Breaking News

चितवनका मुख्य क्षेत्रका ३७ सीसी क्यामरा बिग्रियो, प्रहरीलाई सुरक्षा चुनौती

Banner

पूजा ढकाल

भरतपुर,माघ २८-

चितवनका शहरी क्षेत्रको मुख्य–मुख्य चोकमा सीसीटीभी क्यामरा जडान भए पनि क्यामरा सुचारु अवस्थामा छैनन् ।

सरकारी निकायको उदासिनताले जडान भएका क्यामरा सञ्चालनमा नआएका हुन् । विभिन्न कारणले विग्रने र आर्थिक अभावका कारण मर्मत नहुँदा जिल्लाका सबै क्यामरा सञ्चालनमा नआएको सरोकारवाला बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालका अनुसार अहिलेसम्म चितवन जिल्लामा १५० वटा सिसीटीभी क्यामरा जडान भएका छन् । जसमध्ये ११३ वटा क्यामरा सञ्चालनमा छन् भने ३७ वटा क्यामरा बिग्रेको अवस्थामा छन् । उहाँ भन्नुहुन्छ–‘जिल्लामा आर्थिक अभावका कारण मर्मत नहुँदा धेरै क्यामेरा बिग्रेको अवस्थामा छन्, धेरैजसो क्यामरा पुरानो भइसकेका छन् । मर्मत गर्न कम्पनी खोज्नुपर्ने र सरकारी निकायको चासो नहुँदा लामो समयदेखि क्यामरा बिग्रेको अवस्थामा छन् ।’

पछिल्लो समय चितवनका सीसी क्यामरा गोरखाको एक कम्पनीले बनाएको थियो । उहाँका अनुसार अझै चितवनको शहरी क्षेत्रका १५–२० वटा चोकमा क्यामरा आवश्यक छ । अब यो क्षेत्रमा पनि क्यामरा जडान भए अपराध नियन्त्रण गर्न र अपराधी समात्न सहज हुने उहाँले बताउनुभयो । तर, पछिल्लो समय जडान भएका क्यामरा पुरानो हुँदा सामान्य हावाहुरीले बिग्रने, पुरानो भएका क्यामराको क्यापासिटी कम भएको र जडान भएका क्यामरा पनि सामान्य खालको हुँदा प्रहरीलाई काम गर्न असहज भएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनको आसपास क्षेत्रमा हाल ३२ वटा क्यामरा रहेका छन् । जसमध्ये पछिल्लो तथ्यांक हेर्दा त्यो क्षेत्रमा १७–१८ वटा क्यामरा सञ्चालन थिए । तर, हिजोको हावाहुरी र पानीले प्रहरी कार्यालय आसपास क्षेत्रमा मालपोत कार्यालयको दुई, विद्युत् कार्यालय, चौबिसकोठी र दूरसञ्चार कार्यालयको एक–एक गरी हाल पाँच वटा क्यामरा मात्रै सञ्चालनमा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरी कार्यालयको गेटमा भएको क्यामराले सबै क्षेत्र नसमेट्ने र अझै पार्किङ क्षेत्र तथा ग्यारेज क्षेत्रमा क्यामेरा आवश्यक रहेको छ ।

शान्ति सुरक्षा कायम गर्न, अपराधका घटना कम गर्न तथा अपराधी समात्न सहज हुने लक्ष्यका साथ क्यामरा जडान गरिएको हो । तर सबै ठाउँमा क्यामरा नहुँदा तथा भएको क्यामरा पनि बिग्रेको हुँदा अपराध नियन्त्रण गर्न तथा अपराधी समात्न कठिन भएको नरालले बताउनुभयो । त्यस्तै अहिले जिल्ला प्रवेश गर्ने मुख्य चार नाकामा जडान भएका चारै वटा क्यामरा सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>