विचार/ब्लग

भरतपुर महानगरमा सहकारी एकीकरणको लहर

Banner

रमाकान्त सापकोटा

सहकारीको जन्मभूमि चितवनमा विसं २०५१ माघ ७ गते स्थापना भएको दीपज्योति बचत तथा ऋण सहकारी संस्था यो वर्ष २५औँ वर्षे यात्रा क्रममा छ । विसं २०५६ बाट प्रारम्भ भएको अभिवृद्धि बचत तथा ऋण सहकारीसँग एकीकृत प्रक्रिया टुंगोमा पुगेको छ र सहकार्य प्रारम्भ भइसकेको छ । विसं २०६९ मा स्थापना भएको गौरवमय बचत तथा ऋण सहकारीसँग अघिल्लो वर्षमा नै एकीकरण भइसकेको छ । २०७६ भाद्र २१ गते शनिबार रजत महोत्सवको रुपमा सम्पन्न हुन गइरहेको साधारण सभामा दीपज्योति अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाको नामले संस्था एकीकरणको घोषणा समेत भएको छ । दीपज्योति र गौरवमय साकोसका कार्यालयहरू भरतपुर–११ मा र अभिवृद्धिको भरतपुर–१० मा सञ्चालन हुँदै आएकोमा अब मुख्य कार्यालय साविकको दीपज्योति बचत तथा ऋण सहकारीको कार्यालयमा र अभिवृद्धि तथा गौरवमयको कार्यालय रहेको ठाउँमा विस्तारित सेवा केन्द्र रहने व्यवस्थापकीय तयारी छ ।

संस्था स्थापना र समयानुकुल गतिशील बनाउन योगदान गर्ने सामाजिक, आर्थिक, व्यवसायिक क्षेत्रका अभियन्ताहरू र एकीकरण प्रक्रियालाई परिणाममा पु¥याउन पहल गर्ने सहजकर्ताहरू, संस्था सञ्चालकहरू, सल्लाहकारहरू र सेयर सदस्यहरूले यो एकीकरणको घोषणा हुने दिनलाई आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चाडको रुपमा उत्सुकताका साथ प्रतिक्षा गरिरहेको पाइएको छ । यस अगाडि भरतपुर साकोस र नौरंगे साकोस एकीकृत भइसकेका छन् । त्यस्तै गरी स्याउलीबजार साकोस र गतिशील साकोस पनि यही साउनमा एकीकृत भइसकेका छन् । सरकारी नीति नियमले एकीकरणमा प्रोत्साहन गरेको र सञ्चालक एवम् सेयर सदस्यले आवश्यक ठानेकोले मुलुक भरमा जस्तै चितवनमा पनि सहकारी एकीकरण अभियान चलिरहेको छ्र । भरतपुर महानगरमा एकीकरणमा तीव्रता देखिएको छ । यसको पछिल्लो उदाहरण बनेको छ दीपज्योति अभिवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड ।

घरायसी खाँचो टार्न स्थापना भएका सहकारीहरू अहिले आएर उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने लगायतका काम गर्दै आफ्ना सदस्यलाई जीवन उपयोगी शिक्षा र तालिमसमेत दिँदै आएका छन् । कतिपय सहकारीले अब समाजमा अनौपचारिक शैक्षिक संस्था एवम् खुला विश्वविद्यालयले जस्तै भूमिका खेल्न थालेका छन् । कसैले शिक्षालय, हस्पिटल र सञ्चार गृह समेत सञ्चालन गरेका छन् । सहकारी शिक्षा विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश हुने क्रममा छ । त्यसैले सहकारीकर्मी र अध्येताको लागि सहकारीको समान्य ज्ञान एवम् ऐतिहासिक पक्षको जानकारी आवश्यक छ भन्ने ठानेर यहाँ छोटो चर्चा गरेको छु् ।

सामान्तवाद, व्यक्तिवादी स्वार्थ, पूँजिवादी शोषणबाट बच्न विश्वमा सहकारीको जन्म भएको हो । कारखाना र पसलबीचका बिचौलियाले गरेको श्रम शोषण देखेर मेनचेस्टर सुती कारखानाका मालिक रोबर्ट ओवेन (१७७१–१८५८)ले सहकारी ग्रामको अवधारणा अगाडि सारे । यही अवधारणा अनुसार बेलायतमा फ्रेन्ड्ली सोसाइटी एक्ट १७९३ पारित भयो । यो ऐनअन्तर्गत बेलायतका २८ जना मजदुरहरूले ‘रोच्डेल सोसाइटी अफ इक्विटेबल पायोनियर्स’ नामको संस्था स्थापना गरे । १५ अगस्त १८४४ मा यस्तो अभियानको प्रारम्भ गर्ने बेलायतका २८ जना रोचडेलीहरूलाई सहकारी अभियन्ताहरुले सम्मानपूर्वक स्मरण गर्दै आएका छन् । बचत तथा ऋण सहकारीका चिन्तक फ्रेडरिक विल्हेम रैफसेनले गरिबी विरुद्ध लड्न सहकारीको बाटो देखेका थिए । ‘एकका लागि सबै र सबैका लागि एक भन्ने’ अवधारणाका साथ सबैको हीत हुने र सबैको पहुँचमा आउने संस्थाको रुपमा सकोस विश्वभर लोकप्रिय भइसकेको छ ।

