Breaking News

चितवनमा तीव्र गतिमा विस्तार हुँदै फाइबर इन्टरनेट, आठ हजार बढी ग्राहकलाई वितरण

Banner

चितवन, असार १५
चितवनमा नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट विस्तारलाई तीव्र पारिएको छ ।

दुरसञ्चार कार्यालय भरतपुरमार्फत हालसम्म ८ हजार १ सय ९९ ग्राहकलाई फाइबर इन्टरनेट वितरण गरिएको हो । कार्यालयका प्रमुख नविनकुमार मिश्रका अनुसार पूरानो प्रविधि विस्थापित गरी नयाँ प्रविधि जडानलाई प्राथमिकतामा राखेर काम गरिएको छ ।

‘फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीहरुको भन्दा सस्तो र राम्रो छ । यसकारण ग्राहकहरु आकर्षित छन्’ उनले भने । इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको मिश्रले बताए । उनले इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको जनाए ।

टेलिकमले घरयासी प्रयोजनको लागि फाइबर इन्टरनेट ८ एमबीपीएस देखि ५० एमबीपीएस सम्म उपलब्ध गराउँदै आएको छ । त्यसको शुल्क ८ सयदेखि १८ सयसम्म रहेको छ । त्यसबाहेक व्यावसायिक प्रयोजनका लागि पनि छुट्टै एमबीपीएस र दररेटको व्यवस्था गरिएको छ ।

कनेक्ट सर्भर काठामाडौं र हेटौंडामा राखिएकाले पनि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवामार्फत गुगल, युट्युब र फेसबुक फास्ट चल्ने उनको भनाइ छ ।

‘भरतपुरका मुख्य शहरी क्षेत्रमा फाइबर इन्टरनेट जडान गरिएको छ, उनले भने, ‘क्षेत्रपुरमा प्राविधिक समस्याका कारण इन्टरनेट जडानमा ढिलाइ भएको छ । यहाँ पनि छिट्टै सेवा प्रदान गर्छाैं ।’

भरतपुर शाखामार्फत ३१ हजार फाइबर इन्टरनेट वितरण गर्ने क्षमता रहेको मिश्रले जानकारी दिए । अर्काे वर्षसम्म पूरानो प्रविधि विस्थापित गरी नयाँ प्रविधि जडान गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।

आवश्यक सामग्री उपलब्ध भए लक्ष्यअनुसार काम सम्पन्न हुने मिश्रले बताए । उनका अनुसार भरतपुर शाखामार्फत वितरण भएका ४ लाखभन्दा बढी नेपाल टेलिकमको सिम प्रयोगकर्ता रहेका छन् । त्यसमध्ये पचास प्रतिशत सक्रिय छन् । १० हजारभन्दा बढीले इन्टरनेट चलाउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>