Breaking News

पढ्न गोरखाबाट चितवन झरेका घिमिरे करोडौंको मालिक, अमेरिकामासमेत व्यवसाय गर्ने योजना

Banner

आनन्द पोखरेल

चितवन, साउन १३-

गोरखाबाट पढ्नका लागि चितवन झरेका आनन्द घिमिरे अहिले २५ करोड रुपैयाँ भन्दा बढीको मालिक बनेका छन् । गोरखाको पालुङटार–२ मा जन्मिएका घिमिरे उच्च शिक्षा अध्ययनका लागि भन्दै विसं २०५० मा मधेस झरेका थिए । पाँच दाजुभाइ र तीन दिदीबहिनी भएका घिमिरे २०३२ भदौ ५ गते जन्मिएका थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पढेको गोरखाको अमरज्योति माध्यमिक विद्यालय लुईँटेलबाट प्रवेशिका उत्तीर्ण गरी घिमिरे २०५० मा मधेस चितवन झरेका हुन् । अध्ययनका लागि उनी चितवनको नारायणगढस्थित बालकुमारी कलेजमा व्यवस्थापन संकायमा भर्ना भए ।

यसरी अध्ययनकै लागि चितवन आएका घिमिरे आज करोडपति बनेका छन् । उनका जीवनमा धेरै उतारचढाब आए । जीवनमा उनले विभिन्न पेसा परिवर्तन गर्दै अहिले घरजग्गा कारोबार गर्दै आएका छन् । चितवन आएर अध्ययन सुरु गरेसँगै उनले व्यवस्थापन संकाय र स्वास्थ्य शिक्षातर्फ सीएमए अध्ययन गरेका थिए । घिमिरे अहिले चितवन तथा नवलपुरमा कहलिएका घरजग्गा व्यवसायी हुन् । उनको आफ्नै आनन्द प्रोपटी डिलर्स प्रालि रहेको छ । भरतपुर–१२ मा रहेको कार्यालयबाटै उनले घरजग्गा किनबेचको काम गर्दै आइरहेका छन् । उनी भरतपुर–१२ का स्थानीय बासिन्दा हुन् भने अहिले उनीसँग भरतपुर महानगरपालिकाभित्र करिब तीन बिघा जमिन रहेको छ । घिमिरेले चितवन, नवलपुर तथा काठमाडौँसमेत घरजग्गाको कारोबार गर्दै आएका छन् ।

घिमिरेको सङ्घर्ष

चितवनको बालकुमारी कलेजमा भर्ना भएका घिमिरे केही वर्षसम्म नवलपुरको दलदलेमा बस्दै आए । चार÷पाँच वर्षको दलदले बसाइँपछि उनी चितवनतर्फ आएको बताउँछन् । उनले चितवन आएपछि औषधि पसल, प्रोभिजन स्टोर्स सञ्चालन, घरजग्गा व्यवसाय, निर्माण व्यवसायमा समेत आफूलाई परीक्षण गर्ने काम गरे । घिमिरेलाई सबै व्यवसायमा एकपछि अर्को सफलता मिल्दै गयो । तर, उनले सबै पेसाबाट आफूलाई विस्तारै बाहिर धकेल्दै घरजग्गा व्यवसायमा स्थापित बने ।

चितवनको बसाइपछि उनले भरतपुर–१० स्थित अस्पताल रोडमा २०५८ मा औषधि पसल सञ्चालन गरेको बताउँछन् । उनले बालकुमारी कलेजबाट सीएमएसमेत अध्ययन गरेकाले औषधि पसल सञ्चालन गरेका थिए । पढ्नका लागि चितवन झरेका घिमिरेलाई आफैले केही गर्नुपर्छ भन्ने लागेर पनि औषधि पसल सञ्चालन गरेको बताउँछन् । उनी भन्छन्, ‘महिनावारी तलब बुझ्नुभन्दा आफै उद्यमी बन्नुपर्छ भन्ने लागेका कारण औषधि व्यवसाय सुरु गरेको थिएँ ।’ औषधि व्यवसाय सञ्चालन गर्ने समय मुलुकमा संकटकाल घोषणा गरिएका कारण पनि व्यवसाय गर्दा निकै कठिनाइ भोगेको घिमिरेले बताए । संकटकालमा व्यवसाय सुरु गर्दा कहिले सरकार पक्ष त कहिले तत्कालीन विद्रोही पक्षबाट निरन्तर पेलानमा पर्ने गरेका थिए ।

