अर्थ

नारायणीबाट भारतसम्म पानीजहाज सञ्चालन पारवहन वार्ताको मुख्य एजेन्डा

Banner

काठमाडौं, मंसिर १०-

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन लागि द्धिपक्षीय पारवहन वार्ता आज काठमाडौंमा सुरु भएको छ । वार्तामा नेपाली नदीबाट भारतीय समुन्द्रसम्म पानीजहाज चलाउने विषयले पनि प्राथमिकता पाएको छ ।

वार्तामा नेपाली टोलीको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । भारतका तर्फबाट वाणिज्य मंत्रालयका सहसचिव भूपिन्दर सिंह भल्लाको नेतृत्वमा टोलीमा आठ सदस्य छन्।

वार्तामा नेपालले पारवहन सहजीकरणका लागि विभिन्न एजेन्डाहरू प्रस्तुत गर्नेछ । नेपालको पानीजहाजले भारतीय समुद्रमा प्रवेश पाउने विषयलाई वार्तामा प्रमुखरूपमा उठाइएको छ । जसका लागि नेपालले तीनवटा रुटका लागि प्रस्ताव गर्दैछ। कोलकाताबाट कालुघाट, साहेबगञ्ज र बनारसलगायत रूट प्रयोगको बारे छलफल अघि बढ्ने सहसचिव ढकालले बताए। भारतले आफ्ना नदीहरूमा निर्धारण गरिरहेको जलमार्ग नेपालले प्रयोग गर्न पाउँदा तेस्रो मुलुकसँगको व्यापारमा सुविधा हुनेछ । यो विषयलाई प्रमुखता दिएर छलफल हुने उनले बताए ।
यसअघि नेपाल र भारतका उच्चस्तरीय अधिकारीको संयुक्त टोलीले नारायणी नदीमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको बताएको थियो । पानीजहाज सञ्चालन गर्ने सम्भावनाको विस्तृत अध्ययन गर्ने क्रममा २० फागुनमा गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको अध्ययन गरेको टोलीले गण्डकमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको बताएको हो ।

गण्डक ब्यारेजबाट भारतको गंगा नदी पुग्न करिब ३०० किलोमिटर र गंगाबाट समुद्र सतहसम्म पुग्न करिब ८४० किलोमिटर गरी यस क्षेत्रबाट कूल एक हजार १४० किलोमिटरको दूरीमा समुद्रसम्म पुग्न सकिने नेपाली टोलीले बताएको थियो । पानीजहाजलाई नेपाली भूमिमा कत्रो, कसरी र कुन रूपमा ल्याउन सकिन्छ भनेर अध्ययन गर्ने जिम्मेवारी पाएसँगै नेपाल र भारतको संयुक्त टोलीले ‘फिल्ड’मा अवलोकन गरी फर्किएको थियो।

यस्तै पारवहन वार्तामा अहिलेसम्म भारतको कोलकातादेखि नेपालको वीरगञ्ज सीमावर्ती रक्सौलसम्म मात्र रेलबाट कार्गो आउँछ । अब कोलकाताबाट विराटनगर सीमावर्ती जोगबनी र भैरहवासम्म पनि ठूलो परिमाणको सामाग्री (बल्क कार्गो) ल्याउन पाउनेगरि सहमति बन्ने सहसचिव ढकालले बताए । कार्गो ल्याउन पाउने सुविधाका लागि विराटनगर र भैरहवा नाका पनि थप्न अघिल्लो वार्तामा नेपालले गरेको प्रस्तावमा भारत सकारात्मक थियो ।

’ठूलो परिमाणमा ल्याउनुपर्ने कोइला र मल औद्योगिक करिडोरमै पुग्नेगरि छलफल भइरहेको छ,’ उनले भने । दुइदिने वार्ताले नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्नेछ। यसअघि गत चैत पहिलो साता दिल्लीमा भएको वार्तामा नेपालले आफ्ना लागि जलमार्गको सुविधा थप्न भारतसँग प्रस्ताव गरेको थियो ।

 

प्रतिकात्मक तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>