Breaking News

चितवनमा राष्ट्रिय महिला लिग फुटबल सुरु, एपीएफको विजयी सुरुवात

Banner

चितवन, चैत १०–

चितवनको भरतपुरमा आज (बिहीबार)देखि राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । भरतपुर–१९ शारदानगरस्थित खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ फुटबल क्लवले विजयी सुरुवात गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको ५२औं मिनेटमा रश्मी गुरुङले पेनाल्टी मार्फत गरेको गोलको मद्धतमा आर्मीले अग्रता बनाएको थियो । तर ५७औं मिनेटमा एपीएफकी कप्तान रेनुका नगरकोटीले आकर्षक गोल गर्दै खेललाई बराबरीमा पुर्‍याईन् । खेलको ८१औं मिनेटमा अनिता बस्नेतले दोस्रो गोल गरेपछि एपीएफले जित हात पार्न सफल भयो । खेलमा एपीएफकी रेनुका प्लेयर अफ दि म्याच बनिन् । प्रतियोगिता अन्तरगत भोलिबाट दैनिक दुई खेल हुनेछन् ।

प्रतियोगिताको पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन अघि झाकीसहितको र्‍याली निकालिएको थियो ।

डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चैत ३० गतेसम्म भरतपुरमा हुने छन् । दोस्रो चरणका २८ खेल बिराटनगरमा हुनेछ । यस पटक लिगमा तीन बिभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ ।

तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने आयाजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०–५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>