चितवन विशेष

भरतपुरमा सीप सिकेर जीवन बदल्दै अपाङ्गता भएका महिला

Banner

निशा श्रेष्ठ

चितवन, पुस १३-

खट्खट् मेसिनको आवाज । भरतपुर महानगरपालिका–१० स्थित जिल्ला समन्वय कार्यलयको ठीक अगाडि रहेको लेडिज टेलर्समा गुञ्जिने यो आवाज, आवाज मात्रै होइन, आत्मविश्वासको सुमधुर धुन पनि हो । अपाङ्ग जागरण अभियानद्वारा सञ्चालित सो टेलर्समा शारीरिकरुपमा अपाङ्गता भएका महिलाका आत्मविश्वासका कथा जोडिएका छन् ।

विसं २०५९ सालमा खोलिएको सो टेलर्समा सिलाइ बुनाइदेखि विभिन्न कपडाका झोला बनाउनेदेखि लिएर प्रशिक्षण दिने काम गरिन्छ । यहाँ अपाङ्ग भएका महिलालाई निःशुल्करुपमा प्रशिक्षण दिइन्छ भने अन्यलाई पनि सशुल्क रुपमा प्रशिक्षण दिइन्छ । अपाङ्ग जागरण अभियान चितवनकी कोषाध्यक्ष पार्वती महतोको खुट्टामा पोलियोले राम्रोसँग हिड्न मुस्किल पर्छ । संस्थामा २०५९ सालदेखि लागेकी उनले अहिले सिलाइबुनाइका ४०\४५ आइटमका सिलाइबुनाइदेखि विभिन्न प्रकारका ब्याग बनाउने तालिम दिने काम गर्छिन् ।


एसएलसी दिएपछि केही न केही गर्नुपर्छ भन्ने मनमा लागे पछि संघसंस्था जोडिएर सिलाइबुनाइमा लागेकी उनले थुप्रैलाई तालिम दिएर आत्मनिर्भरता सिकाइसकेकी छिन् । उनी भन्छिन् ‘आफ्नो हातमा सीप भएपछि कसैसँग हात थाप्नुपर्दैन । आत्मनिर्भर हुन सिकिन्छ , अपाङ्ग भएकाले पनि अवसर पाएमा हरेक काम गर्न सक्छन् ।’ उनीहरुले बनाएका हाते ब्याग, साइड ब्याग, वातावरण मैत्री झोलाहरु लस्करै झुन्डिएका छन् पसलमा । शिवनगरकी २८ वर्षीय राधिका विक पनि यस संस्थामा विगत तीन वर्षदेखि जोडिएकी छन् । अहिले उनी भन्छिन् ‘सीप सिकेपछिको आत्मविस्वाश छुट्टै हुदोरहेछ, दुईचार पैसाको लागि कसैको भर पर्नुपर्दैन ।’ उनको जन्मँदै खुट्टामा समस्या देखिएको हो । उपचार गर्दा पनि निको भएन । अहिले खुट्टा राम्रोसँग चल्न सक्दैन ।

‘यो अपाङ्ग यसले केही गर्न सक्दैन हामीले नै पाल्नुपर्छ’ भन्ने जस्ता समाजमा सुनिँदै आएका नमिठा बचन अहिले सीप सिकेपछि मायामा परिणत हुँदै गएको उनको अनुभव छ । भरतपुर भोजाड घर भएकी भुमकला कुँवरको पनि हातखुट्टा नै राम्रोसँग चल्दैन । हिड्दै गर्दा बेला बेला लडिरहन्छिन् । लठ्ठीको साहाराले मात्रै हिड्न सक्छिन् । दायाँ हात फिटिक्कै चल्दैन । एकवर्षदेखि सिलाइबुनाइ सीप सिक्दै आएकी छिन । । दायाँ हात नचल्नाले मेसिनहरु चलाउन गाह्रो हुन्छ उनलाई त्यही पनि सिक्ने क्रम जारी छ । हिम्मतले आत्मविश्वास विस्तारै भर्दै छ । उनी भन्छिन् ‘अहिले अलिअली जानेकी छु जानेपछि केही गरौंला भन्ने सोच छ ’ । अहिले यहाँ उनी जस्तै शारीरिक अपाङ्ग भएका १५ जना निरन्तररुपमा काममा लागिरहेका छन् ।

सटर भाडामा लिएर सो टेलर्स चलाइरहेको अपाङ्ग जागरण चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठले बताए । शारीरिक रुपमा अपाङ्ग भए पनि आर्थिक, सामाजिकरुपमा व्यक्तित्व विकासलाई अगाडि बढाउन निरन्तररुपमा निःशुल्क तालिम दिइरहेको उनले बताए । अहिले  यसैबाट आम्दानी गरेर उनीहरुले आफूसहित आफ्नो परिवार पनि चलाइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>