औषधि पसल सञ्चालनकै क्रममा घिमिरेले २०५९ वैशाख २३ गते विवाह गरेको बताए । विवाह गरेको केही वर्षसम्म घिमिरेले औषधि व्यवसायलाई नै आफ्नो मुख्य व्यवसाय बनाए । तर, औषधि व्यवसाय सञ्चालनको तीन÷चार वर्षपछि उनको मन फेरियो । उनले भरतपुर–९ स्थित केन्द्रीय बस टर्मिनल चोकमा प्रोभिजन स्टोर्स सञ्चालन गरे । करिब २०६१÷६२ प्रोभिजनल व्यवसाय सञ्चालन गर्दा चितवनमा भरखरै जग्गा किनबेच हुने लहर सुरु हुँदै थियो । घरजग्गाको कारोबार गर्ने व्यक्तिहरु घिमिरेको पसलमा नियमित आउने गर्दथे । ‘मेरो पसलमा घरजग्गाको कारोबार गर्ने व्यक्तिहरु नियमित आउँदा उहाँहरुसँग मेरो सम्पर्क बढ्न थाल्यो’ घिमिरेले भने, ‘उनीहरुसँगको सम्पर्क र भेटघाटबाट घरजग्गा कारोबारमा लागेँ ।’

विसं २०६५ बाट घरजग्गा व्यवसायमा संलग्न घिमिरेले २०७३ मा घरजग्गासम्बन्धी कारोबार गर्ने गरी आफ्नै कम्पनी दर्ता गराए । भरतपुर–१२ मा आनन्द प्रोपटी डिलर्स प्रालि दर्ता गरेर घरजग्गा किनबेच गर्न सुरु गरेपछि विभिन्न व्यक्तिसँग सम्पर्क बढ्न थालेको उनी बताउँछन् । घरजग्गा व्यवसायमा भिजेपछि उनले अन्य व्यवसाय छोडेर आफूलाई पूर्णरुपमा घरजग्गा कारोबारमा संलग्न बनाए । कम्पनी दर्तापछि घिमिरेले ठूलो जग्गा खरिद गरेर त्यसलाई योजनाबद्ध रुपमा प्लटिङ गरेर बेचबिखन गर्न थाले । कम आर्थिक अवस्था भएका र विशेष गरी खाडी मुलुकमा रोजगारमा गएका नेपालीहरुको चितवनमा घर बनाउने सपना साकार पार्नका लागि आफूले आवश्यकताअनुसारको घडेरी निर्माण गरी बिक्री गर्न सुरु गरेको घिमिरे बताउँछन् ।

घिमिरेले घरजग्गाको कारोबार गर्दा थोरै मात्रै नाफा गरेर किनबेच गर्ने कारण उनी लोकप्रिय हुँदै गए । उनीसँग एकपटक कारोबार गरेका व्यक्ति पटक पटक घिमिरेकै सम्पर्क आउन थाले । जसको कारण सस्तोमा राम्रो जग्गा बिक्री गर्नु भएको उनी बताउँछन् । चितवनमा घरजग्गाको कारोबार गरेका उनले काठमाडौँमा समेत जग्गा किनबेचको काम गर्न सफल भए । काठमाडौँको जग्गा किनबेचमा राम्रै फाइदा भएको उनी सुनाउँछन् । अहिले घिमिरेसँग चितवन र नवलपुरका विभिन्न स्थानमा बिक्रीका लागि जमिनहरु रहेका छन् । अहिले भरतपुरकै वडा नम्बर ९ वसन्त चोक नजिकै पनि घिमिरेले घडेरी बिक्रीका लागि योजना बनाएर काम सुरु गरेका छन् । कोभिडका कारण कारोबार घटेको भए पनि उनी यो व्यवसायबाट पछि हट्नुभन्दा पनि कारोबारलाई विस्तार गर्ने योजनामा छन् । उनी भन्छन्, ‘अब चाँडै नै अमेरिकामा पनि घरजग्गा कारोबार गर्ने योजना बनाएको छु । त्यहाँका मानिसहरुसँग सहकार्य गरेर काम गर्ने तयारी भइरहेको छ ।’

