Breaking News

चितवनको माडीमा एमाले भर्सेज पाँच दलको गठबन्धन,राप्रपाको शक्ति कति ? (२०७४ को मतसहित)

Banner

चितवन,चैत २१-

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकामा निकै पेचिलो प्रतिस्पर्धा भएको थियो । मेयरमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार ठाकुर प्रसाद ढकालले नेपाली कांग्रेसका उम्मेदवार खेमप्रसाद महत्तोलाई ४४ मतको झिनो अन्तरले हराएका थिए ।

दलीयरूपमा सबैभन्दा बढी वडा जितेको नेकपा (एमाले)ले प्रमुखमा भने हार व्यहोरेको थियो । यहाँ प्रमुख पदमा एमाले तेस्रो पोजिसनमा आएको थियो । यद्यपि उपप्रमुख पदमा भने एमालेकी उम्मेदवार ताराकुमारी काजि महत्तोले सबैभन्दा बढी मत ४ हजार ६९० मत ल्याएर विजयी भएकी थिईन् ।

माडीका ९ वटा वडामध्ये ५ वडामा एमालेका उम्मेद्वारले वडाध्यक्ष जितेका थिए । मेयर जितेको नेकपा (माओवादी केन्द्र)ले ३ वडा जित्दा १ वटा वडामा नेपाली कांग्रेसले जित निकालेको थियो ।

यसरी सबैभन्दा बढी वडा जित्दा पनि मेयर पद गुमाएको एमालेले यसपटक नतिजा उल्टाउने दाउमा छ । यसका लागि आफ्नो रणनीति जोडबलका साथ प्रयोग गरिरहेको छ । तर, एमालेले सोचेजस्तो सजिलो भने छैन । माडी नगरपालिकामा चार दलको बराबर जस्तै मत रहेको छ । एमालेका लागि सबैभन्दा ठूलो खतरा भनेको सत्तारुढ दलहरूको गठबन्धन नै हो । जिल्लामा रहेका पाँच राजनीतिक दलले सहमति गरेअनुसार यहाँ गठबन्धन हुने पक्का जस्तै छ । त्यो गठबन्धन बनेको अवस्थामा एमालेले राप्रपासंग मिल्नुपर्ने हुन्छ । त्यसका साथै नयाँ थपिएका मतदाताको बहुँसंख्यक मत एमालेले तान्नुपर्ने देखिन्छ । नभए गठबन्धनलाई पराजित गर्न कठिन नै हुन्छ ।

२०७४ को स्थानीय तहको निर्वाचनलाई हेर्दा माडीमा एमाले कमजोर छैन । एमालेबाट उम्मेदवार भएका वडाध्यक्षले ल्याएको मत परिणमलाई हेर्ने हो भने एमाले माडीमा पहिलो शक्ति नै हो । मेयरमा एमालेका नारदमणी पौडेलले ३ हजार ८२६ मत ल्याएपनि वडाध्यक्षले ल्याएको मत जोड्दा ४ हजार २३८ मत हुन आउँछ । भने, एमालेबाट उम्मेदवारी दिएर विजयी भएकी उपप्रमुख ताराकुमारी काजि महत्तोको मत पनि पौडेलको भन्दा ८६४ मत बढी छ । महत्तोले ४ हजार ६९० मत प्राप्त गरेकी थिईन् ।

यसो त माडीमा नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी र राप्रपाको मत लगभग उस्तै उस्तै छ । प्रमुख पद जितेका माओवादीका उम्मेदवार ठाकुर प्रसाद ढकाल ३ हजार ८७३ मत ल्याएर विजयी भएका थिए । ढकाललाई पछ्याएका नेपाली कांग्रेसका उम्मेदवार खेमप्रसाद महत्तोले ३ हजार ८२९ मत ल्याएका थिए । उनले थारु समुदायको लोकप्रिय मत समेत ल्याएको अनुमान गर्न सकिन्छ । माडीमा नेपाली कांग्रेसबाट उम्मेदवार दिएका वडा अध्यक्षको मत जोड्दा ३ हजार ४३६ मत रहेको छ । उनल लगभग ४ सय मत लोकप्रिया मत ल्याएका छन् । मेयरमा विजयी भएका ढकालले पनि लोकप्रिय मत पाएका छन् । यहाँ राप्रपाका उमेद्वार मदन प्रसाद पौडेलले ३ हजार ७३ मत प्राप्त गरेका थिए । माडीमा मेयरमा ८ जनाको उमेद्वार थियो । तर, तीन दल बाहेक अन्यले १ सय पनि कटाएका थिएनन् । यद्यपि झिनो अन्तर रहेको माडीमो सोही मतको महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

