Breaking News

ट्राफिक व्यवस्थापन हुन नसक्दा अस्तव्यस्त बन्यो नारायणगढ : रुटमा चल्दैनन् सवारी, जहाँ पायो त्यहीँ पार्किङ्ग

  • Logo
    app haru
  • १७ मंसिर २०७८, शुक्रबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, मंसिर १७ –
सवारी चापका कारण नारायणगढ बजार क्षेत्र अस्तव्यस्त बनेको छ । राजमार्गमा गुड्न प्रतिबन्ध लगाइएको अटोहरु धमाधम गुडरहेका छन् । अटो चालकहरु न ट्राफिक प्रहरीलाई टेर्छन् न भरतपुर महानगरको नियमलाई पालना गर्छन् । ट्राफिकप्रहरीहरु अटो चलेको हेरेर बसिरहन्छन् । न रोक्न सक्छन् न कारबाही गर्न ।

यस्तै म्याजिकहरुको चाँपले गर्दा पनि सडक अस्तव्यस्त बनेको छ । जहाँ पायो त्यहीँ रोक्ने, सडकमै रोकेर यात्रु चढाउने र झार्ने गर्छन् म्याजिक चालकहरु । भरतपुरमा अटो र म्याजिकको होडबाजी नै चल्ने गरेको छ । त्यतिमात्र होइन  म्याजिकम्याजिक र अटोअटो बीचको पनि होडबाजीले गर्दा आफ्नो रुटअनुसार कुनै पनि सवारी साधन चलेको पाइँदैन ।

तीव्र विकासको क्रममा रहेका भरतपुरमा निजी सवारी साधनहरुको पनि चाँप दिनानुदिन बढ्दो छ । निजी सवारी साधनहरु मोटरसाइकलको चाँप ह्वात्तै बढ्दा र सार्वजनिक सवारी साधन (अटो/म्याजिक) जथाभावी चल्दा नारायणगढ बजारको ट्राफिक व्यवस्थापन फितलो छ ।

पुल्चोकदेखि केन्द्रीय बसपार्कसम्म चोकचोकमा सवारीको जाम लाग्ने गर्छ । बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ५ः३० सम्म यो सडक क्षेत्रमा अत्याधिक भिड हुने गर्दछ ।

यस्तै चौबिसकोठीमा पश्चिम चितवनतर्फ जाने बस, म्याजिक र अटोको भिडले सडक अस्तव्यस्त छ । पैदल यात्री पनि सहजै हिँड्न सक्ने अवस्था छैन । त्यहाँ सडकलाई नै बसपार्क जस्तै बनाउँदा समस्या उत्पन्न भएको देखिन्छ । भरतपुरको केन्द्रीय बसपार्क भने खाली छ । तर सवारीहरु सडकमै पार्किङ्ग गरिएका हुन्छन् ।

पुल्चोकको अवस्था पनि त्यस्तै छ । पश्चिम जाने सार्वजनिक सवारी साधनले व्यस्त सडकबाटै यात्रु हाल्ने र सडकमै गाडी रोकेर यात्रु झार्ने गर्छन् । पोखरा र काठमाडौँ तर्फ जाने सार्वजनिक सवारी साधन पनि एकछिन् पुल्चोकमा रोकिएर जाम गराइरहेका हुन्छन् । गाडीबाट झरेका यात्रु चढाउन म्याजिक र अटोहरु होडबाजी गर्दै त्यही पुग्छन् र जाम गराउँछन् । सडकमा खटिएका दुईचार जना प्रहरी सवारी रोक्न र पास गराउँनमा व्यस्त देखिन्छन् । ट्राफिक लाइट नहुँदा नरायणगढमा ट्राफिक प्रहरीहरु आफै ट्राफिक लाइट बनेर बसिरहेका हुन्छन् ।

बजार क्षेत्र शहीदचोकमा मोटरसाइकलको मेला लागे जस्तै देखिन्छ । साँघुरो सडकमा मोटरसाइकलको मात्र पार्किङ्ग देखिन्छ ।

