मनोरञ्जन
निर्देशकको जन्मदिनमा चलचित्र ‘तीन जुङ्गे’ घोषणा

चितवन, पुस १२-
हाँस्य कलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ चलचित्र ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन् ।
उनले आफ्नो जन्मदिन (पुस १२) को अवसर पारेर आइतबार हास्य शैलीको ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् ।
यसअघि ‘पिरिम पर्या छन्,’ ‘कान्छी मट्याङट्याङ’,‘फेरि–फेरी’लगायतका कमेडी चलचित्र तथा ‘यस्तै छ यहाँको चुरीफुरी’ लगायतका थुप्रै टेलिश्रृंखला निर्माण तथा निर्देशन गरिसकेका थापाले ‘तीन जुङ्गे’ को छायांकन माघ तेस्रो साताबाट सुरु हुने जानकारी दिएका छन् ।
बसुन्धरा मुभिजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारी निर्माता रहेको ‘तीन जुङ्गे’ मा प्रमुख तीन जुङ्गे को–को हुने छन् भन्ने चाहिँ अहिले खुलाइएको छैन । ती तीन जुङ्गेको साथमा चलचित्र निर्देशक थापा स्वयम्, लय संग्रौला, दमन रुपाखेती, निक शर्मा, सुमित्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, ललितसिंह साउद, विकल उप्रेती, सविता दनाइ, शिखा सुवेदी, छायाँ भुजेल, सुपा खनाललगायतका कलाकारले अभिनय गर्ने छन् ।
प्रमुख नायक–नायिका साथै केही प्राविधिकको छिट्टै टुंगो लगाइने चलचित्र बिमल ढकालले खिच्ने छन् । बिनोदकुमार भुजेलको संगीत, रुपा मानन्धरको मेकअप र शंकर महर्जनको द्वन्द्व निर्देशन रहने चलचित्रलाई ललितसिंह साउदले सम्पादन गर्ने जानकारी निर्देशक थापाले दिएका छन् । समाजिक विषयमा हाँस्यरस मिलाएर निर्माण गर्न लागिएको ‘तीन जुङ्गे’ काठमाडौ,मुस्ताङ,पोखरालगायतका स्थानमा खिचिने छ ।
