उपप्रमुख तर्फ नेपाली कांग्रेसकी शिवमायाँ भट्टराईले २ हजार ८४८ मत ल्याएकी थिईन् । उनले भन्दा बढी राप्रपाकी उम्मेदवार भिमकुमारी महत्तोले ल्याएकी छिन् । उनको ३ हजार १८६ मत आएको छ । त्यसैगरी माओवादीबाट उठेकी सरिता महत्तोले ३ हजार ८०४ मत ल्याएको देखिन्छ ।

मेयरमा हारेको एमालेले वडा नम्बर ३, ६, ७, ८, र ९ गरि ५ वटा वडा जितेको थियो । एमाले विभाजनपछि २ जना वडाध्यक्ष नेकपा एसमा गएका छन् । मेयर जितेको माओवादी केन्द्रले २, ४ र ५ गरी ३ वटा वडा जित्दा मेयरमा दोस्रो पोजिसनमा आएको कांग्रेसले १ नम्बर वडा मात्र जितेको थियो । यहाँ राप्रपाले एक ठाउँमा मात्र वडा सदस्य जितेको छ ।

यसरी २०७४ को मतपरिणम हेर्दा माडीमा पनि गठबन्धन नै हाबी हुने देखिन्छ । यद्यपि सत्तारुढ गठबन्धनमा राप्रपा सामेल छैन । यस्तो अवस्थामा नेकपा एमालेलाई राप्रपाले साथ दियो भने गठबन्धन सुरक्षित हुने अवस्था छैन । यद्यपि एमाले फुटको असर माडीमा पनि केही पर्ने देखिन्छ । एमालेबाट मेयरका उमेद्वार भएका नारदमणि पौडेले ऐले एमालेमा छैनन्, भने दुई वटा वडाध्यक्ष पनि एस तिर लागेका छन् । तर, माडीमा फुटको असर ५ प्रतिशत पनि नरहेको एमाले नेताहरु बताउँछन् । ‘माडीमा पूर्व माओवादी र राप्रपाका साथीहरु हामीतिर आउनुभएको छ । अहिले एजेण्डाले गर्दा कांग्रेसको समर्थन पनि हामी तिर नै छ । एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले भने, ‘माडीमा फुटको असर नगन्य छ । हामी पहिलो शक्ति नै हो ।’

चितवनमा सत्तारुढ दलले गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । यस्तो अवस्थामा माडी नेकपा (माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बढी छ । त्यो भयो भने यहाँ एमाले र माओवादी बिच नै प्रतिस्पर्धा हुने देखिन्छ । यस्तो अवस्थामा कांग्रेसको पुरा मत गठबन्धनलाई नजान पनि सक्छ । त्यसको फाइदा एमालेले लिने देखिन्छ । अर्को तर्फ माडीमा अयोध्याधाम स्थापना गरेकाले एमालेले मत आफु तिर पनि तान्ने अनुमान गरिएको छ ।

अघिल्लो स्थानीय तहको मतपरणामलाई हेरेर केही भन्न सकिँदैन । पाँच बर्षको अवधिमा मतदाताको मन धेरै फेरिसकेको हुन्छ । माडी प्रचण्डको निर्वाचन क्षेत्र र पालिका प्रमुख नै माओवादी भएको हुनाले पनि केही असर पर्न सक्छ । तर, यहाँ २०७४को स्थानीय तहको निर्वाचनमा २१ हजार ६७३ मतदाता थिए । अहिले ६ हजार ६४७ थपिएर २८ हजार ३२० मतदाता पुगेका छन् । माडीमा नयाँ थपिएको मत नै निर्णायक पनि हुन सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>