Breaking News

१४ वर्ष लागुऔषध दुव्र्यसनमा फसेकी चितवनकी हीरा बनिन् सफल प्रशिक्षक

Banner

प्रतिमा कुमाल

चितवन, माघ १७–

नेपाली समाजमा अझै पनि धुमपान र मद्यपान संस्कृतिको रुपमा रहेको छ । चार्डपर्व तथा धार्मिक उत्सवहरुमा यसलाई पाहुना र अतिथिहरुलाई सेवन गर्न दिइन्छ । यसको सेवनमा पुरुषलाई छुट र महिलाहरुलाई बन्देज गरिन्छ । जसले गर्दा महिलाहरुमा कौतुहलता बढ्न जाँदा उनीहरु लागुऔषधको दलदलमा फस्ने गरेका छन् । ती नै महिलाको उदाहरण हुन् चितवनकी हीरा श्रेष्ठ (परिवर्तित नाम) ।

आज श्रेष्ठ चितवनसँगै विभिन्न जिल्लाकी चिर परिचित व्यक्तित्व भइसकेकी छन् । लागुऔषध दुव्र्यसनीको परिचयबाट दुव्र्यसनीलाई परामर्श गर्ने प्रशिक्षकको छवि बनाउन सफल भएकी छन् । जेल जीवन समेत बिताएकी उनी अहिले एउटा छोरी, श्रीमती, बुहारी, आमा र समाजकी एक सभ्य व्यक्ति बनेकी छन् । यो गन्तव्यसम्म आउन श्रेष्ठले कष्टकर कसरत भने गर्नुप¥यो ।

खाइलाग्दो शरीर, गहुँगोरो वर्ण, डोलो आकारको अनुहार, रुपासे, सुरिला स्वर रक्किङ् तरिकाले उनले बोल्दा ‘सक्किगोनी’ थेगोले टेलिफिल्मको ‘जिग्रि ब्रो’ को याद आउँछ । उनी नेवारी समुदायमा हुर्किएकी चेली हुन् । निम्न परिवारमा घरको जेठी छोरीको रुपमा उनको जन्म भयो । उनको एक बहिनी र दुई भाई छन् । आम्दानीको स्रोत खेती किसानी मात्रै थियो । परिवारको सबै भन्दा ठूलो छोरी भएकोले आमाबुबा काममा जादा भाइबहिनीसँगै घरको सम्पूर्ण जिम्मेवारी उनको काँधमा थियो । जेठी छोरी हुनुको जिम्मेवारी बहन गर्दै उनी ८ कक्षामा पुगिन् । ८ कक्षालाई जिल्लास्तरीय परीक्षा भनिन्थ्यो । फलामको ढोकाका रुपमा पनि हेरिन्थ्यो । यही फलामको ढोका खोल्न नसक्नु नै उनको लागि कुलतको भ¥याङ चढ्ने पहिलो खुड्किलो बन्यो ।
‘तिमी फेल भएर केही पनि हुँदैन भाईबहिनी फेल हुनु भएन’ भन्ने आमाको शब्द उनको मनमा यसरी बिज्यो जसले पहिलो पटक उनको जिब्रोले रक्सी स्वाद पायो । उनीले भनिन्, ‘ अनि मलाई पढ्न मन लागेन । म त्यतिकै बसिरहन्थेँ । टोलाइ रहन्थ्येँ । आमाबुबाले वास्ता नगरेको एकदमै एक्लो महसुस भयो । परिवारले यसरी बस्नु हुदैन तिमी पढ्नुपर्छ भनेर स्याङ्जा पठाए । त्यहाँ गएपछि परिवारबाट टाडा भएँ । रोक्ने टोक्ने कोही भएन । गाउँघरको बसाइ रक्सी खानु सामान्य कुरा थियो । बालापनमै भएकोले कसैले कुनै नयाँ काम गर्दा जिज्ञासा हुने रहेछ । के होला कस्तो होला जान्न मन लाग्ने । त्यही जिज्ञासाले रक्सी लिन थाले ।’

हीराको अतित

मद्यपान कै रस र गन्धमै उनले एसएलसी पास गरिन् । ११–१२ पढ्नको लागि भने उनी चितवननै फर्किन् । नारायणगढको बालकुमारी कलेजमा भर्ना भइन् । तर, बुबाआमासँग भने उनको सम्बन्ध राम्रो हुन सकेन । कलेज जाने क्रममा उनको घर नजिकै साथी बन्यो । साथी क्रिश्चिएन भएकोले उनी पनि चर्च धाउन थालिन् । चर्चमा हुने भजनकीर्तन, प्रवचनले उनको मनको आधी हुरीमा परिणत भयो ।

