मनोरञ्जन
चितवनबाट सहभागी भएकी एलिनाले जितिन् ‘नेपाल स्टार’

चितवन, माघ १९-
‘नेपाल स्टार’ रियालिटी शोमा चितवनबाट सहभागी भएकी एलिना गुरूङले उपाधि जितेकी छन् ।
कास्कीको मादी-२ ताङतिङ गाउँमा जन्मेर पोखराको सांगितिक क्षेत्रमा व्यस्त एलिना पोखराको अडिसनबाट बाहिरिए पछि चितवन आएर फेरि अडिसन दिएर प्रतियोगितामा समावेश भएकी हुन् । नेपाल स्टारको केही ठाउँमा प्रि अडिसन चल्दै थियो । पोखराबाट भाग लिएकी एलिना भने जज अडिसनबाट बाहिरिसकेकी थिइन्। उनलाई केही गायकले चितवन अडिसनबाट फेरी आउन आग्रह गरे । स्टेजमा गएर राम्रो प्रस्तुति दिन लगाए । त्यही सुझाव मानेर उनी चितवन गइन्, फेरी प्रि अडिसनबाट छनौट भएर अघि बढिन्।
उनलाई जिताउन पोखराको हिमाली सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष मेनकाजी गुरुङको संयोजकत्वमा ‘एलिना जिताउ अभियान सहयोग समिति’ बनेको थियो । समितिले देश विदेशबाट एलिनालाई भोट दिन आह्वान गरेको थियो भने पोखरामा विभिन्न अभियान समेत चलाएको थियो।

उनलाई भोट दिन हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत, मलेसिया, युएई, कतार, भुटान लगायतका देशहरुबाट समेत आफन्त र शुभचिन्तक लागेका थिए। उनीहरुकै सहयोगमा एलिनाले नेपाल स्टारको उपाधि जितेकी हुन्।
उपाधि होडको अन्तिम प्रस्तुतिमा उनले आस्था राउतकै ‘चौबन्दीमा पटुकी…..।’ बोलको गीत गाएकी थिइन्। सार्वजनिक ठाउँमा पहिलो पटक लाइभ म्युजिकमा गाएको यही गीतले उनलाई नेपाल स्टार बनायो । यो गीत गाउँदा एकदम आनन्द आउँने उनले बताइन् । उनले पोखराको विभिन्न सांगितिक समूहमा आवद्ध भएर आफ्नो सांगितिक यात्रा सुरु गरेकी हुन् ।
























