Breaking News

कोरोनाले अस्तव्यस्त बन्यो चितवनको शिक्षा क्षेत्रः शैक्षिक शत्र खेर जान नदिने विकल्प के ?

Banner

मधुसूदन दवाडी

चितवन, भदौं २१

चितवनमा कोरोना संक्रमण दर बढ्दै गएसँगै समाजका हर क्षेत्र मारमा परेका छन् । पसल र अन्य व्यवसाय केही मात्रामा खुले पनि शैक्षिक क्षेत्र भने अस्तव्यस्त नै बन्न पुगेका छन् । गत चैत १० गतेपछि चितवनमा कुनै पनि शिक्षण संस्थामा पठनपाठन भएको छैन । सरकारी अनुदानले सरकारी विद्यालय तथा क्याम्पसहरु केही ढुक्क जस्तो देखिए पनि निजी शिक्षण संस्था भने अहिले बढी पीडामा परेका छन् ।

शिक्षा कार्यालय चितवनले २०७४ सालमा तयार पारेको तथ्यांक अनुसार चितवनमा कुल विद्यालयको संख्या ५४८ वटा रहेका छन् । जसमा संस्थागत विद्यालय १७१ र सामुदायिक विद्यालय ३७७ वटा रहेका छन् । विद्यालय शिक्षामा झण्डै ५० प्रतिशत हिस्सा निजी वा संस्थागत विद्यालयले नै ओगटेको छ । त्यसैगरी, उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयअन्तर्गत भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसबाहेक अन्य झण्डै दुई दर्जन क्याम्पसहरु निजी र सामुदायिक लगानीका छन् । ती सबै निजी शिक्षण संस्थामा आश्रित सयौं शिक्षकहरु तलब र कामबिहीन भएर बेरोजगार बनेका छन् भने हजारौं विद्यार्थीहरु शिक्षण संस्था खुल्ने आशामा पर्खिरहेका छन् । जेनतेन चलेका अनलाइन कक्षामा पनि विद्यार्थी सहभागिता निराशाजन छ ।

विद्यालय शिक्षादेखि नै उच्च तहसम्म समस्याको चाङ नै छन् । चितवनमा अधिकांश क्याम्पसहरु त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन लिएका भए पनि पोखरा विश्वविद्यालय, पूर्वाअञ्चल विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन लिएका केही क्याम्पस रहेका छन् । पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्टारको नियुक्ति समयमा हुन नसक्दा शैक्षिक क्यालेण्डर नै अस्तव्यस्त बनेको छ । प्राय सबै विश्वविद्यालयले रोकिएका परीक्षाहरु कसरी लिने भन्ने ठोस निर्णय गर्न सकेका छैनन् ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बोस्टन इन्टरनेशनल कलेजका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाइँले कोर्स सकिएका ट्राइमेस्टरको परीक्षा लिन नपाउँदा त्यसलाई थाँती राखेर माथिल्लो तह अनलाइनमा कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । एमबीएमा अनलाइनबाट नै परीक्षा लिने वा परम्परागत ढंगबाट परीक्षा लिने भन्नेमा विश्वविद्यालयमा अन्यौल कायमै रहेको उहाँले नारायणी अनलाइनलाई बताउनुभयो । आन्तरिक मूल्यांकनको ६० प्रतिशत काम कलेजले सकिसकेको छ तर बाँकी बाह्य मूल्यांकनको ४० प्रतिशत काममा भने अन्यौल नै थपिएको छ । उहाँले अनलाइन क्लासमा ९० प्रतिशत जति विद्यार्थी सहभागी भएको बताउनुभयो । स्नातक तहका कक्षाहरु पनि तल्लो समेस्टरको परीक्षा थाँती नै राखेर अनलाइनबाट सञ्चालन गर्ने कलेजले तयारी गरेको छ । नियमित परीक्षाहरु नभएकोले विद्यार्थीहरुको मासिक शुल्क पनि चैतदेखिनै उठ्न नसक्दा प्राध्यापकहरुलाई तलब दिन समस्या परिरहेको कलेजले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको अवस्था पनि त्यस्तै छ । सप्तगण्डकी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख खिम दाहालले स्नातकोत्तर तहका कक्षाहरु अनलाइनबाट चलिरहेको बताउनुभयो । वार्षिक र समेस्टर प्रणालीका धेरै परीक्षाहरु सञ्चालन गर्न बाँकी नै रहे पनि परीक्षा सञ्चालनबारे विश्वविद्यालयको केही निर्देशन नआएको उहाँले बताउनुभयो । चैतमा हुनुपर्ने कयौ परीक्षाहरु अहिले पाँच महिनासम्म पनि कसरी लिने भन्ने बारे विश्वविद्यालय अन्यौलमा नै रहेको छ । अझै पाँच महिना कुनै निर्णय नभएमा शैक्षिक शत्र पूर्णतया खेर जाने सम्भावना रहन्छ ।

 बोर्डिङ स्कुलको अवस्था के छ ?

