चितवन विशेष

जीवनको उत्तराद्र्धमा पनि पत्रकारिताबाट नथाकेका पोखरेल

Banner

पूजा ढकाल,

चितवन, मंसिर २७

 ‘आवाज विहीनहरुको अवाज’ तथा समाजको विभिन्न समस्यालाई चिरफर गर्ने पेसा भनेर सबै सर्वसाधारणले पत्रकारिता पेसालाई चिन्ने गर्छन् । कठिन काम नै भएकोले जो कोहीले यस पेसालाई लामो समयसम्म निरन्तरता पनि दिन सक्दैनन् । त्यसमा पनि वृद्ध अवस्थामा गर्न त झनै कठिन छ । नेपाली समाजका विभिन्न घटनाक्रममाथि निगरानी राख्दै विगत ४० वर्षदेखि चितवनमा पत्रकारिता गर्दै आउनुभएका एक उदाहरणीय व्यक्तिको रुपमा मोहन पोखरेल चिरपरिचित हुनुहुन्छ ।

जहाँ इच्छा त्यहाँ उपाय भनेझै उहाँ उमेरले झण्डै सात दशक पुग्न लाग्नुभएको अवस्थामा पनि भरतपुरको कृष्णपुरबाट कालो छड्के झोला भिरेर हिँड्दै हिँड्दै शहरका विभिन्न कार्यक्रममा पुगेर अहिले पनि समाचार लेख्ने गर्नुहुन्छ । कहिलेकाहीँ विभिन्न संघसंस्था र कार्यालयमा विज्ञापनको लागि फोन पनि घुमाउनुहुन्छ । चितवनबाट प्रसारण र प्रसारित हुने विभिन्न समाचार माध्यमका सामग्री सुनेर वा पढेर त्यसमाथि उहाँ विमर्श गर्नुहुन्छ । राम्रो गर्ने युवा पुस्तालाई प्रेरणा दिनेदेखि नराम्रो गर्नेलाई उनी गाली पनि गर्दै उनीहरुलाई सही बाटोमा ल्याउने कोसिस गर्नुहुन्छ ।

नेपाली पत्रकारितासँगै राजनीतिमा पनि विशेष चासो राख्ने पोखरेल विसं २०११ साल वैशाख ३१ गते स्याङ्जा जिल्लाको तत्कालीन किचनास गाउँ पञ्चायत–८ लौसीमा जन्मिनुभएको हो । सेवा निवृत्त भएर घरमा आराम गरेर बस्नुपर्ने उमेरमा पनि चार दशकदेखि पत्रकारितामा सक्रिय पोखरेल अझै थाक्नुभएको छैन ।

पोखरेलको बाल्यकालः

पोखरेलको बाल्यकाल स्याङ्जामा बितेको थियो । अहिलेको शहरका बालबालिकालाई जस्तो सहज उहाँलाई थिएन । समय अनुसार चल्नुपर्ने भएकोले उहाँको बाल्यकाल दुःखमा नै बित्यो । बिहान भैँसीलाई घाँस काटेर खाना खाएर एक घण्टाको ओरालो बाटो जाँगे लगाएर खाली खुट्टा हिँडेरै स्कुल पढ्न जानुपर्ने अवस्था रहेको भन्दै उहाँ विगत सम्झनुहुन्छ । उहाँले भन्नुभयो, ‘हाइस्कुल पढ्दा एकदमै दुःख गरेँ । बिहान सँगसँगै बेलुका पनि घाँस काट्नु पर्दथ्यो र रातको समयमा टुकी बत्ती बालेर पढेको थिएँ ।’

तीन दाजुभाइ र दुई बहिनी रहेको परिवारमा पोखरेल घरको जेठो छोरा भएकोले पनि पोखरेलको सामु धेरै जिम्मेवारीहरु थिए । त्यो समयमा चप्पल लगाउने चलन नभएकोले घाँस दाउरा गर्न वन जङ्गल जानुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । खाली खुट्टा हिँड्दा काँडा बिजेर घाउ हुने काहाली लाग्दो जीवन भोगिएको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, ‘मैले २०२४ सालमा चप्पल लगाएको थिएँ । गाउँकै हाइस्कुलमा कक्षा १० सम्म अध्ययन गर्नुभएका पोखरेलले भन्नुभयो, “पोखराको पृथ्वी नारायण क्याम्पसबाट प्रविणता प्रमाणपत्र तहमा इतिहास र कानुन विषय अध्ययन गरेँ ।’ उहाँले स्कुल बिदाको दिन सबै साथीसँग मिलेर डन्डीबियो, कबड्डी, भलिबल, सातपत्रे खेल्दै घरको विभिन्न काम गरेर दिन बिताउने गर्नुहुन्थ्यो ।