त्यो हुरी शान्त हुन नपाउँदै चर्चमा उनको अर्को व्यक्तिसँग भेट भयो । ‘उसले लागुपदार्थ प्रयोग गरिरहेको थियो’,श्रेष्ठले भनिन् , ‘यस्तो लागुपदार्थ प्रयोग गर्ने मानिसलाई किन हाम्रो धर्मस्थलमा ल्याएको मैले पास्टर सँग प्रश्न गरँे । विश्वमा जति पनि भगवान छन् धर्म छ जसका धर्म गुरुहरुले भक्तजनलाई सम्झाए अनुसार मलाई सम्झाउनु भयो । हामीले उनीहरुलाई माया गर्नु पर्छ । गाली गर्न हुँदैन । नराम्रो बाटोमा हिडेका मान्छेलाई राम्रो बाटोमा ल्याउनु पर्छ ।’

त्यसपछि मैले उसलाई एकदमै एकोहोरो रुपमा राम्रो गर्न खोजे । कस्तो साथी रहेछ जान्न मन पनि लाग्यो । उसलाई माया गर्दे र सँगै हिड्न थाले ।
बिना स्वार्थ सहयोग गर्दा उसको परिवारले उनीलाई विश्वास गर्न थाल्यो । तिमी जहाँ जान्छौ त्यही लिएर जाऊ, ल्याऊ जस्ता कुराले श्रेष्ठमाथि अर्को जिम्मेवारी थपियो । जसका कारण दिन होस् या रात लागुपदार्थ सेवन गरेर पल्टिरहेको साथीलाई उनले फिर्ता ल्याउनु पर्दथ्यो । यसले बिस्तारै उनको परिवारसँग अझै ग्याप भयो । चर्च जान छाडिन् । कलेजमा दैनिक सहभागिता टुट्यो । साथीलाई सम्हाल्दा सम्हाल्दै उनको परीक्षा नजिकियो । परीक्षा फारम भर्नका लागि पैसा आमाबुबासँगै माग्नु पथ्र्यो । उनले भनिन् ‘मैले आमासँग पैसा मागे । घरमा नआउने बाहिर–बाहिर बस्ने यहाँ पैसा माग्ने आमाको जवाफ थियो ।’ परीक्षा शुल्कबाट अभिभावक नै पन्छिएपछि उनमा तनाव पैदा हुन थाल्यो । ‘संगत गुनाको फल’ भने झै त्योे तनाव मुक्त गर्ने औषधि लागुऔषध रहेको सुझाव उनले पाइन् । ‘साच्चै हुन्छ र । मैले चाडो विश्वास गरे । एक पटक प्रयोग गरेपछि तनाव गाएब हुने भने पछि मैले खाए । त्यो पहिलो पटकले मेरो जिन्दगी कोल्टे फेरियो ।’

मद्यपान गरिसकेकी श्रेष्ठको यो पहिलो पटक थियो । उनले यो भन्दा पहिला लागुपदार्थ प्रयोग गरेकी थिइनन् । बिस्तारै उनमा यसको लत बस्यो । आज खाएपछि भोलि पनि खान मन लाग्ने तलतल उनमा हुन थाल्यो । दिन रात त्यसकै खोजीमा उनी मग्न हुन थालिन् । नखादा शारीरिक तनाव झेल्नुपर्ने समस्या देखिन थाल्यो ।

त्यो शारीरिक तनाव कम गर्न उनले विस्तारै नराम्रा कामहरु गर्न सुरु गरिन् । उनले भनिन्, ‘मसँग पैसा हुँदैनथ्यो । चोरने लुट्नेदेखि विभिन्न काम गरँे । मलाई चाहिन्छ भने पछि चाहिन्छ । यतिसम्म गरे आमाको र्गदुवासम्म चोरे । हप्तौँ महिनौँ हराउँथे । खाने क्रममा मैले धेरै समस्या खडा गरँे । म एउटा जनावर जस्तै भइसकेको थिएँ ।’

