Breaking News

स्थानीयको बिरोधले चितवनको हर्दी सवस्टेशन सञ्चालनमा ढिलाइ

बस्ती बाहिरबाट प्रसारण लाइन लैजान माग

Banner

चितवन,पुस १५-

चितवनको राप्ती नगरपालिका–६ हर्दीमा निर्माण गरिएको १३२ केभी सवस्टेशन पूर्ण रुपमा सञ्चालनमा आउन ढिलाइ भएको छ । प्रसारण लाइन विस्तारमा स्थानीयको विरोधपछि सवस्टेशन पूर्ण रुपमा सञ्चालनमा आउन ढिलाइ भएको हो ।

खैरहनी नगरपालिका क्षेत्रका बासिन्दाले घर अगाडि सडकबाट डबल सर्किट प्रसारण लाइन (३३ केभी) लैजान अवरोध गरेपछि डेढ महिनादेखि काम अघि बढ्न नसकेको आयोजना प्रमुख रमनराज शर्माले जानकारी दिनुभयो । ‘सवस्टेशनको अरु सबै काम सम्पन्न भइसकेका छन्, प्रसारण लाइन विस्तार गरेपछि आयोजना हस्तान्तरण गर्ने तयारीमा थियौँ’, शर्माले भन्नुभयो ‘खैरहनीमा टावरको फाउण्डेशन निर्माणमा अवरोध भएपछि काम अघि बढाउन पाएका छैनौँ ।’

आयोजना प्रमुख शर्माले घरगोठबाट ३ मिटर सडककै जग्गामा टावर बनाउन खोज्दा पनि स्थानीयले विरोध गरेकाले छलफलको प्रक्रिया अघि बढाइएको बताउनुभयो । हर्दी सवस्टेशनबाट पुरानो राजमार्ग हुँदै चैनपुर सवस्टेशनसम्म करिब ८.५ किलोमिटर प्रसारण लाइन लैजान सर्भे गरिएको थियो । सो क्षेत्रमा राप्तीका केही र खैरहनीको वडा १०, ९, ७ र ६ पर्छ ।

राप्ती क्षेत्रमा काम अघि बढेको छ भने खैरहनी क्षेत्रमा मात्रै विरोधले काम रोकिएको हो । बाक्लो बस्ती, विद्यालय क्षेत्र भएकाले स्थानीयले प्रसारण लाइनको विरोध गरेका हुन् । प्रसारण लाइनका लागि राप्ती नगरपालिका क्षेत्रमा १६ र खैरहनी नगरपालिका क्षेत्रमा २७ गरी ४६ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म राप्ती क्षेत्रका १४ वटा मात्रै टावर निर्माण भएको छ ।

खैरहनी क्षेत्रमा बन्न लागेका २७ वटा टावर स्थानीयले विभिन्न माग राख्दै रोकेका हुन् । हर्दी–चैनपुर हाइटेन्सन संघर्ष समिति बनाएरै स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय समक्ष १७ बुँदे माग पेश गर्दै प्रसारण लाइन रुट परिवर्तन गर्न माग समेत गरेका छन् । घना बस्ती हुँदै कसैको सहमती बेगर नै ठूलो विद्युत् प्रवाह हुने तार लैजान लागिएकोले स्थानीयको विरोध रहेको संघर्ष समितिका संयोजक केशवराज भट्टराईले बताउनुभयो ।

‘अरु विकल्प हुँदाहुँदै ठूलो बस्ती हुँदै प्रसारण लाइन लैजान लगिएकोले विरोध गरिएको हो, दीर्घकालीन असर देखेरे हामी विकल्प पनि दिएका छौँ’ भट्टराईले भन्नुभयो ‘स्थानीय वडा अध्यक्षदेखि अन्य सरोकारवाला निकायसँग नियमित छलफलमै छौँ, विकल्प निस्कन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’ संघर्ष समितिका संयोजक भट्टराईले वैकल्पिक बाटो भएर प्रसारण लाइन लैजान अनुरोध गरिरहेको बताउनुभयो ।

भट्टराईसहितको टोली केहीदिन अघि चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेट गरेका थिए । नाराबाजी गर्दै पुगेका स्थानीयहरुले प्रजिअ तामाङसँग आफ्नो समस्या राख्दै बस्ती बाहिरबाट प्रसारण लाइन लैजान आग्रह गरेका थिए । प्रजिअ तामाङले स्थानीयको मागको विषयमा स्थानीय र सरोकारवालालाई एकै ठाउँमा राखेर छलफल गराउने वचनवद्धता व्यक्त गर्नुभउको थियो ।

वि.सं.२०७५ असारदेखि निर्माण सुरु भएको १३२/३३/११ केभी सवस्टेशन आयोजना निर्माणको बाँकी सबै काम पूरा भइसकेको छ । आयोजना सुरु गर्नुपूर्व २ वर्ष जग्गा अधिग्रहणकै लागि समय लागेको थियो । करिव ४ बिघा जग्गा अधिग्रहण गरेपछि सुरु भएको आयोजनाको काम यही चैत्र महिना भित्र हस्तान्तरण गर्ने तयारी छ ।

प्रसारण लाइन तान्ने बित्तिकै सवस्टेशन पूर्ण रुपमा सञ्चालनमा आउने र पूर्वीचितवनमा यही स्टेशनबाट विद्युत् प्रवाह गरिने आयोजनाका प्रशासन प्रमुख सुरेश पण्डितले जानकारी दिनुभयो । ‘यो सवस्टेशन पूर्वी चितवनवासीकै लागि निर्माण गरिएको हो, यसमा सबैले सघाउ पु¥याउनुपर्छ’ उहाँले भन्नुभयो ‘विवाद समाधानका लागि पहल भइरहेको छ ।’

हाल २१ किलोमिटर लामो दूरी रहेको भरतपुरबाट एउटा मात्रै ल्याइएको ३३ केभी फिडर मार्फत खैरहनी–२ चैनपुरमा रहेको ३३/११ केभी सवस्टेशनबाट पूर्वी चितवन क्षेत्रमा विद्युत् प्रवाह हुँदै आएको छ । जसले गर्दा बेलाबेखत विभिन्न कारणले पूर्वी क्षेत्रमा विद्युत् अवरुद्ध हुँदै आएको छ । नयाँ सवस्टेशन निर्माण गरिएसँगै भरतपुरबाट ल्याइएको लाइन कटौती गरेर यसै स्टेशनबाट विद्युत् प्रवाह गरिने छ । प्रसारण लाइन मार्फत ३३ केभी विद्युत् चैनपुर सवस्टेशनमा लगेर पूर्वी चितवन क्षेत्रभर सेवा प्रवाह गरिने छ ।

हर्दीमा निर्माण गरिएको सवस्टेशनमा हाल ३० एमभीए क्षमताका २ र १६ एमभीए क्षमताका एउटा गरी तीन वटा पावर ट्रान्सफर रहेका छन् । हाल यही सवस्टेशनबाट पूर्वी चितवनका भण्डारा, लोथर, खुरखुरेलगायत क्षेत्रमा विद्युत् सेवा प्रदान गरिएको छ । ५१ करोड ५१ लाख रुपैयाँ बराबरको यस आयोजनाको प्रसारण लाइनको काम पूरा गर्न ३ करोड ७० रुपैयाँ छुट्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>