Breaking News

काठ चिरेरै सात जनाको परिवार धान्दै आएका माडीका जीवन चौधरी

Banner

मनिका विश्वकर्मा

माडी, असार ९

गत शनिबार बिहानको समय थियो । घडीले १२ बजेको संकेत गर्दैै थियो । माडी नगरपालिका बसन्तपुरमा जन्मेका जीवन चौधरीको जीवन संघर्ष सुरु भयो । कोरोना संक्रमण बढोस् वा कतै निषेधाज्ञा लागोस् जीवनलाई आफ्नो काम भन्दा बढी केही चासो छैन ।

उमेरले ४५ वर्ष कटेका उनको जीवन अरुको भन्दा फरक रह्यो । सामान्य व्यक्ति हुन् उनी । आमा बितेपछि माडी माध्यमिक विद्यालयमा ६ कक्षा पढ्दै गरेका उनले चटक्कै पढाइ छोडे । सानै उमेरदेखि उनी घरको सबै बोज उठाउनुपर्ने जिम्मेवारी आयो । घरका जेठो छोरा भएकोले उनले ६ भाईबहिनीहरुलाई सबै खर्च जुटाउनुपर्ने स्थिति थियो । उनले सानै उमेरदेखि नै ज्याला मजदूरी गरेर परिवारको हेरचाह गर्दै आएका थिए ।

ज्याला मजदुरीलाई निरन्तरता दिँदै उनले काठ चिर्ने काम सुरु गरे । उनले सुरुवाती चरणमा काठ चिरेवापत १०० पाउथे भने अहिले बढेर ९०० पुगेको छ । एक सयबाट नौं सय कमाउन उनले धेरै संघर्ष गर्नुप¥यो । सुरुमा ज्यालामजदूरीका अन्य काम गर्दै आएका उनलाई राम्रोसँग आरो खेलाउन पनि आउने थिएन । एक वर्ष काम सिकेपछि उनले दिनमा दुई वटा काठका मुढाहरु चिर्न सके । निकै बल प्रयोग गर्नुपर्ने काठ चिर्ने काममा निकै अभ्यस्त भएर अहिले उनको परिवारको जीविकोपार्जन त्यही कामबाट भइरहेको छ । उनले भने, ‘काठ चिरेर नै भाइबहिनीको विवाहदान पनि गरिदिएँ । सबै घर खर्च पनि चलाउँदै आएको छु ।’ उनका अहिले चार छोराछोरी सहित सात जनाको परिवार रहेका छन् । माडीको एैलानी जग्गामा घर भएको उनको तरकारी लगाउने बारी मात्रै रहेको छ ।

स्टिलको टिफिनमा खाना राख्दै उनी बिहान सात बजे नै साइकलमा काठ चिर्ने ठाउँमा पुग्छन् । ७ नम्बर वडा कार्यालय नजिकै उपभोक्ता समितिले काठ थुपारेर राखेको छ । समितिले काठका मुढाहरु ल्याएर त्यही नै थुपारी दिन्छन् । काठलाई सफा गर्ने, चिर्ने, डिजाइन गरेर काठ चिर्ने सबै काम आरो मिस्त्रीको नै हुन्छ । एउटा काठ चिर्न उनीहरुलाई लगभग चार घण्टा समय लाग्छ । पहिला उपभोक्ता समितिले घरघरमा नै लगेर काठहरु दिन्थे भने अहिले उपभोक्ता समितिले चिरिसकेका काठहरु नै दिने उनी बताउँछन् ।

उनले आफ्नो बाबुको पालादेखि काठ चिर्ने काम गर्दै आएका हुन । दुई दर्शकभन्दा बढी भयो उनले काठ चिर्ने काम थालेको । सुकुमबासी समुदायमा हुर्केका उनको नाममा घरजग्गा छैन । उनले भने, ‘काठ चिर्ने काम ज्यादै जोखिमयुक्त काम हो । कहिले मुढाको मुनि बसेर काठ चिर्नुपर्छ भने त कहिले मुढाको माथि बसेर चिर्नुपर्छ ।’

उपभोक्ता समितिको अर्डरअनुसार काम गर्नुपर्ने उनले बताए । वर्षको तीनचार महिना काठ चिर्ने काम बढी हुने उनले बताए । ‘काठको काम गर्दा केही व्यक्तिहरुको त काठ चिर्दा मुढाले च्यापेर मृत्यु भइसकेको छ । त्यसैले काठ चिर्ने काम गर्दा धेरै ध्यान दिनुपर्छ’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>