Breaking News

हुप्सेकोट गाउँपालिका उपाध्यक्षले भनिन्: भ्रष्टचार बढ्यो, छानबिन होस्

Banner

नवलपुर, फागुन २७-

हुप्सेकोट गाउँपालिकामा भ्रष्टचार र अनियमितता बढेको भन्दै जनप्रतिनिधबाटै छानबिनको माग गरिएको छ ।

हुप्सेकोट गाउँपालिका उपाध्यक्ष कोपिला मल्लसहितका जनप्रतिनिधिले गाउँपालिकामा बेथिति र भ्रष्टचार बढेको भन्दै विकास निर्माण र प्रशासनिक खर्चको स्वतन्त्र छानबिनको माग गरेका हुन् ।

नेकपाबाट निर्वाचित उपाध्यक्ष, वडा अध्यक्षसहितका ११ जना जनप्रतिनिधिले गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलन गरी भ्रष्टचारको छानबिनको माग गरे । गत आर्थिक वर्षको सामाजिक लेखा परीक्षण समेत नगराइएको यसले गाउँपालिकामा भएको आर्थिक अनियमिता लुकाउन खोजिएको उपाध्यक्ष मल्लले पत्रकार सम्मेलनमा बताए ।

गाउँपालिकामा कार्यालयको कार्य सम्पादन गर्न विशेषज्ञको रुपमा करारमा कर्मचारी नियुक्त गरिएकोमा सो पदमा नेपाल सरकारबाट पदपूर्ति भइसक्दा पनि जिम्मेवारी नदिई करारमा नियुक्त गरिएका कर्मचारीलाई हालसम्म कामकाज गराई आर्थिक भार थपिएको छ । कुनै पनि सम्भाव्यताको अध्ययन नगरी लगानी सम्मेलन गर्ने भनिएको र सम्मेलनमा खर्चको खाका नबनाई चरम रकम दुरुपयोग गर्न खोजिएको उपाध्यक्ष मल्लले बताइन् ।

गाउँपालिकामा सुशासन कायम गर्नुपर्ने अध्यक्ष लक्ष्मी पाण्डेलेनै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई माघ २६ गते देखि हाजिर गर्न नदिई हाजिरी रजिष्टर लुकाएको समेत उपाध्यक्ष मल्लले बताइन् । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक लगाउँदा सर्वसाधारणले सहजरुपमा सेवा पाउन नसकेको उपाध्यक्ष मल्लले बताइन् । यही विवादले विकास निर्माणदेखि सबै कार्यमा प्रभाव परेको उपाध्यक्ष मल्लको भनाइ छ । आफू अनकुलको प्रमुख प्रशासकीय अधिकृत ल्याएर यसअघि भएका अनियमितालाई लुकाउनका लागि हाल आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको मल्लले पत्रकार सम्मेलनमा आरोप लगाइन् ।

गाउँपालिका अध्यक्षले लक्ष्मी पाण्डेले गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा राखिएको कर्मचारीलाई बिहान बेलुका आफ्नो घरमा काम गर्न लगाउने गरेको वडा नम्बर ३ का वडा अध्यक्ष छविलाल मिधुनले पत्रकार सम्मलेलनमा बताएका छन् । यता गाउँपालिका अध्यक्षले भने आफूले कर्मचारीलाई घरको काममा प्रयोग नगरेको बताएकी छन् । उनले गरेको भए भन्ने व्यक्तिसँगै बुझ्न आग्रह गरेकी छन् । अनियमिताको सवालमा लागेको आरोपमा अध्यक्ष पाण्डेले आफूले सार्वजनिक सुनुवाइ, महालेखा परीक्षणको कार्यालयबाट लेखा परीक्षण गरेको र गाउँपालिकाको वेभसाइटमा समेत सबै नीति तथा कार्यक्रम र बजेटहरू सार्वजनिक रुपमा राखेको बताएकी छन् ।

मंगलबार उपाध्यक्षले गाउँपालिकाको सभाकक्षमा पत्रकार सम्मेलन गरिरहँदा कांगे्रसका कार्यकर्ताले बाहिरबाट ताला लगाउने समेत प्रयास गरेका थिए । गाउँपालिकामा केहीबेर तनावको स्थिति समेत सिर्जना भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक

प्रमुख प्रशासकीय अधिकृतका रुपमा हुप्सेकोट गाउँपालिकामा खटिएका ज्ञानप्रसाद पनेरुलाई गाउँपालिका अध्यक्ष पाण्डेले हाजिर गर्न रोक लगाउँदै आएका छन् ।
मंगलबार गाउँपालिकाको आफ्नो कार्यकक्षमा पुगेका प्रमुख प्रशासकीय अधिकृत पनेरुलाई गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले नेपाली कांग्रेसका कार्यकर्ता लगाएर दुव्र्यहारपूर्ण तरिकारले बाहिर निकालेका थिए । गाउँपालिका अध्यक्ष पाण्डे स्वयम्ले अपशब्दहरू बोली गाउँपालिकाको कार्यालयबाट दुव्र्यवहार पूर्णतवरले आफूलाई निकालेको प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताएका छन् ।

