Breaking News

एक करोडको लगानीमा चितवनमा ड्रागन खेती : सुरुवातमै दियो अपेक्षाभन्दा बढी आम्दानी

  • Logo
    app haru
  • १५ श्रावण २०७८, शुक्रबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन १५
चितवन कृषिको संभावनै संभावना बोकेको जिल्ला हो । यहाँ विभिन्न किसिमका खेती हुने गर्दछन् । यहाँ नयाँनयाँ खेतीको परीक्षण खेती पनि हुने गरेका छन् । अधिकांश खेतीहरुको सफल उत्पादन भइरहेको छ ।

यस्तैमा चितवनमा ड्रागन खेतीको पनि राम्रो उत्पादन भएको छ । गंगाश्री बहुउद्देश्यीय कृषि फर्मले भरतपुर महानगरपालिका– २६ दिव्यनगरमा गरेको ड्रागन फल खेती तथा नर्सरीमा राम्रो उत्पादन भएको हो ।

फर्मका सञ्चालक ताइबहादुर गुरुङ्ले अपेक्षा गरिएभन्दा राम्रो उत्पादन भएको बताए । ‘यो हाम्रो उत्पादनको पहिलो वर्ष हो । पहिलो सिजनमा हाम्रो अपेक्षा ५० प्रतिशत बोटमा फल्ने थियो । तर ७०/८० प्रतिशत बोटमा फल फल्योे, उनले भने, ‘यस्तै एउटा बोटबाट अपेक्षाभन्दा बढी फल फलिरहेको छ ।’

उनले तीन विघामा ड्रागन खेती गरेका छन् । हाल दैनिक २० देखि २५ केजी ड्रागन बेचिरहेको बताउँदै उनले स्थानीय बजारमा नै बिक्री भइरहेको जनाए । उनले हाल बारीबाट ५०० रुपैयाँ केजीमा ड्रागन बेचिरहेका छन् । बजारमा ड्रागन फ्रुट ६ सय देखि एक हजारसम्ममा बिक्री हुने गरेको छ ।

तीन विघामा ५०० बिरुवा ड्रागन रहेको बताउँदै उनले २ बिघामा अहिले फल फलिरहेको जनाए । एकएक विघा गरी तीन पटकमा ड्रागन रोपिएकाले सबैमा एकै पटक नफलेको हो ।

उनका अनुसार फर्ममा १२ जना स्थानीयले दैनिक रोजगारी पाइरहेका छन् । दाई र आफू मिलेर फर्म सञ्चालन गरिरहेको बताउँदै उनले अन्य परिवार विदेशमा रहेको बताए । जपान र सिंगापुर बसाइ छाडेर स्वदेशमा केही गर्नुपर्छ भनेर दाजुभाइ ड्रागन खेतीमा लगेको गुरुङले बताए ।

आफ्नै जग्गामा खेती गरेका उनले हालसम्म ड्रागन खेतीमा १ करोड २० लाख रुपैयाँ लगानी लागेको बताए । बिरुवा लगाउने बेलामा कसरी लगाइन्छ भन्ने कुराले लगानीलाई फरक पार्ने उनको भनाइ छ । पहिलो सिजनबाटै राम्रो उत्पादन भएकाले २÷३ वर्षमै लगानी सजिलै उठ्ने गुरुङ्को विश्वास छ ।

ड्रागन फ्रुट स्वास्थ्यका लागि अति नै फाइदाजनक हुने थाहा पाएपछि नेपालमा पनि यो खेती लगाउनु पर्छ भन्ने संदेश दिन पनि आफूले यसको खेती गरेको उनले बताए । विदेशिने युवाहरुले यसको खेती गर्न सके विदेशको भन्दा धेरै कमाइ गर्न सक्ने उनको दाबी छ ।

के हो ड्रागन ?
ड्रागन सिउँडी प्रजातीको वनस्पति हो । यसको फल बाहिर र भित्र रातो हुने, बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पहेंलो र भित्र सेतो हुने गरी तीन प्रकारको हुन्छ । गुरुङ्ले दुई थरीको बिरुवा लगाएका छन् । एउटा ड्रागन फ्रुटको फल १०० ग्रामदेखि १ किलोसम्म हुने गर्दछ ।
एक पटक बिरुवा लगाएपछि ड्रागनको बोटले २५ वर्षसम्म उत्पादन दिइरहन्छ ।

नेपालको हावापानीमा जेठको पहिलो हप्तादेखि ड्रागन फल्न फूल्न सुरु हुन्छ । त्यसपछि ७/८ महिनासम्म निरन्तर फूल फुल्ने र फल फल्ने क्रम चलिरहन्छ । यसको फूललाई रातकी रानी पनि भनिन्छ । फूल रातमा फूल्छ । फूल ओइलिएको तीसदेखि ३५ दिनमा फल खान तयार हुन्छ । एउटा खम्बाबाट एक वर्षमा ५० केजी ड्रागन फल्छ । कम्तिममा पनि ३० केजी अनिवार्य फल्ने गुरुङले बताए ।

