चितवन विशेष

चितवनका केरा किसान चिन्तामा

Banner

चितवन, भदौं ८–

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केराको जोन मानिएको चितवनमा अहिले किसानहरु चिन्तित बनेका छन् ।
केरामा गवारो, पानामालगायतका विभिन्न जातका रोगहरु लाग्दा सम्बन्धित निकायबाट कुनै चासो नदेखिएको भन्दै किसानले चिन्ता व्यक्त गरेका हुन् । सरकारले केरामा अनुदान नदिँदा केराले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न नसकेको चितवनका किसानहरुको गुनासो छ ।

विगत १२ वर्षदेखि केरा खेती गर्दै आएका कालिका नगरपालिका वडा नं. ६ का केशरीप्रसाद देवकोटा सरकारले नियन्त्रणका लागि कुनै राहत नदिएको बताउँछन् । ‘सरकारले रोग नियन्त्रणका लागि कुनै पहल कदमी र चासो दिएको छैन’ उनले भने ।
केरा खेती विस्तारका लागि सरकारले विभिन्न योजनाहरु ल्याउनुपर्ने व्यावसायिक खेती गर्ने अर्का एक किसान नारायण पुडासैनीले बताए । भदौं महिना लागेसँगै केराको बजार भाउ घटेको त्यसैमा पनि रोग बढी लागेको बताउँदै चितवनका किसानहरु चिन्ता व्यक्त गर्छन् । उता चितवन केरा उत्पादक संघ र कृषि ज्ञान केन्दले जोन क्षेत्रका किसानलाई खेतमै गएर प्राविधिक सल्लाह दिने गरेको कृषि ज्ञान केन्द्रको दाबी छ ।

किसानले रोग पहिचान नगरी अन्दाजीको भरमा केरामा विषादी हाल्नाले समस्या आएको कृषि ज्ञान केन्द्र चितवनकी कर्मचारी पुूर्णिमा क्षेत्रीले बताइन् । उनका अनुसार, प्रत्यक वर्ष एउटै बाली लगाउँदा पनि यस्तो समस्या आउने गर्छ । बजारीकरणको विस्तार र यातायातको सहज पहुँच भएसँगै चितवन जिल्ला व्यावसायिक कृषिको हब बन्दै गइरहेको बेला किसानमा भने सन्तुष्टी मिल्न सकेको छैन ।

राष्ट्रिय फलफूल विकास केन्द्रको पछिल्लो तथ्यांकअनुसार नेपालमा १८ हजार १४ हेक्टर क्षेत्रफलमा व्यवसायिकरुपमा केरा खेती भइरहेको छ । दुई लाख ५४ हजार ४०३ मेट्रिक टन केरा उत्पादन भएको अनुमान छ । २५ हजार कृषक व्यावसायिक केरा खेतीमा संलग्न छन् भने चितवनको सन्दर्भमा चितवनको पूर्वी भागमा दुई हजार ६०० भन्दा बढी बिघामा केरा खेती हुँदै आएको छ । जोनको मापदण्ड पुगेपछि केराको जोन चितवनलाई स्वीकृत गरिएको हो ।

चितवनको केरा जोनमा भरतपुर महानगरको वडा नं. १, ३ रत्ननगरका सबै वडा, खैरहनी नगरपालिका र कालिका नगरपालिकाका १ देखि ८ सम्म परेका छन् । चितवनमा ४६ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ । जिल्लामा केराखेतीमा करिब ७०० बढी किसान संलग्न छन् । प्रधानमन्त्री कृषि परियोजनाबाट जोन कार्यक्रम सञ्चालन हुन ५०० हेक्टर क्षेत्रफलमा केराखेती भएको हुनुपर्नेछ । ब्लकका लागि १०० हेक्टर र पकेटका लागि १० हेक्टर क्षेत्रफलमा केराखेती भएको हुनपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>