चितवन विशेष
गैडाकोट नगरपालिकालाई विपद् व्यवस्थापन सामग्री प्रदान

गैडाकोट,चैत १३-
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकालाई विपद् व्यवस्थापन सामग्री सहयोग प्रदान गरिएको छ । कारितास नेपाल नामक संस्थाले नगरपालिकालाई रु एक लाख १६ हजार रुपैयाँ बराबरको विपद् व्यवस्थापन सामग्री प्रदान गरेको हो ।
कारितास नेपालका रिजनल म्यानेजर शङ्करकुमार पौडेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेललाई विपद् व्यवस्थापान सामग्री प्रदान गर्नुभएको हो । संस्थाले गैँडाकोटको वडा नम्बर २ र ३ मा विपद् व्यवस्थापनका लागि प्रतिकार्य योजना सञ्चालन गरिरहेको छ । संस्थाले प्रदान गरेको विपद् व्यवस्थापन सामग्री नगरपालिकाको ३ नम्बर वडा कार्यालयमा राखिने जनाइएको छ ।
गैँडाकोटको वडा नम्बर ३ मा बाढी पहिराको जोखिम धेरै भएकाले विपद् व्यवस्थापनका कामहरु गर्दै आइरहेको रिजनल म्यानेजर पौडेलले बताउनुभयो । पहाडी क्षेत्रका साथै कालिगण्डकी नदी र नारायणी नदीको किनारमा वडा नम्बर ३ पर्ने भएकाले यहाँ डुबान र कटानको सुमस्या देखिदै आएको छ । विपन्न समुदाय रहेको सो स्थानमा आकस्मिक उद्धारका लागि विपद् व्यवस्थापन सामग्री प्रभावकारी हुने पौडेलको विश्वास छ ।
कारितास नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने साबेल, बेल्चा, ह्यामर, बञ्चरो, सेफ्टी ज्याकेट, लाइफ ज्याकेटलगायतका सामग्रीहरु प्रदान गरेको संस्थाका कार्यक्रम संयोजक दुर्गाबहादुर लामाले बताउनुभयो ।
संस्थाले नगरपालिकालाई दिएको विपद् व्यवस्थापनका सामग्री नगरप्रमुख छत्रराज पौडेलले वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख पौडेलले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरेको बताउनुभयो । जनप्रतिनिधि आएपछि काम सिक्दै गर्दा कोभिडका कारण धेरै काम गर्न नसकेको भए पनि आफूहरुले गरेको काम जिल्लामै उत्कृष्ट भएको नगरप्रमुख पौडेलले बताउनुभयो ।
