ट्राफिक नियमानुसार फुटपाथमा जथाभावी कार, बाइकलगायतका सवारीसाधन पार्किङ गर्न पाइँदैन । नारायणगढको लायन्सचोकदेखि पुलचोकसम्मको सडकका लागि भने फुटपाथमा भएका चौतारा र रुखभन्दा भित्र मोटरसाइकलमात्र पार्किङ् गर्न पाइने नियम बनाइएको छ । ट्याक्सीका लागि निश्चित स्थानमा निश्चित संख्यामा राख्न पाउने गरी स्टाण्ड बनाइएको छ ।

तर नारायणगढ बजारमा यो कुनै पनि नियम पालना गरिएको देखिँदैन । नियमहरु पढ्दा नारायणगढ बजार साँच्चै सुन्दर र व्यवस्थित हुने कल्पना गर्न सकिन्छ । तर, अहिले नारायणगढमा दुई चक्के सवारी जथाभावीरुपमा नालासम्मै पार्किङ गरेको देखिन्छ । पार्किङ गर्ने नपाइने भनिएको कार पनि पार्किङ् गरेको देखिन्छ ।

व्यवस्थित र पर्याप्त पार्किङ्ग स्थल बनाउने भनेर भरतपुर महानगरले विगतदेखि नै भन्दै आएको भए पनि काम सुरु हुन सकेको छैन । बजारका केही भित्रि क्षेत्रमा रहेको खुला जग्गामा कार पार्किङ्ग भनेर छुट्याइएको भए पनि त्यहाँसम्म कार पार्किङ्ग गर्न जान सक्दैनन् कारवालाहरु ।

ट्राफिक कार्यालय भन्छ,– हाम्रो एकल प्रयासलेमात्र सकिएन

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्सपेक्टर) भगवान नाथ थापाले ट्राफिक प्रहरीको एकल प्रयासले भरतपुरमा ट्राफिक व्यवस्थापन गर्न नसकिएको बताए । ट्राफिक व्यवस्थापन गर्न भरतपुर महानगर र यातायात व्यावसायी दुबैको उत्तिकै भूमिका रहने बताउँदै उनले आफूहरुले सकेको जति गरिरहेको बताए ।

आफ्नो रुटमा सवारी नचलाएर सबै म्याजिक अटो राजमार्गमै आएर थुपिँ्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको उनले बताए ।

‘आफ्नो रुटमा नहिँडी मनपरी सवारी चलाउँछन् । ट्राफिकले कति दिन सम्झ्याउने ? कतिलाई समात्ने ?’ उनले भने, ‘अटो र म्याजिकले तोकिएको रुटमा आँफै चलाउने हो नी । सवारी चालकहरु आफ्नो जिम्मेवारबाट पन्छिएर होडबाजीमा लागेको देखिन्छ ।’

अटेर गरेर राजमार्गमा अटो गुडिरहेका भए पनि आफूहरुले जनशक्तिको अभावका कारण नियन्त्रण गर्न नसकेको उनले बताए । ‘सँधै अटोको पछि लाग्न जनशक्ति पुगेन’ उनले भने ।
महानगरमा कति सवारी साधन अट्न सक्छन् भन्ने अध्ययन नै नगरी सार्वजनिक सवारी भित्र्याउँदा अहिले समस्या देखिन थालेको उनले बताए । ‘जनघनत्व र सडकको क्षमताका आधारमा सार्वजनिक सवारी साधन भित्र्याउनुपर्नेमा त्यो नगरेको देखियो’ उनले भने ।

अब भरतपुरका सडकमा म्याजिक र अटोको सवारी दर्ता रोक्नुपर्ने उनको सुझाव छ । ‘कुन सडकमा कति सवारी राख्दा ठिक हुन्छ भन्ने अध्ययन बिना हचुवाको भरमा दिइएको देखियो । जसले गर्दा अहिले ट्राफिक जाम भइरहेको छ ।

अटो र म्याजिकले बजारको सुन्दरता कायम गर्र्दै प्रदुषण मुक्त बनाउँदै व्यावसाय गरौं भन्ने तिर हैन सकेसम्म पैसा कमाउँ भन्ने तिर लागेको देखिन्छ । ट्राफिक नियमको पालना सबैले आफै बुभेर पालना गर्न जरुरी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>