बलिउड/हलिउड
रजनीकान्तलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग

एजेन्सी, माघ १६-
डिस्कभरी च्यानलको चर्चित साहसिक कार्यक्रम ‘म्यान भर्सेस वाईल्ड’मा बलिउडका चर्चित कलाकार रजनीकान्त देखिने भएका छन् ।
रजनीकान्त स्टारर एपिसोडको सुटिङ कर्नाटकको बान्दीपुर नेशनल पार्कमा भयो । यद्यपि, यो कुरा केही अभियानकर्तालाई मन परेन । यी व्यक्तिले रजनीकान्तको शोको सुटिङमाथि आपत्ति जताएका छन् । यतिमात्रै होइन, उनीहरुले रजनीकान्तलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न पनि माग राखेका छन् ।
बान्दीपुर नेशनल पार्कमा एउटा टाइगर रिजर्व पनि छ । यसै कारण यी अभियानकर्ताहलाई कार्यक्रमको सुटिङसँग समस्या भएको हो । बान्दीपुर नेशनल पार्कमा बस्ने जनावरलाई खतरा हुनसक्छ भन्दै आफूहरुलाई डर भएको उनीहरुको भनाई छ ।
यो मात्र नभइ, सुख्खा मौसमका कारण यो नेशनल पार्कमा आगलागी पनि हुनसक्ने जसमाथि नियन्त्रण पाउन मुश्किल हुने भन्दै उनीहरुले आपत्ति जताएका छन् । एक अभियानकर्ताका अनुसार यो एपिसोड आजकालको सुख्खा मौसममा भन्दा मनसुनको समयमा पनि सुट हुन सक्थ्यो ।
यस कार्यक्रमको लागि रजनीकान्तले जारी रहेको ‘थलैभर १६८’ सिनेमाको सुटिङलाई स्थगित गरेका हुन् ।
गत अगष्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत उक्त कार्यक्रममा देखिएका थिए ।
























