Breaking News

निजी कम्पनीको नेट अवरुद्ध भएपछि चितवनमा टेलिकमको नेट जोड्ने बढे, एकदिनमा ८ लाख संकलन

  • Logo
    app haru
  • १८ आश्विन २०७८, सोमबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज १८ –
चितवनमा नेपाल टेलिकमको फाइबर इन्टरनेट (एफटिटिएच) जोड्न खोज्नेको संख्या ह्वात्तै बढेको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुर चितवनका प्रमुख नविनकुमार मिश्रले पछिल्लो दुई दिनमा टेलिकमको इन्टरनेट जोड्न भन्दै धेरैको फोन आएको बताए । उनले कार्यायलमै आएर इन्टरनेट माग गर्नेको संख्या पनि बढेको जानकारी दिए ।

शनिबार पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीका तार सांकेतिक रुपमा नेपाल विद्युत प्राधिकरणले काटेको थियो । त्यसलगत्तै निजी इन्टरनेट कम्पनीहरुको साझा सँस्था आइएसपिएनले देशभर नै नेट डाउन गराएको थियो ।

शनिबार र आइतबार एनसिएलबाहेकका निजी कम्पनीका इन्टरनेट अवरुद्ध थियो । एनसेल र टेलिकमको मात्र नेट चलेको थियो । जसले गर्दा टेलिकमको नेट नजोडेका सरकारी कार्यालयदेखि बैंक तथा वित्तीय संस्थाका काम प्रभावित बनेका थिए । आइएसपिएन र सरोकारवाला संस्थाबीचको सहमतिपश्चात आइतबार साँझबाट इन्टरनेट पुनः सञ्चालन गरिएको छ ।

हिजो आइतबार राष्ट्रिय वाणिज्य बैंक भरतपुरमात्र बैंकिङ्ग सेवा सुचारु थियो । अन्य बैंकमा इन्टरनेट थिएन । नेपाल टेलिकमको इन्टरनेट वाणिज्य बैंकमा मात्र रहेको मिश्रले बताए । तर दुई दिन निजी कम्पनीले नेट डाउन गराएपछि निजीसँग असन्तुष्ट हुँदै हाल अधिकांश बैंक, संघसंस्था तथा सर्वसाधारणहरुले टेलिकमको नेट जोडिदिन माग गरेको उनको भनाइ छ ।

उनका अनुसार नेपाल टेलिकमको अहिले नयाँ आएको फाइबर नेट अरु कम्पनीको भन्दा सस्तो र राम्रो छ । कनेक्ट सर्भर काठामाडौं र हेटौंडामा राखिएकाले पनि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवामार्फत गुगल, युट्युब र फेसबुक फास्ट चल्ने उनको भनाइ छ ।

अर्काे वर्षसम्म पूरानो प्रविधि (एडिएसल) लाई पूर्णरुपमा विस्थापित गरी नयाँ प्रविधि जडान गर्ने गरी काम भइरहेको मिश्रले बताए । एडिएसललाई नवीकरण नगरी अर्काे नेट जोडेका अधिकांश ग्राहकले हिजो पुनः नवीकरण गरेको मिश्रले बताए । हिजोमात्र एडिएसल नवीकरणबाट साढे आठ लाख रुपैयाँ संकलन गरिएको छ । फाइबर नेट नपुगेका ठाउँमा एडिएसल रहेको छ ।

‘टेलिकमको फाइबर इन्टरनेटको माग पहिल्यै देखि बढेको हो । निजी कम्पनीहरुको भन्दा सस्तो र राम्रो छ । यसकारण ग्राहकहरु आकर्षित छन्’ उनले भने, ‘अहिले झन् बढेका छन् । हामीले सेवा पुगेका स्थानमा जोडिदिएका छौं ।’ फाइबर नेट चितवनका मुख्यमुख्य बजारमा मात्र पुगेको छ । जिल्ला भर पु¥याउन तीब्ररुपमा काम भइरहेको मिश्रले बताए ।

चितवनमा हालसम्म करिब ११ हजार ग्राहकले टेलिकमको फाइबर इन्टरनेट जडान गरिसकेको मिश्रले बताए ।

टेलिकमले इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गर्ने गरेको छ । इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको छ ।

मिश्रका अनुसार टेलिकमले घरायसी प्रयोजनको लागि फाइबर इन्टरनेट ८ एमबीपीएस देखि ६० एमबीपीएससम्म उपलब्ध गराउँदै आएको छ । त्यसको शुल्क मासिक ८ सयदेखि १८ सयसम्म रहेको छ । त्यसबाहेक व्यावसायिक प्रयोजनका लागि पनि छुट्टै एमबीपीएस र दररेटको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>