चितवन विशेष

रिटायर्ड जीवनको सारथी बन्दै भरतपुरको शीतल चौतारी

Banner

निशा श्रेष्ठ

चितवन, मंसिर १७

बढ्दो सहरीकरण र व्यस्त जीवनयापन एक अर्काको पर्याय नै हुन् । विकासको गतिसँगै आजभोलि भरतपुरका अधिकांश युवाहरु देश तथा विदेशमा ब्यस्त छन् । यता ढल्कँदो उमेरसँगै साहारा चाहिने वृद्धृवृद्धाहरु एक्लै दिनभर घरमा बसिरहनु एक नियती बनिसकेको छ । घरपरिवारमा उनीहरुका कुरा सुनिदिने कोही भेटिदैन ।

तर, भरतपुर महानगरपालिका–१० बाइपास छेउको विशाल टोलमा रहेको शीतल चौतारी प्रतिक्षालयमा भने फरक दृश्य देख्न सकिन्छ । ठूलाठूला वरपिपल र समीका रुख । त्यही नजिकै छ, एउटा गज्जबको प्रतिक्षालय (चौतारो) । टिनको छानो, काठका बेञ्चहरु अनि खानेपानीको धारो, शौचालय पनि सँगै छ । प्रतिक्षालयपरिसरमा नै धार्मिक आस्थाको गणेश र लक्ष्मीको मूर्ति पनि देख्न सकिन्छ । त्यही चौतारीमा २० देखि २५ जनासम्म वृद्ध उमेरसमूहका ज्येष्ठ नागरिक कोही पत्रिका पढ्दै त कोही एकाआपसमा गफिदै गरेको दृश्य देख्न सकिन्छ । उनीहरु हरेक दिन गर्मी छेल्न होस् या जाडोमा घाम ताप्न्न यही आइपुग्छन् । रिटायर्ड जीवनको साहारा नै उनीहरुको लागि प्रतिक्षालय बन्ने गरेको छ ।

विशाल टोलकै ८८ वर्षीय गिरीनाथ सापकोटा पनि दिनहुँ यही आइपुग्छन् । आफ्नै उमेर समूहका साथीहरु भेला भई गफिँदा दिन बितेको पत्तै नहुने उनी बताउँछन् । यहाँ उनी जस्तै नियमितरुपमा आउने धेरै जसो ६० वर्ष माथिका आफ्नो काम कर्तव्यबाट मुक्त (रिटायर्ड) जिन्दगी बिताइरहेका छन् । क्षेत्रपुरबाट आएका ७७ वर्षीय प्रशाद केसी घरमा बस्दा पनि काम गर्न नसकिने यहाँ आएपछि बुद्धिजीवीका गफ सुन्दैमा दिन बित्ने उनी बताउँछन् । उमेर बढ्दै गएर शारीरिक शक्ति घट्दै गए पनि उनीहरु गफगाफमा जोशिला देखिन्छन् । विशाल टोलका लक्ष्मीप्रसाद रेग्मी देशमा मौलाउँदो भ्रष्टचार अराजकता र बलात्कारका घटना फैलिरहेकोमा चिन्ता व्यक्त गर्छन् । पहिलेभन्दा अहिले झनै विकृति फैलेको उनको अनुभव छ ।

प्रतिक्षालयमा जीवनमा विभिन्न क्षेत्रमा अनुभव समेटेका वृद्धहरुको जमघट हुने भएकोले देशको, व्यक्तिगत र घरपरिवारको पीडादेखि राजनीतिसम्मले प्राथमिकता पाउने गरेको छ । तीन वर्ष अघि शिक्षक पेसाबाट सेवा निवृत भएपछि निरन्तररुपमा यही चौतारीमा आइपुग्ने ६३ वर्षीय राधाकृष्ण घिमिरेले ज्येष्ठ नागरिकलाई यो ठाउँ आनन्ददायक रहेको बताए । उनीहरु हरेक दिन बिहान १० देखि ११ बजेसम्म यही चौतारोमा आइपुग्छन् र आफ्नो समयानुकुल घरमा फर्किन्छन् । यो चौतारो पहिल्यैदेखि भएता पनि विसं २०७२ सालयता भरतपुर महानगर , स्थानीयलगायत सबैको सहयोगबाट पुनर्निर्माण भएपछि झनै गज्जबको स्थल बनेको उनीहरु बताउँछन् । पछिल्लो समय सहरी क्षेत्रमा पार्टी पौवा र प्रतिक्षालय हराउँदै गरेको बेला यो चौतारो ज्येष्ठ नागरिक, जो कामकाजी जीवनबाट रिटायर्ड भएर बसेकाहरुका लागि भोगाइ र विचार साट्ने उत्तम थलो बनेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>