कोभिडका कारण आफूले अमेरिका घरजग्गाको कारोबार विस्तार गर्न नसकेको उनको भनाइ छ । ‘कोरोनाका कारण एक ठाउँबाट अर्को ठाउँमा जानै समस्या छ’ घिमिरेले भने, ‘त्यसैले कारोबार विस्तार गर्न पाइरहेको छैन ।’ कोभिडका कारण विदेशमा काम गर्ने नेपालीहरुको आम्दानी पनि कम भइरहेकाले नेपालमा पनि कारोबार मन्द भइरहेको उनको बुझाइ छ । नेपालमा आउने रेमिट्यान्स घटेपछि घरजग्गाको कारोबार पनि घटेको उनले बताए । कोभिड संक्रमण फैलिनु अगाडि उनी परिवारसहित छिमेकी मुलुक चीन र अष्ट्रेलियाको भ्रमणमा गएका थिए । अमेरिका जाने तयारी भइरहकै बेला कोरोना संक्रमण फैलिएपछि आफू अमेरिका जान नपाएको उनले बताए । वैदेशिक भ्रमणमा उनले आफ्नी पत्नी र छोरीलाईसमेत साथमै लिएर गएका थिए ।

केही वर्ष अगाडि घरजग्गा व्यवसायमा मन्दी आएसँगै उनले निर्माण व्यवसायतर्फ पनि हात हालेका थिए । ए एन कन्स्ट्रक्सन प्रालि सञ्चालन गरेर निर्माणसम्बन्धी काममा समेत हात हालेका उनले त्यो कारोबारलाई खासै अगाडि लिएर गएनन् । निर्माणसम्बन्धी उपकरण थोरै खरिद गरेका कारण निर्माण कम्पनीको काम सुस्त गतिमा अगाडि बढिरहेको उनको भनाइ छ ।

घिमिरेले हालसम्म १५ बिघा बढी जग्गा किनबेचमार्फत एक हजार बढीलाई सेवा दिएको बताउँछन् । आफ्नो पुर्ख्यौली सम्पत्ति गोरखामा नै भएको भन्दै घिमिरेले यहाँ आउँदा घरबाट केही पनि नलिइ आएको बताउँछन् । चितवनमा जोडेको सम्पत्ति सबै आफ्नै प्रयासमा जोडेको उनको भनाइ छ । घिमिरेले आफ्नी छोरीलाई डाक्टर बनाउने भन्दै सोहीअनुसारको अध्ययनमा प्रेरणा दिइरहेको बताउँछन् । घिमिरेकी छोरी अहिले भरतपुरकै एसओएस बालग्राममा कक्षा १२ मा विज्ञान विषय पढ्दैछिन् ।

समाजसेवामा पनि संलग्न

घिमिरेको ध्यान सम्पत्ति कमाउनतर्फ मात्रै केन्द्रित भएन । उनले कमाएको रकमबाट केही रकम गरिबी तथा असहायहरुको लागि खर्च गर्ने गरेका छन् । घिमिरे उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, नेपाल रेडक्रस सोसाइटीका साथै विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् । संघसंस्थामार्फत तथा व्यक्तिगत रुपमै भए पनि उनले समुदायमा विपन्न परिवारलाई सहयोग गर्दै आएको बताउँछन् । सामाजिक सेवामा आफूलाई संलग्न गराएकै कारण घिमिरेलाई विभिन्न संघसंस्थाहरुले सम्मान गरेका छन् । गामवेसीका चेपाङ संरक्षण केन्द्र, उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ जस्ता संघसंस्थाले सम्मान गरेको घिमिरे बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>