गत चैत महिनादेखि कयौं निजी विद्यालयहरुले शिक्षकलाई तलब नै दिन सकेका छैनन् । त्यसैले पनि शिक्षकहरुमा पढाउने कि नपढाउने खासै जाँगर चलेको छैन । दसैँ र तिहार अघि कुनै पनि परीक्षा हुन सक्ने सम्भावना देखिँदैन । सबै विद्यार्थीहरु अनलाइन र स्मार्ट फोनको पहुँचमा नरहेकोले पनि अनलाइन कक्षाहरु खासै प्रभावकारी बन्न नसकेको शिक्षकहरु बताउँछन् । यस्तै अवस्था अब पाँच महिना रहेमा शैक्षिक शत्र नै खेर जान सक्नेमा सरोकारवालाहरुको चिन्ता छ ।

सिद्धार्थ स्कुल बेलचोकका प्रिन्सिपल मिनप्रसाद शर्माले विद्यालयको आम्दानीको स्रोत नै अभिभावक भएकोले उनीहरुले शुल्क नतिरेसम्म शिक्षकलाई तलब दिन सक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिक्षकले नयाँ शैक्षिक शत्र लागेपछि तलब पाएका छैनन् । अनलाइन कक्षा चलिरहेको छ तर कक्षामा ४० प्रतिशत बढी विद्यार्थीको सहभागिता हुन सकेको छैन । अभिभावकहरुसँग अघिल्लो शैक्षिक शत्रको शूल्क पनि लिन बाँकी छ ।’ उहाँले जतिजना शिक्षकहरुले अनलाइन कक्षा लिनुभएको छ उहाँहरुलाई विद्यालयले निश्चित प्रतिशत तलब दिने बताउनुभयो । कतिजना अभिभावकहरु अनलाइन कक्षा लिएपछि पैसा तिर्नुपर्छ भनेर पनि विद्यार्थीलाई अनलाइन कक्षामा पठाउन डराइरहेको उहाँको अनुभव छ ।

समस्याको विकल्प के ?

कोरोना महामारी अहिलेको अवस्थामा फैलिँदै जाला भन्ने कसैको अनुमान नभएकोले पनि शिक्षा मन्त्रालय र विश्वविद्यालय लामो समयसम्म समस्या नियन्त्रणमा आउने पर्खाइमा नै रहे । तर, छिट्टै नियन्त्रणमा आउने छाँटकाँट नदेखिएपछि अहिले भने विभिन्न विकल्पको बारेमा सोच्न बाध्य बनाएको छ ।

अहिले शिक्षा मन्त्रालयले अनलाइन कक्षाहरुलाई पनि मान्यता दिने भन्दै पाठ्यक्रम परिमार्जनबारे पनि छलफल गर्ने जनाएको छ । कोरोनाको संक्रमण यही गतिमा फैलिइ रहे अनलाइन कक्षाको विकल्प अरु नभएको विज्ञहरु बताउँछन् । तर, सोही अनुसारको पूर्वाधार, दक्ष शिक्षक, मूल्यांकन प्रणालीको भने आवश्यकता पर्छ । अभिभावक, शिक्षक र विद्यार्थीहरुको आपसी समझदारीमा अनलाइन कक्षा अगाडि बढ्न आवश्यक छ । सबैले यसलाई विश्वास गर्ने वातावरण तयार हुनुपर्छ ।

शिक्षाविद्ध तथा शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार रमाकान्त सापकोटा शैक्षिक शत्र खेर नजाने गरी स्थानीय तहले तयारी गर्नुपर्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो,‘ शिक्षण संस्थाहरुले आफ्नै एप्लिकेशन बनाएर वा अनलाइनबाट पनि विद्यार्थीहरुको शैक्षिक शत्र खेर नजाने गरी पढाउनुपर्छ । कतिपय स्थानीय तहले पनि समुदायमा इन्टरनेटको सुविधा सस्तोमा उपलब्ध गराउने तर्फ ध्यान दिनुपर्छ ।’ उहाँले अनलाइनमा नै विद्यार्थीको हाजिरी, लक बुक राख्ने गरी पढाए वापत शिक्षकहरुलाई तलब पनि शिक्षण संस्थाले उपलब्ध गराउनुपर्ने बताउनु भयो । यसबारेमा अन्तर्राष्ट्रिय विश्वविद्यालय र शिक्षण संस्थाले गरेका अभ्यासहरु पनि हेर्नुपर्ने उहाँको विचार थियो ।

त्यसैगरी पब्लिक क्याम्पस संघ चितवनका अध्यक्ष तथा बालकुमारी क्याम्पसका क्याम्पस प्रमुख जगदिश्वर खनालले पनि कोरोना महामारीलाई तनावमा मात्र भन्दा पनि अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ चितवनका शिक्षण संस्थालाई असजिलोमा नपार्नको लागि विकसित देशको प्रविधि अवलम्वन गर्नुपर्छ । शिक्षा क्षेत्रलाई रुपान्तरण गर्नमा राज्यले पनि जिम्मेवारी लिनुपर्छ । उहाँले अनलाइन कक्षाबाट अन्य विकसित देशका प्राध्यापकका कक्षाहरु पनि लिन सकिने गरी अवसरको रुपमा लिन सकिने अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले क्यानडाका प्राध्यापकका र त्रिभुवन विश्वविद्यालयका विशिष्ट प्राध्यापकहरुलाई अतिथिको रुपमा कलेजका विद्यार्थीहरुलाई पढाउने व्यवस्था गरिरहेका छौं ।’ यसरी महामारीबाट थलिएको शैक्षिक क्षेत्रलाई फेरि सक्रिय बनाएर शैक्षिक शत्र खेर जान नदिन जतिसक्दो अनलाइन कक्षा नै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । जसको लागि अनलाइन कक्षाप्रतिको विश्वास र भरोसा बढाउन आवश्यक छ । शिक्षामा शिक्षक, विद्यार्थी र अभिभावक तीनै क्षेत्रको उत्तिकै चासो र सरोकार रहने भएकोले पनि सबैले विद्यार्थीको भविष्यबारे सोच्न जरुरी छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>