थानीय उत्पादनको खपतका हिसाबले सांकृतिक ग्रामको उपयोग गर्नुपर्ने उनको विचार छ । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, वडा नं ९ का वडाध्यक्ष रोशन आचार्य, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, रेवान सौराहाका उपाध्यक्ष कपिल रेग्मीलगायतको सहभागिता रहेको थियो । सोही क्षेत्रमा ईको पार्क निर्माणको लागि प्रदेश सरकारले एक करोड ४० लाख रुपैया लगानी गरेको छ । नगरपालिका, सामुदायिक वन र प्रदेश सरकारको संयुक्त लगानीमा होम स्टे सहितको ईको पार्क निर्माण भइरहेको नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>