Breaking News

हुलाकी सडकः अरु जिल्लामा धमाधम काम, चितवनको माडीमा पुल र सडक निर्माण सुस्त

  • Logo
    app haru
  • १० फाल्गुन २०७८, मंगलबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन १० –
हुलाकी राजमार्ग अन्तर्गत चितवनको माडीमा निर्माणाधीन अवस्थामा रहेको सडक र पुलको भौतिक प्रगति न्यून रहेको छ । निर्माण सम्पन्न गर्ने म्याद सकिएर पटकपटक म्याद थप भइसक्दा पनि काम सम्पन्न हुन नसकेको हो ।

हुलाकी सडक अन्तर्गत माडीमा ११ वटा पुल र ७.७ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेका छन् । तर सडक र पुल दुबै समयमै काम सम्पन्न हुन नसक्दा अलपत्र परेका छन् । हालसम्म सडक निर्माणको १५ प्रतिशत काम सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय विरगञ्जका सूचना अधिकारी दुर्गा मण्डललले जानकारी दिए । १० वटा पुलहरुको भौतिक प्रगति औसतमा भन्दा ४६ प्रतिशत रहेको मण्डलले जनाए । कुनै पुलमा १५ प्रतिशत पनि काम भएको छैन भने कुनैमा ७० प्रतिशत पुगिसकेको छ । माडीमा एउटा खोलाको पुल भने निर्माण सम्पन्न भइसकेको छ ।

माडीमा ठेक्का सम्झौता गर्दा इआइए नगरी गरिएकाले अहिले समस्या सृजना भइरहेको मण्डलले बताए । ठेक्का सम्झौता गर्नुपूर्व नै इआइए गर्नुपर्नेमा त्यतिबेला सडक डिभिजन भरतपुले त्यसो गरेन । २०७६ सालमा सडक डिभिजनले बज्रगुरु जेभीसँग सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणको लागि छुट्टाछुट्टै निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । सबै गरेर माडीमा ९ वटा निर्माण कम्पनीले काम गरिरहेका सूचना अधिकारी मण्डलले बताए । पुल निर्माणको सम्झौता गर्ने काम ०७४ सालबाटै सुरु भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जले घेरिएको माडीमा इआइए नगरिकन गरिएका काम अघि नबढाउन निकुञ्जले भनेको छ । मण्डलका अनुसार ११ पुलमध्ये ५ वटाको इआइए भइसकेको छ । अरुको इआइए हुने प्रक्रियामा छ । इआइएका लागि फाइलहरु युनेस्कोमा पुगिसकेको छ ।

योजना कार्यालय विरगञ्जले माडीदेखि रौतहटसम्मको ३०० किलोमिटर सडक हेर्ने जिम्मा पाएको छ । माडीको देवेन्द्रपुरदेखि बगैबसपार्कसम्म ७.७ किमि र माडीदेखि ठोरीसम्मको जंगलभित्रको १२ किमिमा बाहेक अन्य क्षेत्रमा सडक निर्माण काम सम्पन्न भइसकेको मण्डलले जानकारी दिए । ३०० किमीमा कुल १४ वटा पुल रहेका छन् । माडीका बाहेक अन्य क्षेत्रका ३ वटा पुलहरु पनि निर्माणाधीन अवस्थामै रहेका छन् । ती पुलको भौतिक प्रगति कुनैमा ८० त कुनैमा २० प्रतिशत रहेको मण्डलले जानकारी दिए ।

माडीमा पुल नहुँदा वर्षातको समयमा यात्रा गर्न निकै कठिन हुने गरेको छ । खोला बढ्दा सवारी आवतजावत नै रोकिने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>