Breaking News

अन्योलमा चितवन लोथरसम्मको पेट्रोलियम पाइपलाइनः फाइल छ महिनादेखि मन्त्रिपरिषदमा

Banner

चितवन,भदौं ८-

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो तर हालसम्म पनि थप काम अघि बढ्न सकेको छैन ।

मन्त्रालयले भने छ महिनाअघि नै निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको तर त्यहाँबाट केही निर्णय नभएको जनाएको छ । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले भन्नुभयो “मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो स्वीकृत भएको छैन, स्वीकृति भएपछि काम अघि बढ्छ । ”

मन्त्रालयको नेतृत्व गर्ने बेग्लै मन्त्री नियुक्त नहुँदा अहिले निर्णय गर्न समस्या भएको अनुमान गरिएको छ । उहाँले नेपाल र भारतबीच सरकारी स्तरमा काम हुने जानकारी दिँदै अब विभागीय मन्त्री आएपछि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय महत्वको योजना भए पनि यसअघिको मन्त्रिपरिषद्ले प्राथमिकता नदिँदा काममा ढिलाइ भएको हो । पाइपलाइन निर्माण र भण्डारणको डिटेल इन्जिनियरिङ सर्भे र डिजाइन तयार भएको निगमले जनाएको छ ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सो सर्भे सम्पन्न गरेको थियो । सर्भेपछि परियोजनाको प्रारम्भिक चरण सम्पन्न भएको निगमको दाबी थियो तर पछिल्लो चरणमा काम अघि बढ्न सकेको छैन । पेट्रोलियम पाइप लाइनका आयोजनाको निर्माण प्रक्रिया अघि बढ्ने क्रममा रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

निगमका अनुसार चारआलीमा निर्माण हुने पेट्रोलियम पदार्थको भण्डारको लेआउट तयार भएको छ । पाइप लाइनको सर्भे सम्पन्न गरी डीपीआर तयार हुने चरणमा पुगेको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालन भएको पेट्रोलियम पाइप लाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न सर्भे भएको हो । ६५ किलोमिटरको सो पाइपलाइन विस्तारका लाग सरकारले आर्थिक वर्ष ०७७/७८ को वार्षिक बजेटमा बजेट विनियोजन गरेको थियो । चितवनको लोथरसम्म विस्तार गर्न नेपाल र भारतबीच समझदारी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>