देश/प्रदेश
गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘बारपाकी माया २’ बन्ने

चितवन, साउन १०-
गुरुङ संस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ ।
गोरखाको बारपाक गाउँमा सम्पूर्ण छायांकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ संस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक वीर चक्र भिसी गजे घलेको गाउँ हो । बारपाकमा घले र गुरुङको ठूलो बस्ती रहेको छ । लकडाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ ।
‘बारपाकी माया २’ मा विशेष गरेर बारपाकको जनजीवन र त्यहाँको रहनसहनलाई विशेष रुपमा समेटिने छ । करिब ८० लाखको बजेटमा निर्माण हुने चलचित्रको छायांकन उत्तरी गोर्खाको बारपाक, लाप्राक, मम्चे डाँडा, धार्छे जस्ता रमणीय स्थानमा गरिनेछ ।
२०७२ सालको महाभूकम्प अघि बनेको चलचित्रले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो । महाभूकम्पले उक्त गाउँ तहसनहस भएको थियो अहिले पुनर्निर्माणपछि बनेको गाउँको दृश्यलाई ‘बारपाकी माया २’ले समेट्ने छ । लक डाउनको समाप्तिसँगै नेपाल सरकारले छायांकन गर्ने अनुमति दिना साथ छायांकनमा जाने तयारीमा रहेको छ।
‘बारपाकी माया’ लाई दर्शकहरुले रुचाएको कारण नै यसको सिक्वेल निर्माण गर्न लागिएको हो। चलचित्रमा केही कलाकार पुराना दोहोरिने र धेरै नयाँ रहने छन्। चलचित्रको लागि कलाकारहरु अडिसन मार्फत् छानिने छन् । चलचित्र निर्माण कम्पनीले चलचित्रमा काम गर्न चाहनेहरुले अडिसनमा भाग लिन आव्हान गरेको छ।
चलचित्रलाई रोधी डिजिटल स्टुडियोका प्रितम गुरुङले निर्देशन गरेका हुन् । ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ लाई पनि निर्देशक प्रितम गुरुङले नै निर्देशन गर्ने छन्।
























