चितवन विशेष

चितवनमा अध्यापन अनुमतिपत्रको परीक्षा : नागरिकलाई सास्ती र पीडा

Banner

नारायणी अनलाइन डेस्क

चितवन, असोज ९

नेपाल सरकार शिक्षक सेवा आयोगले लिने प्राथमिक तहको अध्यापन अनुमतिपत्र परीक्षा आज सकिएको छ । देश संघीय संरचनामा गएर गाउँगाउँमा सिंहदरबारको अधिकार दिइएको भनिए पनि नागरिकले भने घण्टौं गाडी चढेर परीक्षा दिन अर्काे जिल्ला जानुपर्ने बाध्यता छ ।

मकवानपुर जिल्लाका परीक्षार्थीले चितवनमा आएर अध्यापन अनुमतिपत्रको परीक्षा दिनुपर्ने बाध्यता शिक्षा सेवा आयोगले सिर्जना गरेको छ । त्यस्तै, देशका ७७ वटा जिल्लामा ५५ वटा मात्र केन्द्र बनाउँदा नागरिकले सास्ती पाएका छन् । मकवानपुरको राक्सीराङबाट बालकुमारी मावि नारायणगढमा दुई जना बच्चा लिएर परीक्षा दिन आएकी सुनिता चेपाङले नारायणी अनलाइनलाई परीक्षा निकै खर्चिलो र पीडादायी भएको बताइन् । उनले भनिन्, ‘ घरमा बच्चा हेर्ने कोही छैन । श्रीमान् विदेश हुनुहुन्छ । भविष्यमा शिक्षक बन्ने लक्ष्यले दिएको लाइसेन्सको परीक्षा मेरो लागि जीवनकै दुःखदायी र झन्झिटिलो काम बन्यो । हेर्नुहोस्, दुई बच्चा साथमा लिएर परीक्षा दिन आएकी छु ।’ उनले गाउँगाउँमा सिंहदरबार आउने भनेर नेतालाई जिताए पनि सामान्य परीक्षाको लागि पनि धेरै टाढा धाउनुपर्ने बाध्यता रहेको बताइन् । उनले शिक्षक सेवा आयोगले जागिर नै दिने गरी पैसा असुलेको तर मकवानपुर केन्द्र तोक्न नसकेर नागरिकलाई पीडा दिएको आरोप लगाइन् । उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता कयौं परीक्षार्थी केन्द्र टाढा भएर परीक्षा दिन आउन पाएनन् ।

शिक्षामन्त्रालयका पूर्वसल्लाहकार तथा शिक्षाविद् रमाकान्त सापकोटाले पनि शिक्षक सेवा आयोगको यो प्रवृत्ति सही नभएको बताए । उनले भने, ‘स्थानीय तहले शिक्षा क्षेत्रमा केही राम्रो गर्न खोजे पनि शिक्षा मन्त्रालय र शिक्षक सेवा आयोगकको केन्द्रिकृत मानसिकता हटेको छैन । उनीहरु निकै ढिलो चलेका छन् । ’ उनले नागरिकसँग पैसा लिएर गर्ने भएपछि जतीजना विद्यार्थी भए पनि आफ्नै जिल्लामा परीक्षा केन्द्र तोक्नुपर्नेमा अव्यवस्थित ढंगले केन्द्र तोकेको आरोप लगाए । उनले आयोगले चाहेमा जिल्लाका शिक्षा समन्वय इकाइ र स्थानीय तहसँग समन्वय गरेर काम गर्न सक्थ्यो तर त्यस्तो नगरेको बताए ।

शिक्षक सेवा आयोग भने नागरिकले दुःख पाएको कुरा मान्न तयार देखिँदैन । शिक्षक सेवा आयोगकको उपसचिव दामोदर आचार्यले नागरिकलाई दुःख दिने नियतले आफूहरुले त्यस्तो नगरेको जानकारी दिए । केही घण्टामा पुग्ने गरी सहज पर्ने ठाउँमा परीक्षा केन्द्र तोकिएको उनले बताए । लोकसेवाले परीक्षा सञ्चालन गर्ने मोडलमा नै आफूहरु चलेको उनको दाबी थियो । जिल्लामा शिक्षा क्षेत्रमा समन्वयको काम गर्दै आएको शिक्षा विकास र समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले नागरिकले पाएको कठिनाइबारे आफूहरुले केही बोल्न नमिल्ने जानकारी दिए । उनका अनुसार आज बिहीबार चितवनमा सम्पन्न प्राथमिक तहको परीक्षामा एक हजार ४९४ जनाले सहभागिता जनाएका छन् । त्यस्तै भोलि र पर्सी हुने माध्यमिक र निम्नमाध्यमिक तहमा गरे झण्डै पाँचहजार बढी विद्यार्थी सहभागी हुँदैछन् ।

लाइसेन्स जस्तो सामान्य परीक्षामा नागरिकलाई दिइएको सास्तीप्रति स्थानीय तहको शिक्षा शाखा पनि सन्तुष्ट छैन । भरतपुर महानगरपालिका शिक्षा शाखाका शाखा अधिकृत बाबुराम दवाडीले शिक्षक सेवा आयोगले जे गरिरहेको छ त्यो गलत भएको बताए । उनले भने, ‘राज्यको काम सेवा दिने हो, जसरी नागरिकलाई सहज पर्छ त्यसैगरी केन्द्रको व्यवस्था गर्नुपर्छ ।’ उनले यदि फर्म भर्नु अगाडिनै केन्द्र पर्ने जिल्लाको बारेमा जानकारी दिएको भए नागरिक आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षा दिने अवसर पाउने बताए । मकवानपुर भीमफेदीको परीक्षार्थी चितवन आउनुभन्दा काठमाडौँ नै जान पायक पर्ने उनले विचार राखे ।

अध्यापन अनुमतिपत्रको परीक्षाको प्रवेशपत्रमा फोटो पनि राखिएको छैन भने विद्यार्थीले आफूखुसी फोटो टालेर हस्ताक्षर गर्न भनिएको छ । कतिपय परीक्षार्थीको एउटा विषयमा फर्म भर्दा अर्काे विषय कायम भएर पनि आएको छ । चितवनका परीक्षार्थीहरुको अनलाइन फर्म भर्ने काम गर्दै आएका भरतपुर सप्तगण्डकी चोकको फोनेट कम्प्युटरका सञ्चालक सुवर्ण न्यौपानले चर्काे शुल्क लिएर पनि शिक्षा सेवा आयोगले लाइसेन्स परीक्षामा प्रभावकारी सेवा दिन नसकेको आरोप लगाए । उनले भने, ‘आयोगले यसपटकको परीक्षामा मनपर्दी गरेको छ ।’ अध्यापन अनुमतिपत्र नागरिकलाई प्रत्यक्ष रोजगारी दिने परीक्षा नभए पनि सामान्य औपचारिकताको परीक्षामा बेजिल्लामा पठाएर सास्ती र पीडा दिएको सरोकारवालाहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>