चितवन विशेष

चितवनमा चिकित्सासँगै समाजसेवामा रमाउँदै डा. सुवास बस्नेत

Banner

मनिका विश्वकर्मा,

चितवन, असार १४ –

पोखरामा जन्मिएर चितवनलाई कर्मभूमि बनाएका डाक्टर सुवास बस्नेतको जीवन सोचेभन्दा फरक छ ।

पोखराकी शिक्षिका सत्यदेवीकी जेठा छोरा हुन् डाक्टर सुवास बस्नेत । पोखरामा जन्मेका सुवास सानैदेखि विद्रोही स्वभावका थिए । २००४ सालमा स्थापना भएको पोखराको विन्दबासिनी माध्यमिक विद्यालयबाट सुवासले अध्ययन सुरु गरे । गाउँको सरकारी विद्यालयमा दलित समुदायका आधा भन्दा धेरै बालबालिकाहरु अध्ययन गर्थे । सत्यदेवीले पनि उनै विद्यालयमा शिक्षिकाको रुपमा काम गर्थिन् । श्रीमान्को निधन भएपछि सत्यदेवीले आफ्ना तीन छोराहरुलाई शिक्षण पेसाबाट नै लालनपालन गरिन् ।

सत्यदेवी वैचारिक विचारधाराकी थिइन् । उनले कहिले पनि जातीय विभेदमा नबोलेको भन्ने रेकर्ड थिएन । नाम पनि सत्य काम पनि सत्य गर्दै उनले आफ्ना तीन छोरालाई पनि त्यसरी नै हुर्काइन् । डा.सुवास बस्नेत जसले अहिले आमाको सिकाइको पालना गर्दै सामाजिक काममा लागिपरेका छन् ।

सुवासले कहिले पनि दलितको मुद्दा दलितको मात्रै हो भनेर सोचेनन् । दलित समुदायको सवाल मात्रै नभएर सु्वासले अन्य धेरै सामाजिक मुद्दाहरुमा पनि आवाज बुलन्द बनाउँदै आए । उनी सम्झदै भन्छन्, ‘म अहिले जुन अवस्थामा छु त्यो सबै मेरो आमाको कारण हो । एकल महिला भएर पनि आमाले हामी तीन भाइलाई हुर्काउनु मात्रै भएन विद्रोह गर्न सिकाउनु भयो ।’ पोखराको बाटुलेचौरमा हुर्किएका सुवासले सामाजिक मुद्दामा बोल्नुपर्छ, सत्यको लागि बोल्नुपर्छ, जातभात केही हुदैन भनेर सानै उमेरमा नै सिकेका हुन् । सुवास सामाजिक मुद्दामा जति बोल्थे त्यस्तै पढाइमा पनि उनी त्यस्तै अब्बल र मिहिनेती थिए । जातीय विरोधको विषयमा आमाले प्रशिक्षण दिँदै हिड्दा सुवास पनि आमाको पछिपछि जान्थे । सामान्य तरिकाले जीवनयापन गर्न सिकाउँदै आएकी सत्यदेवीले छोराहरुलाई जहिले पनि न्यायको पक्षमा नै बोल्न सिकाइन् ।

निलो कट्टुमा फुच्चे देखिने सुवास दिनहुँ विद्यालय जाने गर्थे । विद्यालयमा फर्केपछि घरमा हजुरआमाले बनाइ राखिदिएको मकैभटमास खान्थे । दसैँको समयमा मात्रै नयाँ लुगा र मिठा खानेकुरा खान पाउँथे उनले । सुवासको हजुरआमा अलि परम्परागत सोचविचारलाई विश्वास गर्थिन् । सुवासले भने, ‘मैले कहिलेकाही घरमा दलित समुदायका साथी ल्याए भने हजुरआमाले भित्र किन पसाएको भन्नुहुन्थ्यो । पछि बिस्तारै हजुरआमाको त्यो सोचलाई पनि हामीले सुधार गर्दै गयौं । हजुरआमाले बुझ्दै जानुभयो । उहाँले सबै सम्मान हुन् भन्ने बुझ्नुभयो ।’

गैरदलित समूदायमा हुर्किएर पनि सानै उमेरदेखि सुवासले दलितका मुद्दालाई आफ्नै मुद्दा बनाउँदै गए । जसको कारण केही व्यक्तिबाट उनका कामहरु मन परेन । तर, सुवास केहीको मतलब नगरी विभिन्न सामाजिक मुद्दाहरुमा बोल्दै समुदायलाई सचेत गराउँदै अघि बढे । ‘मेरो आमाले गाँउगाँउमा गएर दलित समुदायमा प्रशिक्षण दिँदै हिड्नु हुन्थ्यो । अझै पनि उहाँले प्रशिक्षण दिनुभएका व्यक्तिहरु कम्युनिस्ट पार्टीमा ठूलो ठूलो पदमा हुनुहुन्छ’ उनले भने ।