यो फल स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ । यो फलमा धेरै प्रकारका भिटामिन र खनिज तत्वहरु पाइन्छ । यो फल नियमित खाने मान्छेमा मुटु रोग, क्यान्सर, सुगर, ग्याष्ट्रिक, कब्जियत, कोलेस्ट्रोललगायतका रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढ्ने अध्ययनले जनाएको गुरुङ्ले बताए ।

यसको फललाई इनर्जी ड्रिंक, वाइन, ब्रान्डी, उच्चस्तरीय आइसक्रिम, शरीरमा लगाउने क्रिमलगायतका कुराहरु बनाउन पनि प्रयोग गरिन्छ । ड्रागनको फूलको पत्ता सुकेपछि यसबाट विशेष प्रकारको चियापत्ती बनाउन सकिन्छ ।

यसरी गरिन्छ ड्रागन फ्रुटको व्यावसायिक खेती
गुरुङ्का अनुसार ड्रागनको बिरुवा लगाउनु भन्दा पहिला ड्याङ बनाएर ६ फिट अग्लो खम्बा गाड्नुपर्छ । आफूले ४÷४ को ७ फिट लामो खम्बालाई ५ फिट अग्लो हुने गरी दुई फिट गाडेको गुरुङले बताए ।

खम्बामा अडाएर ड्रागनको बिरुवा रोप्नुपर्छ । एक खम्बादेखि अर्काे खम्बासम्मको दुरी ६ फिट हुनुपर्छ । ड्याङ्हरुबीचको दुरी १०.५ फिटको हुनुपर्छ ।

बिरुवा ठूलो हुँदै गएपछि खम्बाको माथि हुने रडलाई बङ्ग्याएर त्यसमाथि टायर राख्नुपर्छ । ड्रागनको बोट त्यही टायरमा लत्रिएर फुल्न, फल्न थाल्छ । गुरुङले मोटरसाइकलको टायर प्रयोग गरेका छन् ।

गुरुङ्काअनुसार यस खेतीको लागि पानी जम्न दिनुहुँदैन । त्यसैले खम्बा गाडेको ठाउँमा केही उँचो बनाएर बिरुवा रोप्नुपर्छ । आफूले हप्तामा एक पटक डिप बोरिङबाट पानी तानेर थोपा सिंचाइमार्फत बिरुवामा पानी हाल्ने गरेको गुरुङ बताउँछन् ।
यस खेतीको बीचमा रहेको खालीभागमा अरु खेती पनि गर्न सकिन्छ । गुरुङ्ले खाली भागमा आँप लगायतका फलफूलका बिरुवा लगाएका छन् ।

बायो प्रोडक्टमा जाने योजना :
गुरुङ्ले ड्रागन खेती गर्ने किसानको एउटा छाता संगठन खोल्न लागिएको बताए । त्यसपछि बायो प्रोडक्टमा जाने । बायो प्रोडक्टमा गएपछि सबै फललाई क्याटोराइज गर्ने र राम्रो गुणस्तरको बेच्ने, विदेश पठाउने, फाइभ स्टार होटलमा पठाउने उनले बताए । बाँकी केही ड्यामेज भएको, पूरानो भएकोलाई बायो प्रोडक्ट गर्ने योजना रहेको उनले सुनाए । बायो प्रोडक्ट गरेर वाइन बनाउने, जुस बनाउने, आइसक्रिम बनाउने, महिलाहरुले लगाउने कस्मेटिक आइटमलगायतका सामग्री बनाइने उनले बताए ।

भविष्यमा धेरै ड्रागन खेती गर्न थालेपछि उत्पादित ड्रागन फ्रुट सहजै खपत होस र खेर नजाओस भनेर यो योजना बनाइएको उनको भनाइ छ ।

६५ हजार बिरुवा बिक्री :
अहिले चितवनमा ड्रागन खेतीको ठूलो फार्म यही हो । हालसम्म करिब ६५ हजारभन्दा बढी बिरुवा चितवनमा बिक्री गरिसकेको गुरुङ्ले बताए । फल टिपेपछि हाँगा काट्ने र एक बित्ताको साइजमा काटेर त्यसलाई नर्सरीमा लगाएर बिरुवा उत्पादन गरिन्छ ।

आफूहरुले बेचेको सबै बिरुवा राम्ररी हुर्किरहेको बताउँदै गुरुङ्ले कतिपय ठाउँमा फल्न थालिसकेको बताए । हामीले चितवनमा मात्रै नभएर बागलुङ्ग, गोरखा, लमजुङ, दैलेख, हेटौंडा, रजहरमा पनि बिरुवा पु¥याइएको उनको भनाइ छ ।

उनका अनुसार विद्यालयबाट कृषि अध्ययन गरेका विद्यार्थीहरु अवालेकनका लागि ड्रागन खेतीमा आउँछन् । सरकारी कर्मचारी पनि अध्ययनका लागि आउँछन् ।

कृषि ज्ञान केन्द्र चितवनले आफूहरुलाई आर्थिक तथा प्राविधिकरुपमा धेरै सहयोग गरिरहेको गुरुङ्ले बताए । खेती गर्ने तरिका सिकाउनुका साथै अनुदान दिइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>