Breaking News

पूजापाठ नहुने चितवनका पुरातात्विक सम्पदाको संरक्षणमा चुनौती, सरोकारवाला चिन्तित

  • Logo
    app haru
  • १८ मंसिर २०७८, शनिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर १८ –
पूजापाठ हराउँदै गएपछि चितवनका पुरातात्विक सम्पदाको संरक्षणमा चुनौती थपिँदै गएको पुरातत्व विभागले जनाएको छ ।

पुरातत्व विभागका प्रवक्ता एवम् पुरातत्व विज्ञ रामबहादुर कुँवरले पूजापाठ हुन छाडेका सम्पदाहरुको संरक्षणमा चुनौती थपिँदै गएको बताए ।

श्री वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरीनाथ आश्रम तथा गौ संरक्षण केन्द्र चितवनले आफ्नो स्थापनाको रजत वर्षको अवसरमा आज शनिबार यहाँ अयोजना गरेको विचार गोष्ठीको दोश्रो सत्रमा बोल्दै कुँवरले सो कुरा बताएका हुन् ।

कुँवरले चितवन, नवलपुर र तनहुँमा रहेका पुरातत्विक सम्पदाहरुको बारेमा गरिएको अध्ययनबारे जानकारी गराउँदै यस क्षेत्रमा १६ औं शताब्दिसम्मका पुरातात्विक सम्पदाहरु फेला परेको बताए । उनले यस क्षेत्रका सम्पदाका बारेमा हुनुपर्ने जति अध्ययन नभएको भए पनि सामान्य अध्ययन भने गरिएको बताए ।

उनले यस क्षेत्रमा पुरातत्विक सम्पदाहरुको संरक्षण र विकास गरी सांस्कृतिक पर्यटनको विकास गर्न सकिने संभावना रहेको बताए । उनले चितवनका कतिपय सम्पदाहरु नास हुने अवस्थामा पुगेको बताएका छन् । सम्पदास्थलमा सरसफाइको अभाव रहेको उनले बताए । ‘पूजापरम्परा गर्न छाडिएका सम्पदाहरुको संरक्षणमा चुनौती थपिँदै गएको छ’ उनले भने, ‘पूजापाठ भएका स्थानहरुमा भने सरसफाइ र संरक्षण भएको पाइएको छ ।’

उनले बागीश्वरीलाई समेट्दै चितवनमा सांस्कृति र धार्मिक पर्यटनको विकास गर्नुपर्ने बताए । वागीश्वरी एक पुरातत्विक सम्पदा भएको बताउँदै उनले वागीश्वरीको संरक्षण र विकास अझै गर्न आवश्यक रहेको बताए ।

गोष्ठीको पहिलो सत्र तथा उद्घाटन सत्रमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले वागीश्वरी जस्ता आध्यात्मिक परिसरहरुको संरक्षण र विकास हुन आवश्यक रहेको बताइन् । उनले वागीश्वरीको विकासका लागि प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको उनको भनाइ छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले योगी नरहरी नाथ र वागीश्वरीलाई सरकारले त्यति प्राथमिकतामा नाराखेको भन्दै दुखः व्यक्त गरे । नेपाल जोगीले नै धानेको देश भएको बताउँदै उनले जोगीको सम्मान गर्न आवश्यक रहेको धारणा राखे ।

योगी नरहरीनाथले राखेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उनले सबै आआफ्नो मर्यादामा बसेमात्र उहाँप्रति सच्चा स्मरण र श्रद्धा हुने बताए ।

गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ दिनेशराज पन्त, पूर्व प्रशासक एवम् लेखक सूर्यबहादुर सेन, पुरातत्विक सम्पदाका अध्यता डिआर पोखरेल, बागेश्वरी प्राकृतिक चिकित्सालयका प्रमुख डा. हेमराज कोइराला लगायतले आआफ्नो आफ्नो धारणा राखेका थिए ।

देवघाटको नजिक रहेको वागीश्वरीलाई देवघाट र वागीश्वरीको विकास एउटै गतिमा गर्नुपर्ने वक्ताहरुको भनाइ थियो । वागीश्वरीको महत्वलाई बुझाउँदै यसको प्रचारप्रसारमा सबै लाग्नुपर्ने वक्ताहरुको धारणा थियो । पूजापाठ हराउँदै जाँदा सम्पदाको संरक्षणमा चुनौती थपिनु चिन्ता विषय भएको बताउँदै वक्ताहरुले स्थानीय तहले सम्पदाको संरक्षणमा विशेष भूमिका खेल्नुपर्ने र स्थानीय जनताहरुले आफ्नो मर्यादा र परम्पारलाई संरक्षण गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

रमाकान्त सापकोटाले सञ्चालन गरेको कार्यक्रम परिषद्का अध्यक्ष शैलेन्द्र पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>