सन् १९५३ (२०१० साल) मा नेपालमा सहकारी विभाग स्थापना गर्ने विचारले जन्म पायो । यही विचारले निर्देशित प्रक्रिया भित्र रहेर बखानपुर शारदानगर चितवनमा विसं २०१३ मा नेपालकै पहिलो बखान सहकारी प्रारम्भ भयो । सहकारी ऐन २०१६ अन्तर्गत स्थापना भएर २०४१, २०४८, २०७४ सम्म पटकपटक प्रतिस्थापित र परिमार्जित ऐन नियम अनुसार व्यवस्थित हुँदै आएका सहकारीको संख्या ३४ हजार ७०० जति पुगेको छ । ६४ लाख जति सदस्य मध्ये ४९ प्रतिशत महिला सदस्यको संख्या पुगेको छ भने तीन खर्ब भन्दा बढीको निक्षेप संकलन र परिचालन भएको छ । सहकारी ऐन नियम अनुसार उत्पादन सहकारी, वित्तीय सहकारी, बहुउद्देश्यीय सहकारी, उपभोक्ता सहकारी, श्रमिक सहकारी पाँच किसिमका सहकारीको व्यवस्था छ । चितवनमा यी पाँच किसिमका सहकारीको संख्या ७०४ छ भने यी मध्ये बित्तीय सहकारी २८० जति छन् जसमध्ये १७० जति भरतपुर महानगरमा मात्रै छन् । सहकारी ऐनले तोकेको मापदण्ड अनुसार भरतपुर महानगरमा बढीमा ८० सहकारी रहन सक्छन् । यसैकारण मात्रात्मक एवम् गुणात्मक विकास गर्दै २०७४मा प्रोबेसन ब्राण्डसमेत प्राप्त गरेर राष्ट्रिय परिदृश्यमा आफ्नो राम्रो पहिचान बनाएको दीपज्योति, अभिवृद्धिलगायतका साकोसहरू एकीकरणमा सामेल छन् र एकीकरण अभियानले निरन्तरता लिने कुरा सार्वजनिक गरेका छन् ।

सरकारी, सहकारी, सामूहिक र निजी क्षेत्रबाट सञ्चालित आर्थिक क्रियाकलापका कारण मिस्रित अर्थ व्यवस्था बहुप्रचलित हुन आयो । सरकार, निजी क्षेत्र र सहकारी गरी तीन खम्बे अर्थ नीतिलाई नेपालको संविधानले आत्मसाथ गरेको छ । सिद्धान्त पद्धति, नीति, विधि र प्रविधि सहकारीका मूल सूत्र हुन् । स्वैच्छिक तथा खुला सदस्यता , सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र आत्मनिर्भरता, शिक्षा तालिम र सूचना,.सहकारी संस्थाका बीच सहयोग र समूदाय प्रति चासो सहकारीका सिद्धान्त हुन् । पारदर्शिता, सुशासन, जवाफदेहिता सहकारीका मूल मान्यता हुन् । यी नै आधार र मूल्य मान्यताबाट सञ्चालित संस्था मात्रै समाजको लोकप्रिय संस्था बन्न सक्छ ।

एउटा सेवा क्षेत्रमा उस्तै काम गर्ने धेरै साकोस स्थापना हुनु, सकोसमा दोहोरो सदस्यता रहनु, युवा पुस्तामा त्यति धेरै आकर्षण नदेखिनु, धेरै जसो सञ्चालकमा विधि प्रविधिको पर्याप्त ज्ञान सीप नहुनु, संस्थाको आवश्यकता अनुसार दक्ष जनशक्ति प्राप्त गर्न र टिकाउन कठिन देखिनु, सञ्चालन लागत बढी हुनु लगायतका चुनौतीहरू साकोसका सामु देखा परेका छन् । यी चुनौतीको सामना गर्ने पहिलो आवश्यकता सहकारी एकीकरण हो भन्ने कुरा नीतिगत रुपमा सर्व स्वीकार्य भएको छ्र यही जगमा आज मुलुकभर सहकारी एकीकरण हुने क्रम चलिरहेको छ्र । भरतपुरमा एकीकरण अभियानमा तीव्रता देखिएकोले यसका अभियन्ताहरू सहकार्यमा कुशल छन् भन्ने सन्देश बनेको छ । यो अभियानले सफलता र निरन्तरता पाओस् शुभकामना !

( शिक्षा मन्त्रालयमा सल्लाहकारको रुपमा काम गरिसकेका सापकोटा चितवन निवासी शिक्षाविद् हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>