विचार/ब्लग

काण्डै काण्डमा फसेका कृष्णबहादुर महरा ! यी हुन् उनका चर्चित काण्ड

Banner

नारायणी अनलाइन डेस्क

सामाजिक सञ्जालका भित्ताहरुमा सभामुख महरालाई लक्षित गर्दै लेनिनको भनाइ लेखियो, ‘हजारौ गोलीको छर्राले नढलेको एक योद्धा यौनको लालसाले ढल्ने गर्छ ।’ माओवादी विद्रोहकालमा पनि खम्बा जस्तै निडरताका साथ उभिएका महरा अहिले आफूमाथि लागेको यौंनहिंसाको आरोपको अगाडि लत्रिएका छन् । बुढापाकाहरु पैसा र यौनले मानिसलाई पतन गराउँछ भन्ने गर्दथे नभन्दै अभियोग लाग्दैमा महरामाथि गरिएका टिकाटिप्पणीले उनका प्रशंसकहरुको शीर पनि निहुरिएको छ । कयौं काण्डमा नाम जोडिँदा पनि कसैले हल्लाउन नसकेका महरा अन्तत युवतीसँगको सम्बन्धको काण्डबाट पाखा लागेका छन् ।

बलात्कारको आरोपमा सभामुख पदबाट राजीनामा दिएपछि नेकपा नेता कृष्णबहादुर महराको बारेमा विभिन्न चर्चा परिचर्चा भएको छ । महराले बलात्कार गरे वा गरेनन् त्यो त प्रहरी प्रशासन र अदालतले पुष्टि नै गर्ला तर पनि उनको आचरणमा प्रसस्त शंका उपशंका गर्न सकिन्छ । रातको समयमा रक्सीको बोत्तल बोकेर अर्काको घरमा जानु भनेको पक्कै पनि राम्रो काम होइन । सामाजिक सञ्जालमा बाहिरिएको भिडियोमा पनि पीडित महिलाले पत्रकारसँग कुराकानी गरिरहँदा एमसरको नाममा कृष्णबहादुर महराको फोन पटकपटक आइरहन्छ । यदि शक्ति र सत्ताको नाममा छानबिन प्रभावित नहुने हो भने सर्वसाधारणको जस्तै टेलिफोन कल डिटेलको अध्ययन गरेर नै महरा दोषी थिए वा थिएनन् सजिलै पत्ता लगाउन सकिन्छ । न्याय सर्वसाधारण र शक्तिशाली व्यक्तित्व सबैलाई समान हुन्छ वा फरक यो घटनाबारे भविष्यमा हुने छानबिनले पनि सो बताउँछ ।

विश्वका विभिन्न देशका राष्ट्रप्रमुखहरुको यस्ता काण्डका नाम चर्चामा आइरहे पनि नेपालमा भने यति उच्च पदको मानिस यस्ता काण्डमा नाम जोडिनु पहिलो नै हो । विभिन्न सांसदका नाम भने यस्ता काण्डमा जोडिएकै थियो । नागरिकले तिरेको करमा विभिन्न सेवासुविधा लिइरहेका उच्च पदस्थ व्यक्तिहरु नै यसरी रातारात रक्सीको बोत्तल बोकेर हिड्नु पक्कै पनि सबैको शीर निहुरिने प्रकारको घटना हो । कयौं दशकदेखि शिक्षा क्षेत्र र राजनीतिमा निकै राम्रो प्रतिष्ठा प्राप्त गरेका महरा यसरी यस्ता झिनामसिना घटनामा आरोपित भएर पद त्याग गर्न पुगेका छन् । चरित्रमा दाग लागे पछि यदि उनी निर्दाेष नै भए पनि फेरि उनको प्रतिष्ठा प्राप्त गर्न निकै कठिन देखिन्छ । को हुन् महरा उनको जीवनीको बारेमा नारायणी अनलाइनले केही विश्लेषण गर्ने प्रयास गरेको छ ।

चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा नेकपाको दुई तिहाइ बहुमतको सरकार बनेपछि प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका हुन् । महरालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखको शालीन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वास गरेको थियो । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धलाई शान्तिपूर्ण तवरले व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका महरा विसं २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक र २०६० मा तत्कालीन सरकारसँगको दोस्रो वार्ता टोली सदस्य तथा प्रवक्ताको जिम्मेवारीमा थिए ।

विसं २०६३ मा तत्कालीन सरकारसँग वार्ताका लागि गठित तेस्रो वार्ता टोलीको संयोजक हुँदा महराले पार्टीलाई शान्तिको बाटामा ल्याई राष्ट्रलाई महत्वपूर्ण समाधान दिन महत्वपूर्ण योगदान गरेका थिए । मुलुक संघीय संरचनामा अगडि बढेलगत्तै गत मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा दाङ २ बाट निर्वाचित महराले संविधानसभा सदस्यको दुवै निर्वाचनमा निर्वाचित भई समावेशी संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साबिक माओवादी पार्टीमा महरा एक बलियो खम्बा नै मानिन्थे ।

महराले उपप्रधानमन्त्रीसहित अर्थ, परराष्ट्र, गृह एवम् सूचना तथा सञ्चार मन्त्रालय सम्हालिसकेका छन् । कुनै बेला रोल्पाको गणित शिक्षक तथा प्रधानाध्यापक रहेका महराले अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, वर्षाराम पुनलगायत धेरै नेताहरुलाई पठाएका थिए । उनी रोल्पामा अहिले पनि महरा सरकोको नाममा चिनिन्छन् । त्यस्तै अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्यमा रहेर जिम्मेवारी सम्हालेका महराले २०६९ सालमा एकीकृत नेकपा (माओवादी) सातौंँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, मध्यब्यूरो इञ्चार्ज भए । विसं २०७१ मा एकीकृत नेकपा (माओवादी)को महासचिवमा निर्वाचित महरा २०७३ सालदेखि पार्टी केन्द्रीय कार्यालय सदस्यको जिम्मेवारीमा थिए ।