चितवन झर्दाको अनुभवः

बुटवलमा पत्रकारिता गर्दै आउनुभएको पोखरेल विसं २०४९ सालमा मात्रै चितवन झर्नुभएको हो । उहाँले त्यो समयको चितवन र अहिलेको चितवनमा आकाश पातालको फरको पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म पहिलो पटक चितवन आउँदा रामनगर क्षेत्रमा आएको र त्यो समय यस्तो घना बस्ती थिएन घरहरु पनि स–साना टहरा र खरले छाएको माटाले लिपेको मात्रै थिए । रामनगर एकदमै अविकसित थियो ।’
त्यो समय राजमार्ग खुलेता पनि जङ्गल घना भएकोले बाघ, भालुको डर पनि खुब हुने गर्दथ्यो । पोखरेलका अनुसार ४९ सालमा चितवनमा जग्गा दुई हजार ५०० रुपैयाँ प्रति कठ्ठामा पाइने गर्दथ्यो । अहिले पोखरेलले रामनगरको जग्गा बेचेर भरतपुरको कटरचोकमा बसोबास गर्दै आउनुभएको छ ।

पत्रकारिताको सुरुआत:

पोखरेलले आफू बुटवल रहँदा शिक्षक पेसालाई त्यागेर विसं २०३७ सालदेखि बुटवलकै ‘चौतारी’ दैनिक पत्रिकाबाट पत्रकारिता पेसा सुरु गर्नुभएको थियो । त्यस्तै उहाँ विसं २०४९ सालमा चौतारी दैनिक बन्द भएपछि चितवन आएर आफ्नो पत्रकारिता पेसालाई निरन्तरता दिनुभयो ।

चितवनमा रहेर विभिन्न पत्रिकामा काम गर्नुभएका उहाँले स्याङ्जाबाट निस्कने पत्रिका ‘समय’ साप्ताहिक, पोखराबाट दैनिक निस्कने ‘अवलोकन’ पत्रिका, काठमाडौँको योगान्तर साप्ताहिक, बुटवलको ‘दैनिक चौतारी’, दैनिक जनसङ्घर्ष , दैनिक लुम्बिनी, मेचिकाली र एक्सरे साप्ताहिक, चितवनको पारदर्शी साप्ताहिक, पारदर्शी दैनिक, नारायणी साप्ताहिक, नारायणी खबर पत्रिकामा पत्रकारिता गर्नुभएका उहाँ अहिले पनि चितवनको सञ्चारपत्र दैनिकबाट आफ्नो पत्रकारिता पेसालाई निरन्तरता दिइरहनुभएको छ । उहाँको परिवारमा उहाँ मात्र नभएर छोरा हरिप्रसाद पाखरेल पनि पत्रकारिता पेसामा नै सक्रिय हुनुहुन्छ । छोरा पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

पोखरेलले चितवनको पारदर्शी साप्ताहिकमा उपसम्पादक, नारायणी साप्ताहिक, नारायणी खबर पत्रिकामा कार्यकारी सम्पादक र हाल काठमाडौँबाट प्रकाशित भइरहेको जनआकाश साप्ताहिक तथा जनआकाश अनलाइनमा चितवनबाट विशेष संवाददाताको रुपमा काम गरिरहनुभएको छ भने काठमाडौँबाट प्रकाशित भएको ‘प्रमोटर’ रङ्गिन मासिक पत्रिकामा सहसम्पादकको काम गर्दै आउनुभएको छ । यतिखेर चितवनबाट प्रकाशित हुने सञ्चारपत्र दैनिक पत्रिकासँग र सम्बन्धित नारायाणी अनलाइलमा आवद्ध रनुभएको छ ।

