Breaking News
चितवनमा थपिए २८ प्रतिशत मतदाता, पुरुष भन्दा महिला ११ हजार बढी

चितवन,चैत १७-
आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने मतदातामध्ये चितवनमा २८ प्रतिशत मतदाता थपिएका छन् । राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार चितवनमा विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा ८४ हजार ६८३ जना बढी मतदाता थपिएका हुन् ।
विसं २०७४ मा जिल्लामा तीन लाख १३ हजार २ मतदाता रहेकोमा २०७९ को वैशाख ३० मा हुने निर्वाचनमा तीन लाख ९७ हजार ८८५ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालयले तीन लाख ९९ हजार ८७१ जनाको नामावली आयोगमा पठाएको थियो । दाबी बिरोधबाट केही संख्या घटेर आएको कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका मतदातामध्ये महिला बढी छन् । पुरुष भन्दा ११ हजार ६४८ जना महिला बढी रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका सात स्थानीय तहमा दुई लाख चार हजार ६६६ जना महिला छन् । त्यस्तै एक लाख ९३ हजार १८ पुरुष रहेको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
आगामी वैशाख ३० गते हुन लागेको निर्वाचनमा जिल्लाका सात वटै पालिकामा मदताता संख्या बढेको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकामा मतदाता बढेका छन् । यहाँ पाँच वर्षको अवधिमा ३५ हजार ४७९ संख्याले बढेको छ । सात स्थानीय तहमध्ये मतदाता संख्या पनि भरतपुर महानगरपालिकामा धेरै छन् । महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता पुगेका छन् । २०७४ मा एक लाख ५० हजार २५२ जना मतदाता संख्या थियो ।
भरतपुरपछि राप्ती नगरपालिकामा बढी मतदाता थपिएका छन् । यहाँ १० हजार ६५१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ । तर, कुल मतदाताको संख्या हेर्ने हो भने राप्ती चौथो नम्बरमा छ । राप्तीमा ४० हजार ६४९ मतदाता पुगेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा यहाँ २९ हजार ९९८ मतदाता थिए ।
खैरहनी नगरपालिकामा पनि मतदाता संख्या बढिरहेका छन् । यहाँ १० हजार २६८ जना थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा रहेका स्थानीय तहमध्ये तेस्रो ठूलो मतदाता रहेको खैरहनीमा ४३ हजार ५३१ मतदाता छन् । विसं २०७४ मा यहाँ ३३ हजार २६३ जना मतदाता थिए ।
जिल्लाको दोस्रो ठूलो स्थानीय तहका रुपमा रहेको रत्ननगर नगरपालिकामा नौ हजार ४८८ जना मतदाता थपिएका छन् । यससँगै रत्ननगरमा ५२ हजार ६४२ मतदाता पुगेका छन् । यहाँ २०७४ मा ४३ हजार १५४ मतदाता थिए । कालिका नगरपालिकामा पनि मतदाता संख्या थपिने क्रम बढ्दो छ । यहाँ २७ प्रतिशतले मतदाता थपिएका छन् । पहाडी क्षेत्रसमेत रहेको कालिकामा पाँच वर्षको अवधिमा आठ हजार १७० मतदाता थपिएका छन् । २०७४ को निर्वाचनमा २२ हजार ९८७ मतदाता रहेको जिल्लामा अहिले ३१ हजार १५७ पुगेका छन् ।
माडी नगरपालिकामा पनि छ हजार ६४७ मतदाता थपिएका छन् । चितवन निकुञ्जले घेरेको माडी उपत्यकामा २८ हजार ३२० मतदाता पुगेका छन् । यहाँ अघिल्लो निर्वाचनमा २१ हजार ६७३ मतदाता थिए । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा तीन हजार ९८० मतदाता थपिएका छन् । यहाँ जिल्लाकै सबैभन्दा कम मतदाता छन् । आगामी निर्वाचनमा १५ हजार ६३४ जनाले भोट हाल्न पाउनेछन् । अघिल्लो निर्वाचनमा इच्छाकामनामा ११ हजार ६५४ मतदाता थिए ।
चितवनमा ४५१ मतदान केन्द्र तोकिएको छ । जसमा तीन हजार ६०८ कर्मचारी निर्वाचनमा खटिने जिल्ला निर्वाचन अधिकृत भीम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रत्येक केन्द्रमा आठ जना कर्मचारी खटिन्छन् । उनीहरुलाई निर्वाचन हुनुभन्दा सात दिन अघि नियुक्ति दिएर काममा खटाइने कार्कीले बताउनुभयो ।
जिल्लामा रहने मतदान केन्द्रमध्ये सबैभन्दा बढी भरतपुर महानगरमा २०२ रहनेछन् । २९ वटा वडा रहेको महानगरमा ६५ मतदान स्थल रहने उहाँले जानकारी दिनुभयो । १३ वटा वडा रहेको रत्ननगरमा ६० मतदान केन्द्र तोकिएको छ । त्यहाँ २१ वटा मतदान स्थल रहनेछन् । त्यस्तै खैरहनीमा ५१, कालिकामा ३७, राप्तीमा ४७, माडीमा ३२ र इच्छाकामाना गाउँपालिकामा २२ वटा मतदान केन्द्र तोकिएको छ ।
यसैगरी निर्वाचन आयोगले चितवनको प्रमुख निर्वाचन अधिकृत तोकेको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाको प्रमुख निर्वाचन अधिकृतमा चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावललाई तोकिएको कार्कीले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिकाको निर्वाचन अधिकृत भएर समेत काम गर्नुहुनेछ ।
सात स्थानीय तहमध्ये दुई जना निर्वाचन अधिकृत जिल्ला बाहिर काम गर्ने कर्मचारी छन् । रत्ननगरमा विनोदकुमार गौतम, खैरहनीमा सरस्वती पौडेल निर्वाचन अधिकृतको रुपमा खटिने बताइएको छ । दुवै जना जिल्ला बाहिरका हुन् । त्यस्तै इच्छाकामना गाउँपालिकामा चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्य, कालिका नगरपालिकामा सरकारी वकिल कार्यालयका महेशप्रसाद खत्री, माडी नगरपालिकामा जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतम र राप्ती नगरपालिकामा सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजाललाई तोकिएको छ ।


























