Breaking News

कोरोनाभाइरस : मृत्यु हुनेको दर ६ प्रतिशत, उपचारपछि ठीक हुने ९४ प्रतिशत

Banner

काठमाडौं, फागुन २४–

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहँदा यसबाट जोगिने अनेक उपाय खोजिँदैछ ।

डिसेम्बरको अन्तिमबाट चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण ९५ भन्दा बढि मुलुकमा पुगिरहँदा ३४ सय भन्दा बढिको मृत्यु भएको छ ।

मृतक मध्ये ८८ प्रतिशत चिनियाँ नागरिक छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्म मृत्यु भएका ३४ सय ९४ जनामध्ये ३ हजार ७० जना चिनियाँ नागरिक हुन् ।

कोरोना भाइरसबाट ज्यान गुमाएका अरु १२ प्रतिशत मानिस १७ देशका छन् । चीन बाहिर ४ सय ४१ जनाको मृत्यु भएको हो ।

संसारभर १ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएर अस्पतालका शैयामा थलिएका छन् ।

तर संक्रमण फैलिएको साढे २ महिनामा मानिसहरु कोरोनाभाइरसका कारण मरेका मात्रै छैनन् उपचारपछि हजारौं ठीकठाक भएर घर पनि फर्किएका छन् ।

विश्वस्वास्थ्य संगठन (डब्लूएचओ ) अनुसार संक्रमित भएकामध्ये मृत्यु हुनेको दर ६ प्रतिशत छ भने उपचारपछि ठीक हुने ९४ प्रतिशत छन् ।

कोरोनाबाट संक्रमित भएका १ लाख २ हजार ४८ जना मानिसमध्ये ५७ हजार ६ सय ९ जना मानिस उपचारपछि घर फर्किएका छन् ।

४० हजार ९ सय ४५ जना उपचारारत छन् । यीमध्ये ८४ प्रतिशत अर्थात ३४ हजार ५ सय ४४ जनाको अवस्था सामान्य रहेपनि १६ प्रतिशत अर्थात ६ हजार ४ सय १ जनाको अवस्था भने नाजुक छ ।

संक्रमण अरु मानिसहरुमा नफैलियोस् भनेर सामान्य विरामी भन्दा फरक तवरले आइसोलेसन अर्थात छुट्टै राखेर उपचार भइरहेको छ ।

कोरोनाले हायलकायलको अवस्थामा पुगेको चीनमा ८० हजार ६ सय ५१ जनामा कोरोनाभाइरसको संक्रमण देखिए पनि ५५ हजार ४ सय २ जना मानिस निको भएर घर फर्किएका छन् ।

२१ हजार १ सय ७९ जनाको चीनका विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यसमध्ये ५ हजार ७ सय ३७ जना सिकिस्त अवस्थामा छन् ।

वैज्ञानिकहरु यसविरुद्धको खोपको परीक्षण गर्दैआएका छन् । बिबिसीका अनुसार वैज्ञानिकहरुले यस्तो खोपको विकास गरी जनावरमाथि परीक्षण गरिरहेका छन् । तर मानवमाथि नै परीक्षण गर्ने अवस्थामा उनीहरु पुगेका छैनन् । जनावरमाथिको परीक्षण सफल भएको खण्डमा मानिसमाथि परीक्षण गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>