२०३९ सालमा जन्मिएका सुवासले २४ वर्षको उमेरमा छात्रवृत्तिमा मनिपाल मेडिकल कलेज पोखराबाट चिकित्साको पढाइ सकेका थिए । अरुको सेवा गर्न पाउने भनेर नै सुवासले चिकित्सक पेसा चुनेका थिए । सुवास चिकित्सक बनेको २ वर्षमा नै सत्यदेवीले संसार छोड्नुप¥यो । त्यसपछि परिवारको सबै बोझ सुवासलाई नै आईप¥यो । आमाको निधनभएपछि मैले मेरा दुवै भाईहरुलाई छोराहरु जस्तै गरेर हुर्काए । उनले सुनाए ।

आमाको समाजसेवाबाट प्रभावित भएका उनले पनि डा. गोविन्द केसीको सवाललाई उठाउँदै उनले समाजको मुद्दाहरुमा बोल्दै आए । चितवनको पुरानो मेडिकल कलेजमा उनले स्नातकोत्तर अध्ययन सकाए । त्यसपछि उनले भरतपुरमा नै रहेको मेट्रो इमेजिङ सेन्टर अस्पतालमा रेडियोलोजिष्टको विषेशज्ञको रुपमा काम गर्न सुरु गरे । उनले दुई वर्ष दमौलीको सरकारी अस्पतालमा काम गरे । उनले चितवनमा आएर पनि थुप्रै सामाजिक कामहरु गर्दै आए । युवाहरुलाई नै अघि बढाउने हिसाबले उनले युवाहरुसँगै नै मिलेर सामाजिक कामहरु गरे ।

चितवनकी पत्रकार निशा श्रेष्ठले ‘दृष्टिबिहीन दम्पतीलाई आँखाको उपचार गर्न समस्या’ भन्ने समाचार नारायणी अनलाइनमा लेखे लगत्तै सुवासले सहयोग गरे । उनले सामाजिक सञ्जालमा रकम उठाएर ती दम्पतीको आँखा उपचारको लागि सहयोग गरेका थिए । २६ वर्षको उमेरमा विवाहमा बन्धनमा बाधिएका सुवासको जीवनसाथी पवित्रा पनि वैचारिक र क्रान्तिकारी सोच भएकी छन् । आमापछि आफ्नो श्रीमतीको विचारबाट प्रभावित भएको सुवास बताउँछन् । ‘आमा र श्रीमतीको कामबाट प्रभावित भएँ । श्रीमतीलाई नर्सिङ पेसा छोडेर राजनीतिमा लाग्नुपर्छ भनेर त्यसैमा लगाए’ उनले भने ।

कम्युनिस्ट पार्टीको बिचारधारबाट प्रभावित भएका सुवासले धेरैको आवाज बने । उनले भने, ‘पहिले कम्युनिस्ट भनेको जातपात केही नमान्ने, महिनावारी नबार्ने, महिला र पुरुष बिचको विभेद अन्त्य गर्ने भन्ने थियो । यसरी नै म पनि अघि बढे ।”

दोस्रो जनआन्दोलनमा एक महिना अग्रपक्तिमा लागेर उनले नेतृत्व पनि गरे । गणतन्त्र आएपछि शिक्षा र स्वास्थ्यमा सबैको सम्मान पहँुच हुनुपर्छ भनेर उनी निरन्तर लागिरहे । कलिलै उमेरमा देश परिवर्तन गर्छु भनी सोच बनाएका उनले साच्चै नि आफ्नो समुदाय परिर्वतन गरे । सामान्य जीवनयापन गर्न रमाउने उनको नाममा सम्पति छैन । आफूलाई खुसी लागेको कामहरु गर्ने, समाज रुपान्तरण तिर नै लाग्ने उनको सोच छ । सानो उमेरका पृष्ठभूमिले सामाजिक आन्दोलन, विभेदविरुद्धको आन्दोलनमा धकेलेको उनी बताउँछन् । उनले विभिन्न विद्यार्थीलाई छात्रवृत्तिमा पढाइरहेका छन् ।

उनले चितवनमा आएपछि पनि धेरै उदाहरणीय कामहरु गरे । समाजलाई सुसचित गर्ने साथै मजदूरी गरेर बिहानबेलुका छाक टार्न समस्या भएका परिवालाई होस् या होस्टेलमा बसेका अनाथ बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका बालबालिका, चेपाङ समुदायलाई सुवासले आर्थिक सहयोग गरिरहेका नै छन् । साथै उनले चितवनका पहुँच  कम भएका समुदाय जसलाई समाजले तिरष्कृत गरे, परिवारले नै साथ छोडी दिए यौनिक तथा अल्पसंख्यक समुदायलाई पनि सहयोग गरे ।

निषेधाज्ञाको समयमा समस्यामा परेका समुदायलाई उनले सहयोग गरे । जसले न्यायको लागि बोल्दैन त्यो व्यक्तिको समाजको लागि मरेतुल्य नै हुने उनको अनुभव छ । उनलाई आफ्नी छोरी पनि यही समाजमा बसेर न्यायको लागि बोलोस् सत्य के हो सत्यको लागि बोलोस् । बाहिर अरुको देशमा जाननपरोस् उनको इच्छा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>