यता गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले आफूले हालका प्रमुख प्रशासकीय अधिकृत पनेरुलाई हाजिर नगराउने अडानसमेत लिएका छन् । बरु प्रमुख प्रशासकीय अधिकृत पद बिहीन रहने तर हाल आएका पनेरुलाई हाजिर नगराउने अडान लिएका छन् । छोटो समयमा पटक पटक प्रमुख प्रशासकीय अधिकृत सरुवा हुदा गाउँपालिकाको विकास निर्माणमानै समस्या परेको अध्यक्ष पाण्डेले बताए । कर्मचारी सरुवाको यस्तै कार्य रहिरहे संघीयताको मर्म अनुसार स्थानीय तहहरुले आफूले चाहे जसरी कार्य गर्न नसक्ने अध्यक्ष पाण्डेको भनाइ छ । मन्त्रालयमा यस विषयमा कुरा पुगेकाले यस अघिका प्रमुख प्रशासकीय अधिकृत लिला वल्लभ न्यौपाने र हालका पनेरु कोही नभै कुनै तेस्रो व्यक्ति आएपछि कार्य अगाडि बढ्ने अध्यक्ष पाण्डेले अडान लिएका छन् ।

पत्रकारमाथि हातपात

पत्रकार सम्मेलनमा मंगलबार पुगेका पत्रकारलाई समेत गाउँपालिकामा दुव्र्यवहार भएको छ ।

उपाध्यक्षले बोलाएको पत्रकार सम्मेलनमा गएका पत्रकारले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्ष लक्ष्मी पाण्डेले अवशब्द बोली कार्यालयबाट निकाल्दै गरेको दृश्य खिचेको भन्दै अध्यक्षका स्वकीय सचिव रसिक लामिछाने र कांग्रेस कार्यकर्ता प्रमोद ढुंगानाले पत्रकारलाई दुव्र्यहार गरेका हुन् । उनीहरू दुवै बिरुद्ध प्रहरीमा जाहेरी समेत परेको छ ।

स्टार टेलीभिजनका पत्रकार अर्जुन सापकोटालाई दुव्र्यवहार गरी सापकोटाको मोबाइल खोसी अध्यक्ष लक्ष्मी पाण्डेका छोरा समेत रहेका स्वकीय सचिव रसिक लामिछानेले मोबाइलका सबै सामग्री नष्ट गरिदिएका थिए । सोही क्रममा अध्यक्ष लक्ष्मी पाण्डेलाई भेट्न पुगेका पत्रकारलाई अध्यक्ष पाण्डेले आफ्नो अनुमति बेगर कोही पत्रकार गाउँपालिका भित्र प्रवेश गर्न नपाउने भन्दै रोक समेत लगाएकी थिइन् । वडा अध्यक्ष, कांग्रेसका कार्यकर्ताले पत्रकारको मोबाइल खोस्न र दुव्र्यवहार गरेका थिए । पत्रकारमाथि भएको दुव्र्यवहार प्रेस स्वतन्त्रता विरुद्धको कार्य भएको भन्दै पत्रकारका पेसागत संगठनले विरोध गरेका छन् । उनीहरुले दोषीलाई तत्काल कारबाही गर्न माग समेत गरेका छन् ।

हुप्सेकोट गाउँपालिकामा विगत केही समय यता विवादमा पर्दै गएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले एकलौटी ढंगले कार्य गरेको, आफ्ना नातेदारलाई कर्मचारीको रुपमा नियुक्ति गरेको भन्दै उनको कार्यशैली प्रति असन्तुष्टि बढेको छ । केही समयअघि गाउँपालिकाको गाडीले ठक्कर दिँदा एक बालकको ज्यान गएको घटनालाई लिएर समेत तनाव कायमै रहेको छ । अध्यक्ष पाण्डेले ठक्कर दिने व्यक्ति गाउँपालिका अधिकृत शिव सुवेदीलाई बचाउनका लागिपरेको पीडितहरुले गुनासो गर्दै आएका छन् । यद्यपि ठक्कर दिने सुवेदी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । परिवारले कुनै प्रकारको क्षतीपूर्ति भने पाउन सकेका छैनन् । हाल प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको विषयसमेत पेचिलो बन्दै गएको छ । यसले गाउँपालिका भित्रका सेवाग्रहीलाई भने समस्या पर्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>