मद्यपान र लागुऔषध प्रयोगमा उनले १४ वर्ष बिताइन् । उनको वनबास सकिएको थियो । यो हुनुमा उनकै कलेजको एक साथीको भूमिका मुख्य रहेको श्रेष्ठ बताउँछिन् । उनी पनि पुर्नस्थापित भएर बसेकी महिला रहेछन् । एक अर्कोको रोग नसरोस् भनेर अभियान अन्तर्गत लागुपदार्थ प्रयोगकर्तालाई सिरिन्जहरु वितरण गर्ने काम गर्थिन् । सिरिन्ज लिने क्रममा भेट भयो । उनको पछि हिड्न थाले । सो क्रममा यसरी खादै बस्नु भन्दा सुधार गृह बस्न सल्लाह दिइन् ।

अध्यारोबाट उज्यालोतिर

लागुऔषधबाट हीरालाई बचाउन उनको साथीले दिएको सल्लाहा उनको जीवन कथाबाट मेटाउन सकिँदैन । कुलतमा फसेकी हीरालाई आफू गलतबाट हिड्दै छु भन्ने थाहा थियो । लागुऔषध छोड्ने इच्छा शक्ति थियो । आफू कसैको छोरी दिदी भएकामा जिम्मेवारी बोध थियो । परिवालाई सहयोग गर्ने सोच पनि उनमा थियो । तर, उनी दलदलबाट निस्कन सकिरहेकी थिइनन् ।

सल्लाहा भएसँगै उनी एकता नेपाल चितवन जुन बिगतमा गैँडाकोटमा थियो त्यहाँ पुगिन् । सुधार गृह बस्नका लागि उनलाई उनको प्रेमीको पनि साथ थियो । वैदेशिक रोजगारमा रहेको परिवर्तित नाम प्रशान्त श्रेष्ठलाई लागुऔषधको विषयमा थाहा थिएन । घर फिर्ती भएपछि प्रशान्तले हीराले यस्ता चिज खान थालेको छ भन्ने थाहा पाएका थिए ।

परिवारलाई थाहा नदिएर १८ महिना हीरा पुर्नस्थापना केन्द्रमा बसिन् । रिकभर भएपछि ६ कक्षा देखिको बालापन प्रेम र विवाह बन्धनमा बाँधियो । नयाँ जीवन सुरु गरेकी हीराले नयाँ आयाम भने भर्न सकिन्न । रिकभर हुने बित्तिकै बिहे गर्नु अर्को तनाव थप्नु भयो । यु टर्न लिएर उनी फेरि लागुऔषधकै बाटोमा आइन् । यद्यपि गर्भमा बच्चाहुदा पनि सेवन गरिन् ।

उनले सुनाइन्, ‘नसा सेवन गरेकोले सुत्केरी हुँदा, बच्चा पेटमा हुँदा, धेरै पिटाइ खान्थँे बुढाको । तर, पनि मलाई मेरो केही गल्ती छ भन्ने लाग्दैन्थ्यो । तर, पनि मेरो श्रीमान्ले मलाई छाड्नु भएन । आजसम्म साथ दिइरहनुभएको छ । यति धेरै सहन सक्ने क्षमता ममा भन्दा मेरो बुढामा रहेछ । उसको मायाको म बयाननै गर्न सक्दिन । ‘लास्टै माया गरिदिने के मेरो बुढाले’ यतिको सपोर्ट कसैले कसैलाई गर्दैन । यद्यपि मेरै जन्म दिने आमाबुबाले फोहोरको कीरा मानेका थिए । पारिवारिक कुनै पनि सभासम्मेलनमा समावेश गरिदैन थियो । म छैन भन्ने उहाँहरुमा थियो । त्यतिसम्मको घृणित व्यक्ति म थिएँ ।’

शरीर रिकभर भएर पनि मानसिकरुपमा भएको हुदैन । धेरै कुरा हामीलाई सिकाउन जरुरी छ । बुझाउन जरुरी हुन्छ । सही बाटो देखाउनु पर्छ । दुव्र्यसनीमा फसेका मानिसहरु मायाको भोको हुने उनको भनाइ छ ।

