चितवन विशेष
राष्ट्रिय मूर्ती कार्यशालामा आएका कलाकारलाई माडीमा स्वागत, बसन्तपुर बजारमा शोभायात्रा

चितवन, कात्तिक २३-
माडी नगरपालिकामा सहभागी हुन आएका राष्ट्रका ख्यातिप्राप्त कलाकारहरुलाई माडी नगरपालिकामा भव्य स्वागत गरिएको छ ।
माडीको सोमेश्वर गढी क्षेत्रमा आजबाट सुरु राष्ट्रिय प्रस्तर मूर्ती कार्यशालामा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरु सहभागी हुन आएका हुन् । कलाकारहरुलाई अबिर र माला लगाइ स्वागत गरिएको हो । पञ्चे बाजाको साथमा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, माडी पर्यटन विकास समितिका अध्यक्ष पुरन महतो, वडा अध्यक्षहरुलगायतले उनीहरुलाई स्वागत गरेका हुन् । स्वागत पश्चात माडी नगरपालिकाको कार्यालयदेखि माडी क्याम्पससम्म वृहत् शोभा यात्रासमेत गरिएको छ ।
शोभायात्रामा माडी नगरपालिकाका पदाधिकारी, कर्मचारी, वडा अध्यक्ष ,कार्यपालिका सदस्य, कलाकारहरु, स्थानीयको सहभागिता रहेको थियो । आज बिहान १० बजे कार्यशाला स्थल सोमेश्वरगढीमा कार्यशालाको उद्घाटन भयो । लगातार १८ दिनसम्म कलाकारहरु आवासीय रुपमा सोमेश्वर क्षेत्रमा मूर्ती तयार गर्नेछन् ।
कार्यशालामा नेपालका ख्यातिप्राप्त कलाकारहरु लक्ष्मण भुजेल, राजु पिठाकोटे, गंगाधर सारु, राजन काफ्ले, उत्तम डंगोल, हरिराम अधिकारी, हिम्मत नेम्वाङ, रामचन्द्र पण्डित, देवेन्द्र पाण्डे, इन्दिरा श्रेष्ठ, सुनिता राणा, दिनेश्वर महतो, सुमन राई, भीम श्रेष्ठलगायत नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा आवद्ध ३० जना मूर्तीकारहरुको सहभागिता छ ।
























