Breaking News

चितवनका चेपाङ समुदायले आज घरघरमा न्वागी पर्व मनाउँदै

Banner

चितवन, भदौं २२-

चितवनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अति सिमान्तकृत चेपाङ समुदायले आज भदौं २२ गते मनाउने राष्ट्रिय पर्व न्वागी (छोनाम) प्रभावित बनेको छ ।

नेपाल चेपाङ संघ केन्द्रीय समितिले यसपटक कुनै औपचारिक कार्यक्रम नगरी घरमै बसेर पर्व मनाउन भनेको छ । संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले मौलिक परम्परागतरूपमा घरमा नै बसेर सबै चेपाङ समुदायलाई न्वागी मनाउन भनिएको बताउनु भयो । चेपाङ संघले हरेक वर्ष चितवन, धादिङ र मकवानपुरको चेपाङ बहुल क्षेत्रमा विशेष कार्यक्रम गरेर न्वागी मनाउँदै आएको थियो ।

चेपाङ संघ चितवनका अध्यक्ष लक्षमण चेपाङले स्थानीय सरकारहरुले चेपाङ समुदायको धर्म र संस्कृतिको रक्षाका लागि स्थानीय सरकारले बिदासमेत नदिएको गुनासो गर्नुभयो । चेपाङहरूले आफ्नो प्रमुख चाडको रुपमा छोनाम न्वागीलाई मान्छन् । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन् । यस दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाँक्री (पाण्दे) हरुले एकपाखे ढ्यांग्रोे ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।

छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् ।

भेला भएर ढ्यांग्रोे बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने गर्दछन् । ‘वारनामा कोही चेपाङ काममा निस्कँदैनन्,’ पूर्व सांसद गोविन्द चेपाङले भन्नुभयो  । चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन् । उनीहरू जंगलका गिठा भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजंगलसँग राम्रो साइनो गाँसिएको छ । त्यसैले प्रकृतिको पूजा उनीहरूका लागि महत्वपूर्ण हुन्छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसंख्या ६८ हजार ३९९ जना रहेको छ । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास देखिन्छ ।

चेपाङ बाहुल्य जिल्लामध्ये सबैभन्दा धेरै चितवन जिल्लामा २८ हजार ९८९ रहेका छन् । कालिका नगरपालिका वडा नं. १० र ११ लाई चितवनको साविक सिद्धि गाविसलाई चेपाङहरूको राजधानी मानिन्छ । यहाँ ९० प्रतिशतभन्दा बढी चेपाङ छन् । चितवनको कुल जनसंख्यामामा चेपाङको संख्या सातौं स्थानमा छ ।

सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत श्रृंखला वरिपरिको रैथाने वासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङहरुको घना बसोबास छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>