विसं. २०६३ पुसमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेता महरा २०६५ सालको पार्टी एकतापछि पार्टीको स्थायी समिति सदस्य भएका थिए । विसं. २०६४ चैतमा सम्पन्न संविधानसभा सदस्यको निर्वाचनबाट दाङ ३ बाट निर्वाचित महरा २०६५ भदौमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता थिए ।

विसं. २०३५–०३६ को विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय भएका महरा सोही समयदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि थिए । विसं. २०३९ देखि २०४१ सम्म अनेरास्ववियुको आठौंँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य हुँदै पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष र उपाध्यक्ष भएका थिए । उनी २०४१ देखि २०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पाको मन्त्री र २०३६ देखि २०४८ सालसम्म विज्ञान र गणित शिक्षक थिए ।

विसं. २०४८ देखि नेकपा (मशाल) रोल्पा सेक्रेटरी तथा सोही वर्ष भएको निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महरा २०५० सालमा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता थिए । उनी विसं. २०५१ मा नेकपा (माओवादी)को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, २०५३ सालमा केन्द्रीय सदस्य र २०५५ मा पोलिटब्यूरो सदस्य भए । विसं. २०६१ मा नेकपा(माओवादी) पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेका महरा विसं. २०६२ मा स्थायी समिति सदस्य र २०६२ मा पार्टी सचिवालय सदस्य भए ।

पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं. २०१५ असारमा रोल्पा, लिवाङ–७ स्थित धारापानीमा जन्मिएका महराको हालको स्थायी घर रोल्पा नगरपालिका वडा नं १ मा रहेको छ । बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गरेका छन् ।

के के छन् उनका विवादित काण्डहरु ?

कृष्णबहादुर महरा संसदीय राजनीति र भूमिगत विद्रोही राजनीतिमा जति चर्चित हुँदै गए त्यतिनै उनको नाम जोडिएर विभिन्न विवादित काण्डहरु पनि बाहिर आए । संघीय संसदमा सभामुखको भूमिका निभाइरहँदा जसरी पूर्वसभामुख नेम्वाङले सबैलाई मिलाएर अगाडि बढाउँथे तर महरामा समन्वयकारी भूमिका देखिएन । उनको कार्यशैलीलाई लिएर प्रतिपक्षी कांग्रेसले पटपटक संसद अवरुद्ध गरेको थियो । प्रतिपक्षी दलले विरोध गरिरहँदा पनि उनी संसदीय प्रक्रिया जर्बजस्ती अगाडि बढाउँथे ।

उनी अर्थमन्त्री र सञ्चारमन्त्री बन्दा नि विभिन्न काण्डहरु उनको नाम जोडिएर आए । जसबारेमा नत सरकारले नै दोषी प्रमाणित गर्न सक्यो नत उनी नै निर्दोष भए । उनी सञ्चार मन्त्री हुँदा रेडियो फ्रिक्वेन्सीको मूल्य कौडी बराबर बनाएको आरोप लाग्यो । सांसद किनबेचको लागि चीनसँग ५० करोड रुपैयाँ मागेको भन्ने टेप काण्ड पनि उनको आवाजमा सार्वजनिक भयो । त्यस्तै अर्थमन्त्री बन्दा ६६ करोड गैर बजेट रकमान्तर र माओवादी विद्रोहकालमा निर्दाेष नागरिकलाई जनसेना हिरासतमा यातनाको आदेश दिएको भन्ने जस्ता काण्डहरु सार्वजनिक भएका थिए । माओवादीका पूर्वलडाकूहरुले लडाकूको नाममा बुझेको करोडौं बेरुजु भएको तथ्यहरु पनि बाहिरिए त्यो रकम अहिलेसम्म पनि कहाँ हरायो पत्ता लागेको छैन । करोडौं राजस्व हिनामिनाको अरोप लगेका चुडामणि शर्मासँग अनुचित उठबसको विषय पनि महरामाथि आरोप लागेको थियो । छोराको एन्जिओमा चिनियाँ लगानीदेखि विदेशमा शंकास्पद भ्रमण र शंकास्पद भेटसम्मका आरोपहरु उनीमाथि लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको अवैध सुन काण्डबारे पनि महराको नाम जोडिएर आएको थियो तर त्यसबारे प्रमाणित भने भएको थिएन ।

यसरी महरा नेपालको राजनीतिमा एउटा लोकप्रिय शिक्षकदेखि लोकप्रिय नेतासम्म त बने तर उनको जीवन पूर्णतया निश्कलंकित भने हुन सकेको थिएन । कतिपय काण्डहरुबारे नाम जोडियो तर केही छानबिन त भएन । अहिलेको बलात्कारको अभियोगमा भने मुक्त हुन त्यति सजिलो छैन । यो घटना बाहिरिनु र महरालाई राजीनामा दिन बाध्य बनाउनुमा विभिन्न सामाजिक सञ्जाल र अनलाइनहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । जसले नेकपाको सचिवालयलाई पनि उनको राजीनामाबारे सोच्न बाध्य बनायो । विभिन्न नेताको गलत कार्यशैलीले शाख र लोकप्रियता गिर्दे गएको नेकपामा पछिल्लो महरा प्रकरण झनै ठूलो धक्का हो । नेताका कार्यशैली र व्यवहारलाई सभ्य र शिष्ट बनाउन नसकेमा पार्टीको लोकप्रियता पक्कै घट्दै जाने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>