पत्रकारितामा लाग्ने प्रेरणाः

विसं २०३७ सालको जनमत सङ्ग्रहपछि आफूलाई नेपालको राजनीतिप्रति निकै चासो बढेकोले शिक्षण पेसालाई त्यागेर पोखरेलले पूर्णरुपमा पत्रकारिता पेसालाई अँगाल्नुभएको थियो । त्यस्तै जनमतसङ्ग्रहको समयमा विपी कोइराला चितवन आउनुभएको थियो । तत्कालीन समयमा आफ्नो प्रेरणाको स्रोतको रुपमा कोइरालालाई उहाँले ‘चितवन’ भन्ने निलो बुक्लेट पत्रिकाको माध्यमबाट चिन्नुभएको थियो ।
पोखरेल भन्नुहुन्छ, ‘कोइराला मेरो जीवनको पत्रकारिता क्षेत्रको प्रमुख प्रेरणादायी व्यक्ति हुनुहुन्छ, मैले आफ्ने पत्रकारिता क्षेत्रको सुरुआती चरणमा उहाँसँग अन्तरवार्ता लिएको थिएँ ।’ कोइरालासँग अन्तरवार्ता लिँदा विभिन्न प्रश्नको दौरानमा कोइरालाको उत्तर ननिस्किँदै पोखरेलले हतारमा अर्काे प्रश्न गरेको सुनेपछि कोइरालाले तिमी पत्रकार बन भनेको पोखरेल सुनाउनुहुन्छ । त्यही भनाइले जीवनमा आफूलाई पत्रकारिता गर्ने प्रेरणा मिलेको पोखरेलको अनुभव छ । वीपी कोइरालाको शान्त नआत्तिने स्वभाव, निडरपन र उनको हैसलाले पत्रकारिता गर्ने झनै हैसला मिलेको पोखरेल बताउनुहुन्छ ।

पत्रकारिता क्षेत्रमा देखेको परिवर्तनः

हिजो हातले लेख्दै लेटर प्रेसको युगबाट पत्रकरिता गर्नुभएका पोखरेलले अहिले वेभ प्रेसबाट चल्ने रङ्गिन पत्रकारिताको अनुभव गरिरहनुभएको छ । हिजो विपीको युगको मिसन पत्रकारितादेखि आजका पत्रकारिता क्षेत्रमा लागेका किशोरकिशोरीसँग पनि घुलमिल हुँदै पोखरेल पत्रकारितामा रमाइरहनुभएको देखिन्छ । पोखरेलले अहिलेको अनलाइन पत्रकारिताले यस क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताउनुहुन्छ । कलम र डायरी बोकेर हस्तलेखनबाट पत्रकारिता सुरु गर्नुभएका पोखरेलका अनुसार इन्टरनेटको विकासले आजको सञ्चार माध्यमलाई सहज बनाएको छ ।

पोखरेल भन्नुहुन्छ, ‘पहिलो यस्तै इन्टरनेटको जमना थिएन एउटा सूचना पु¥याउन पनि निकै कठिन हुन्थ्यो, हामीले चितवनमा बसेर लेखेका आर्टिकल अन्य क्षेत्रमा पठाउनु पर्दा फ्याक्सको प्रयोग गर्नुपथ्र्यो । उहाँका अनुसार चिठी पत्र आदानप्रदानमा ढिलाइ हुने र इमेलको जमना नभएको त्यो समय पत्रकारिता पेसा गर्न एकदमै कठिन थियो ।

उहाँ भन्नुहुन्छ, ‘मेरो पालामा यस्तो प्रविधिको विकास हुन्थ्यो भने मैले अझै फूर्तीका साथ पत्रकारित गर्न पाउँथे, मलाई आनन्द मिल्ने थियो ।’ त्यस्तै अहिले इन्टरनेट, प्रविधिको विकासले सूचनासँगै पत्रकारिता जगतलाई सोभा दिएको उहाँ बताउनुहुन्छ ।

पत्रकारिता क्षेत्र आज एकदमै जोखिम र कठिन पेसा भएकोले जो कोहीलाई जीवनमा पत्रकारिता गर्ने आँट, हिम्मत नआउने पोखरेलको अनुभव छ । पोखरेलको अनुभवमा पहिलेको तुलनामा नेपालको कला, संस्कृति, पहिरन र चाडपर्वमा निकै परिर्वतन आएको छ । त्यस्तै सूचना प्रविधिको सही प्रयोग गर्न नजाने देशमा अपराधिक क्रियाकलाप बढ्ने भएकोले यसको सही प्रयोग गर्न पोखरेलले सम्पूर्णमा अनुरोध गर्नुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>