Breaking News

कोरोना प्रभाव: होलीमा भरतपुर सुनसान

Banner

चितवन, फागुन २६-

निकै तामझामका साथ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व यस वर्ष भरतपुरमा सुनसान देखिएको छ ।

विगतमा होली आउनु करिब एक साता अघिदेखि चहलपहल हुने यो पर्व यस वर्ष कोभिड–१९ (कोरोनो भाइरस) विश्वव्यापी रुपमा फैलँदै गएकाले सुनसान बनेको हो । मानिसहरु सडकमा निस्किएर रमाइलो गर्नुभन्दा पनि घरघरमा नै रंग दलेर फोटो खिचेर रमाइलो गरिरहेका छन् ।

भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले भेला तथा कार्यक्रमहरु नगर्नु भन्दै प्रचारप्रसार गरेपछि सर्वसाधरणको पर्वप्रतिको उत्सुकतामा कमी आएको हो । भरतपुरको बजारी क्षेत्रमा आज होली खेलिए पनि पूर्व चितवन र माडीमा भोलि मात्र होली खेलिन्छ । कोरोना भाइरस कुनै पनि बेला भित्रिन सक्ने खतरा बढे्काले प्रशासनले सर्वसाधारणको चहलपहल हुने पर्व, कार्यक्रमलाई तत्कालका लागि स्थगन गरी सुरक्षित रहन आग्रह गरेपछि सर्वसाधारण सजग भएकोले जिल्ला शान्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विगतमा साता अघिदेखि बजारमा लोला, रंग, अबिर, टिसर्टहरु किन्नेको चहलपहल बढेपनि यो बर्ष साना साना बालबालिका त्यो पनि न्यून संख्यामा मात्र किन्ने गरेको व्यापारीहरुको भनाइ छ । नारायणगढको सडकको पेटीमा व्यापार गर्दै आएका शिवनारायण यादवले भने, ‘अघिल्लो वर्ष होली आउने अघिल्लो दिनसम्म झण्डै डेढ लाखसम्मको व्यापार हुन्थ्यो, यसपटक त १० हजार पनि पुगेको छैन ।’ ‘बिक्री होला भन्ने ठानेर ऋण लिएर भए पनि सामान मौजाद गरियो,’ उनले भने, ‘तर यसपटक विभिन्न कोरोनाका कारण प्रशासनले कडाइ गर्दा व्यापार नै ठप्प भो, ऋण तिर्न नै मुस्किल भयो।’

रोग प्रवेशभन्दा पनि सामाजिक सञ्जालमा फैलिएको त्रासले व्यापारी मर्कामा परेको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ कोरानाको त्रासले मझौला व्यवसाय चौपट नै भएका छन् । मनोवैज्ञानिक त्रासले पनि व्यवसायच चौपट भएको छ ।’ उनले होटल व्यवसाय र पर्यटन क्षेत्र सबै चौपट नै भएको बताए । होलीको दिनमा चितवनबाट दमौली गएका श्रेष्ठले होलीको दिनमा सबैतिर खासै रौनक नदेखिएको विचार राखे ।

होली खेल्न नारायणी नदी किनारमा पुगेका सप्तगण्डकी बहुमुखी क्याम्पसका स्नातक तहका विद्यार्थी सुमित आचार्यले पहिले पहिले नदी किनारमा हरेक वर्ष कन्सर्ट हुने गरे पनि यसवर्ष खासै केही विशेष कार्यक्रम नभएको बताए । उनले भने, ‘गत वर्षको भन्दा सडकमा मानिस कम नै छन् ।’ हरेक दिन जस्तै मानिसहरु होली खेल्न नारायणी नदी किनारमा पुगे पनि भरतपुरका अधिकांश सडकमा खासै रौनक देखिएन । छिटो छिटो कोर्स सक्ने हतारले विद्यालयहरु सुचारु भएकोले पनि स्कुले उमेरका बालबालिका पनि सडकमा कमै देखिए ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>