‘बिग्रन जति सजिलो छ सपार्न त्यो भन्दा गारो’ सप्रिन हिरालाई धेरै कष्टकर कसरत गर्नुप¥यो । सप्रिने क्रममा उनी फेरि मिडियाको गलत शिकार भइन् । सुध्रिनलाई उनले संघर्ष गरिरहेकी थिइन् । त्यही समय परिचय गोप्य राखिने भन्दै उनको अन्र्तर्वाता लिइयो । उनी त्यो मिडियाको नाम खुलाउन चाहँदिन्न । परिचय खुलाई दिँदा उनको परिवारमा धेरै असर पर्नगयो । उनको परिवारमा श्रीमान् बाहेक कसैलाई थाहा थिएन उनले नसा सेवन गर्थिन भनेर । फलना यस्तो उस्तो समाजमा कुरा चल्लन थाल्यो । सबैले थाहा पाए । ती कुरा सम्हाल्न नसक्दा फेरि उनलाई गाहे भयो । त्यति खेर उनको गर्भमा पहिलो सन्तान हुर्किदै थियो ।

फेरी दोस्रो पटक उनी मिडियाको फन्दामा परिन । उनको छोरा चार वर्षको भइसकेको थियो । अभियान्ताका रुपमा उनी जिल्लामा परिचित हुन थालेकी थिइन । नसाबाट बाहिर पनि उनको साथीहरु भने घरमा आउ जाउ गर्थे । भरतपुरमा प्रयोग भएको सिरिन्ज हीराको नागरिकताको फोटोकपीले बेरेर फालेको अवस्थामा भेटियो ।

‘वडा अध्यक्षले झुक्काएर मलाइ बोलायो । हस्पिटलमा १ एम एलको २ एम एलको सिरिन्जहरु रहेछ । जुन सिरिन्जहरु हामीले प्रयोग नै गर्दैनौ । मैले प्रयोग गर्ने सिरिन्ज लाइफ लाइन हो । जुन ५ एमएलको थियो । त्यहाँ मेरो नागरिकताको फोटोकपी भएका कारणले त्यो सबै सिरिन्ज मैले नै प्रयोग गरेको हो भन्ने भयो । त्यहाँ ८–१० वटा मिडिया थिए । अन्य मानिसहरु पनि थिए । सबैको अगाडि मेरो एकदमै धेरै बेइज्यत भयो । चार वर्षको छोरा सँगै उनी त्या गएकी थिएँ । प्रत्यक्षदर्शी छोराले आफूलाई के सोच्यो ? के देख्यो ?’ भन्ने प्रश्न अझै उनमा रहेको छ ।

साथीको गल्तीका कारण उनले जेल बस्नुप¥यो । सुधार गृह भन्दा धेरै जेलमा बसेको उनको भनाइ छ । भेट्न आउदा बच्चाले उनलाई आमा भनेर चिन्दैनथ्यो । उनलाई म एउटा बच्चाको आमा हो । मैले जन्म दिएको हो भन्न महसुस नै हुँदैन थियो । पुर्नस्थापना केन्द्र र जेलका कारण आमा भएको सुख उनले भोग्न पाइन्न भने महसुस पनि गरिन्न । जुन एक महिलाको सुखद् पल मानिन्छ ।

बदलिएको वर्तमान

हीरा रिकभर भएको करिब चार वर्ष भएको छ । एउटा नखाने व्यक्तिले यती सहयोग गर्छ भने म आफैले थोरै कोसिस किन नगर्ने भनेर नै यहाँसम्म आएको उनी बताउँछिन् । सर्वप्रथम आफैले आफैलाई माया गर्नुपर्ने उनको भनाइ छ । कसैले प्रेसर गरेर, परिवारले रियाभ राखिदिएर बानीबेहोरा नसुध्रिने उनी बताउँछिन् । जे कुरा सुधार गृहमा सिकिन् त्यही असल जीवनमा लागू गरे पछि घरपरिवार, समाजले उनलाई माया गर्न थालेको छ । पारिवारिक तथा सामाजिक सभा सम्मेलनमा उनलाइ पनि निम्तो आउने गरेको छ । आफ्नै कारणले सबै आफूबाट टाढा भएका रहेछन् भन्ने उनलाई लाग्छ । आज उनलाई जेठी छोरी भएकोले घरको सबै काम गर्नुपर्ने भएकोले आमाले तिमी फेल भए पनि केही पनि हुदैन भनेको आफूले त्यसलाई सकारात्मकरुपमा बुझेको जस्तो भान भएको उनलाई लाग्छ । अहिले उनको दोस्रो सन्तान पनि भएको छ । १० महिनाको छोरा उनको काखमा भएपछि आमा भएको महसुस भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>